३ भाद्र २०८३, बुधबार
,
Latest
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समलिङ्गी विवाहमा प्रतिबन्ध संवैधानिक भएको टोकियो उच्च अदालतको निर्णय



अ+ अ-

एजेन्सी । जापानको टोकियो उच्च अदालतले समलिङ्गी विवाहमा देशले लगाएको प्रतिबन्धलाई संवैधानिक ठहर गर्दै त्यसलाई विद्यमान रूपमै कायम राख्ने निर्णय गरेको छ । यससँगै राष्ट्रव्यापी रूपमा दायर छ वटा समान मुद्दामध्ये सरकारको पक्षमा उभिने यो पहिलो उच्च अदालत बनेको क्योदो न्युजले जनाएको छ ।

उच्च अदालतले समलिङ्गी जोडीहरूलाई विवाह गर्न नदिनेलगायत हाल लागू भएका नागरिक कानूनका प्रावधानहरू वर्तमान अवस्थामा ‘उचित र वैध’ रहेको ठहर गरेको छ । यो फैसला सप्पोरो, टोकियो, नागोया, ओसाका र फुकुओकाका उच्च अदालतहरूको अघिल्लो निर्णय विपरीत छ । ती अदालतमा समलिङ्गी विवाहको कानूनी मान्यता नदिनु असंवैधानिक ठहर गरिएको थियो । यद्यपि ती निर्णयहरूले पनि क्षतिपूर्तिको माग भने खारेज गरेका थिए ।

छ वटा मुद्दामध्ये अन्तिम फैसला सुनाउँदै न्यायाधीश अयुमी हिगाशीले समलिङ्गी विवाहसम्बन्धी संवैधानिक बहसलाई ‘पहिले संसद्मा गम्भीररूपमा छलफल हुनुपर्ने विषय’ भएको टिप्पणी गर्नुभयो । सर्वोच्च अदालतले यस विषयमा एकीकृत निर्णय आगामी वर्ष कुनै समयमा सुनाउने अपेक्षा गरिएको क्योदो न्युजले जनाएको छ ।

पछिल्लो मुद्दामा ४० देखि ६० वर्ष उमेर समूहका आठ वादीले नागरिक कानूनले समलिङ्गी विवाहलाई रोक्दै आएको प्रावधानले समानताको अधिकार र विवाह गर्ने स्वतन्त्रताको संवैधानिक ग्यारेन्टी उल्लङ्घन गरेको तर्क गर्दै प्रत्येकले १० लाख येन (अन्दाजी छ हजार ४०० अमेरिकी डलर) क्षतिपूर्तिको माग गरेका थिए । सरकार पक्षले भने संविधानले विवाहलाई पुरुष र महिला बीचको सम्बन्धका रूपमा परिभाषित गरेको भन्दै दाबी अस्वीकार गरेको छ ।

उनीहरूले यो मुद्दामा टोकियो जिल्ला अदालतको सन् २०२४ मार्चको फैसलाविरुद्ध अपिल गरेका थिए, जसले उक्त अवस्थालाई ‘असंवैधानिक अवस्था’ भने पनि क्षतिपूर्तिको माग खारेज गरेको थियो ।

अहिलेसम्म जारी १२ वटा उच्च र तल्लो अदालतका निर्णयहरूमध्ये ओसाका जिल्ला अदालतसमेत समलिङ्गी विवाहको कानूनी मान्यता रोक्ने संवैधानिकताका पक्षमा उभिन सफल भएको एक मात्र अदालत रहेको छ ।

जापानी संविधानको धारा २४ मा ‘विवाह दुवै लिङ्गको आपसी सहमतिमा आधारित हुनेछ’ भनेर उल्लेख गरिएको छ । यही व्याख्यालाई आधार मान्दै सरकारले समलिङ्गी विवाह वैधानिक गर्न नपाइने तर्क गर्दै आएको हो ।