काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न निर्देशन दिनुभएको छ ।
सोमवार आयोगमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भएपनि विगतमा काम गर्नुभएका व्यक्तिहरुबाट सुझाव लिएर कामगर्नसके कठिन नहुने बताउनु भयो । निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा कुनैपनि झन्झट नमानिकन सूत्रअनुसार अघि बढ्न आग्रह गर्नुभयो । उहाँले संवैधानिक व्यवस्था बमोजिम नेपालमा दुई वटा निर्वाचन प्रणाली रहेको बताउनु हुँदै आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि सोमवारबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र अब समानुपातिक निर्वाचन प्रक्रियाका कामहरु शुरु हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संवैधानिक व्यवस्था बमोजिम हाम्रो निर्वाचन प्रणाली दुई वटा छ । एउटा प्रत्यक्ष निर्वाचन प्रणाली र अर्को समानुपातिक निर्वाचन प्रणाली । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरुले समानुपातिकमा आफ्नो कोको उम्मेदवार हो, लिस्ट पेश गर्नुहुन्छ । सो बमोजिम विभिन्न कार्यक्रमहरु रहेका छन् । ति कार्यक्रमहरुबाट अन्तिममा दलहरुबाट पेश भएका समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली कायम हरन्छ । विभिन्न वर्ग, समुदाय, क्षेत्रलाई समेटेर प्रतिनिधि सभामा प्रतिनिधित्व गराउने हाम्रो संवैधानिक व्यवस्थालाई टड्कारो रुपमा अंगीकार गरेर निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्दछ । यो निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा साथीहरुले काम गर्ने सन्दर्भमा अलि झन्झिटिलो पनि मान्नुहोला । तर यो सूत्र र फर्मुलामा हुने निर्वाचन भएकाले सूत्रलाई पहिला नै मनन गरिदिनुभयो र ति व्यक्तिहरुबाट सल्लाह र सुझाव लिएर कार्यक्रम सञ्चालन गर्नुभयो भने कठिन छैन । कम्मर कसेर निर्वाचन सम्पन्न गर्नुस् ।’
सरकारले आगामी फागुन २१ लाई प्रतिनिधि सभा सदस्यको लागि निर्वाचनको मिति तोकेको छ ।










