१५ श्रावण २०८३, शुक्रबार
,
Latest
अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छः संयोजक दाहाल



अ+ अ-

गण्डकी। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समय आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।

पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै संयोजक दाहालले सरकारले निर्वाचनको वातावरण बनाउन जनाधार भएका पार्टीसँग छलफल गरेर चुनावी वातावरण थप सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “चुनाव तोकिएको समय फागुन २१ गते नै हुनुपर्छ । त्यसका लागि सरकारले जनाधार भएका पार्टीका नेतासँग छलफल गर्नुपर्दछ । जसको जनाधार बढी छ, उसैलाई बेवास्ता गरेर चुनावी वातावरण बनाएन भने त्यो ठीक हुँदैन ।”

देशको राष्ट्रिय स्वाधीनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिष्ट शक्ति एकजुट हुनु अत्यावश्यक भएको संयोजक दाहालले बताउनुभयो । उहाँले अघिल्लो सरकारले दुई तिहाइ बहुमतको घमण्ड गर्दा राष्ट्रले ठूलो क्षति बेर्होनु परेको  जिकिर गर्नुभयो ।

“हामीले राष्ट्र झन्डै धरापमा पुगेको देख्यौँ । सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौँ । तर सरकारबाट हटाइयो । अघिल्लो पटक हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताका लागि लड्न शक्ति पुगेन । आगामी निर्वाचनमा पहिलो शक्ति बनेर राष्ट्रियता र सुशासनका लागि विगतका कमीकमजोरी सच्याएर नेपाली कम्युनिष्ट पार्टीले काम गर्नेछ ।”

संयोजक दाहालले विभिन्न १७ घटकसँगको पार्टी एकता चुनाव जित्नका लागि मात्र नभएको उल्लेख गर्नुभयो । “हामीले सुरु गरेको पार्टी एकता अभियान चुनाव जित्ने उद्देश्यका लागि मात्र होइन । राष्ट्रको रक्षा, स्वाधीनता संरक्षण तथा समृद्धिको आधार निर्माणका लागि हामीले कम्युनिष्ट एकता र लोकतान्त्रिक शक्तिसँगको सहकार्यमा जोड दिएका छौँ,” उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राजनीतिक अस्थिरताको अन्त्यका लागि निर्वाचन हुनै पर्ने बताउनुभयो । उहाँले देशको रक्षा गर्ने जिम्मेवारी नेकपाको रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रका सामु अहिले ठूलो सङ्कट सिर्जना भएको छ । यसको अन्त्यका लागि निर्वाचनको विकल्प छैन । देशको रक्षाका लागिसमेत बृहत् र बलियो कम्युनिष्ट पार्टी आवश्यक छ ।”

पूर्वप्रधानमन्त्री एवम् पार्टीका नेता झलनाथ खनालले नेकपालाई नेताप्रधान नभई विधि र पद्धतिमा चल्ने पार्टी बनाउनुपर्ने बताउनुभयो । “हामीले विधि र पद्धतिलाई अनुसरण गर्ने पार्टी बनाउन चाहेका छौँ । अब विगतको जस्तो नेता प्रधान हुने पार्टी चल्दैन,” उहाँले भन्नुभयो ।

नेकपाका नेता भीम रावलले विगतका गल्तीमा माफी माग्दै सच्चिएर अघि बढ्नुपर्ने बताउनुभयो । “विगतका कमीकमजोरीलाई आत्मसात् गर्दै सच्चिएर मात्र बलियो र  एकताबद्ध पार्टी निर्माण गर्न सकिन्छ । स्वाधीनता बलियो भएको नेपाल बनाउन सकिन्छ । त्यसका लागि पार्टीका सबै नेता तथा कार्यकर्तामा त्याग र समर्पण आवश्यक छ,” उहाँले भन्नुभयो ।

नेता नारायणकाजी श्रेष्ठले रुपान्तरित एकीकृत पार्टी आवश्यक रहेकाले सबैले आफूले आफैँलाई बदल्नुपर्ने विचार राख्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान अझै पूरा भएको छैन । त्यसका लागि पार्टीको रुपान्तरण गर्नुपर्दछ  ।”

सभामा नेताहरू देव गुरुङ, पोखरा महानगर प्रमुख धनराज आचार्य, राजु थापा, डा लक्ष्मी ओली, दीननाथ शर्मा, गायत्री गुरुङ, श्रीनाथ बराललगायतले जनताको आवश्यकता र अपेक्षा पूरा गर्ने पार्टी निर्माणको आवश्यकता आँैल्याउनुभएको थियो ।रासस