३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन



Rescuers try to douse a major fire that engulfed Korail Slum in Dhaka, Bangladesh, Tuesday, Nov. 25, 2025. (AP Photo/Rajib Dhar)
अ+ अ-

एजेन्सी । बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा मङ्गलबार साँझ लागेको भीषण आगलागीले करिब एक हजार ५०० झुपडी जलेर वा क्षतिग्रस्त भएसँगै हजारौँ बासिन्दा घरबारविहीन भएको अधिकारीहरूले बताएका छन् । आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन ।

अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार आगो लागेपछि १६ घण्टापछि मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो । अग्निशमन सेवाका निर्देशक लेफ्टिनेन्ट कर्नल मोहम्मद ताजुल इस्लाम चौधरीले आगोले विस्तृत क्षेत्रलाई प्रभाव पारेको र पीडितको सङ्ख्या अत्यधिक रहेको बताउनुभयो ।

करिब ६५ हेक्टर (१६० एकड) मा फैलिएको कोरेल झुपडपट्टीमा करिब ६० हजार परिवार बसोबास गर्छन्, जसमा जलवायु–प्रभावित शरणार्थीहरूको सङ्ख्या उल्लेखनीय छ । ढाकाका उच्चस्तरीय गुलशन र बनानी जस्ता अभिजात आवासीय क्षेत्रसँगै जोडिएको यो झुपडपट्टी बस्ती अग्ला अपार्टमेन्ट र कार्यालय भवनहरूले घेरिएको छ ।

आगलागी रातभर फैलिँदा क्षेत्रमा बाक्लो धुवाँको बादल देखिएको थियो । बुधबार बिहान बासिन्दाहरू आफ्ना घरका भग्नावशेषबीच डुल्दै जले–नजलेका केही सामान खोज्दै व्यस्त देखिन्थे । अग्नि नियन्त्रकहरूले साँघुरा गल्ली र अव्यवस्थित संरचनाका कारण घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको बताए ।

सन् २०२४ मा एक करोड २० लाख जनसङ्ख्या नाघिसकेको ढाका सयौँ झुपडी बस्तीहरूको प्रमुख आश्रयस्थल बनेको छ । ग्रामीण बङ्गलादेशमा गरिबी, रोजगारीको अभाव तथा जलवायु–प्रेरित प्रकोपले पीडितहरूलाई सहरका यस्ता भीडभाड र जोखिमपूर्ण बस्तीहरूमा बसाइँ सर्न बाध्य बनाउने गरेको छ, जहाँ उनीहरूले दैनिक श्रमिक, रिक्सा चालक, घरेलु कामदार र सरसफाइ कर्मचारीका रूपमा गुजारा चलाउँदै आएका छन् ।

अधिकारीहरूले प्रभावित बासिन्दाको उद्धार, राहत र पुनर्वासमा चाँडो व्यवस्था मिलाइने आश्वासन दिएका छन् ।