१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

उधौली लागेसँगै भेँडाबाख्रा लिएर उधो झरे गोठाला



अ+ अ-

गोरखा । उधौली लागेसँगै लेकका गोठ उधो अर्थात् बेँसीतर्फ झार्न सुरु गरेका छन् । जिल्लामा सबैभन्दा बढी भेँडा पालन हुने चुमनुब्री गाउँपालिका–३ का २५ हजार भेँडाबाख्रा बेँसी झारिएको वडासदस्य विकास गुरुङले जानकारी दिनुभयो ।

चुमनुब्री–३ साविक सिर्दीबास गाविसको पाङसिङ जिल्लाको सबैभन्दा बढी भेँडा पालन हुने गाउँ हो । यहाँबाट दैनिक जगत हुँदै लावालस्कर लागेर भेँडा गोरखा, धादिङ, लमजुङका बेँसीतिर लैजान थालिएको स्थानीय स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले बताउनुभयो । “बुधार मात्रै ३०० जति भेँडा तल झारेका थिए । आज तीन जना गोठालाका ३४० वटा भेँडा एकैपटक लावालस्कर लाएर तल झारिरहेका छन्”, उहाँले भन्नुभयो, “गोठालाहरू कुकुरसहित टोली बनाएर हिँड्छन् । बाटोबाटो भेँडा बेच्दै गुजारा चलाउँदै वैशाख लागेपछि नबिकेका भेँडाको बथान लिएर गाउँ फर्कन्छन् ।”

पाङसिङका १५० घरधुरीमध्ये करिब ७० घरका किसानले भेँडाबाख्रा पालन गरेका वडासदस्य गुरुङले जानकारी दिनुभयो । “भेँडाबाख्रा लेकको गोठबाट पाङसिङ गाउँमा झार्न थालेको एक महिना भयो । अहिले पाङसिङबाट तल झार्न थालिएको छ”, उहाँले भन्नुभयो, “यहाँबाट खोर्ला, सिङ्ला, लाप्राक, बारपाक, दूधपोखरी हुँदै लमजुङतिर झारिन्छ । कोही गोठालाले आर्खेत, आरुघाट, मान्बु हुँदै धादिङसम्म झार्ने चलन छ ।”

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अनुसार चुमनुब्रीमा १६ हजार ५०० भेँडा र आठ हजार ५०० बाख्रापालन गरिन्छ । त्यस्तै छ हजार ५०० याक तथा चौरी पालन हुँदै आएको केन्द्रका प्रमुख अनन्त कोइरालाले जानकारी दिनुभयो । लेकबाट बेँसी झार्ने पनि मौलिक परम्परा छ ।

“लेकको गोठबाट बेँसी झार्ने बेला राम्रो बार हेरेर सुरु गरिन्छ । लेकको गोठबाट पनि एकै दिनमा बेँसी झार्दैनन् । हावापानीसँग घुलमिल गराउँदै एक महिना लगाएर गाउँसम्म ल्याइपुर्‍याउँछन्”, पाङसिङका विकास गुरुङले भन्नुभयो, “गाउँमा झारिसकेपछि यहाँबाट अन्यत्र लैजान चाँही विधिपूर्वक पूजाआजा गरी साइत गर्ने चलन छ ।”

अहिले धमाधम गाउँबाट जगत, तातोपानी, खोर्ला, माछाखोला, आरुघाटतिर भेँडा लैजान थालिएको उहाँले बताउनुभयो । “अहिले बेँसी झारिएका भेँडाबाख्रा आगामी जेठ दोस्रो साता उभौली लागेपछि लेकको गोठतिर पुर्‍याउन तालिन्छ”, उहाँले भन्नुभयो ।

“शरीरमा बाक्लो रौँ हुने भएकाले याक चाँही लेकमा छोड्छन् । पातलो रौँ हुने भएकाले चौँरी मात्र बेँसी झार्ने चलन छ”, चुमनुब्री–७ का वडाध्यक्ष टाँसी दोर्जे लामाले भन्नुभयो, “बेँसी झार्दा पनि र पछि जेठको दोस्रो सातातिर लेक लैजाँदा पनि लामाले साइत हेरेर विधि पुर्‍याएपछि लैजाने चलन छ ।”

भेँडाबाख्रा पालन गर्ने किसान बढी भएकाले चुमनुब्री–३ मा गोठालालाई प्रोत्साहन कार्यक्रम लागू गरिएको छ । “गोठालालाई प्रोत्साहन गर्न गोठमा जाने बाटो मर्मत, खानेपानीको व्यवस्था, बस्न त्रिपाल, सोलार बत्ती, गमबुट, स्लिपिङ ब्याग वितरण गरेका छौँ”, चुमनुब्री–३ का वडाध्यक्ष रामकुमार गुरुङले भन्नुभयो, “गाउँपालिकाको ८० प्रतिशत र गोठालाको २० प्रतिशत लागत साझेदारीमा यो कार्यक्रम बर्सेनि गर्ने गर्छौँ ।” पालिकाले किसानलाई प्रोत्साहन दिन कार्यक्रम सञ्चालन गरे पनि बर्सेनि भेँडाबाख्रा पालन गर्ने किसानको सङ्ख्या घटिरहेको उहाँको भनाइ छ ।