काठमाडौँ । जानकी मन्दिरमा विवाहपञ्चमी महोत्सव अन्तर्गत राम कलेवा विधि सम्पन्न भएपछि यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ ।
विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई विभिन्न परिकार खुवाउने परम्परा रहेको छ । रामकलेवाकालागि राम सहित चारै भाईको प्रतिकको रुपमा रहेका बालक जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मडवामा बसेर भोजन ग्रहण गरेका थिए । राति विवाह भएकै मडवामा बसाएर चारै भाईलाई भोजन ग्रहण गराइयो ।
रामकलेवा विधि चलिरहेकै समयमा मिथिलानी नारीहरुले गीतकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुध्न तथा अयोध्यावासीलाई गीतकै माध्यमले जिस्काएका थिए । चारै भाईका साथै अयोध्याबाट आएका जन्तीहरुलाई समेत आदरका साथ भोजन ग्रहण गराइयो । जन्ती तथा राजा दशरथलाई समेत गीत गाउने महिलाहरुले मैथिली परम्परा अनुसार लोकगीत डहकन गाएर गाली गरेका थिए । सो हास्यपरिहासको माहौलले जानकी मन्दिरको वातावरणलाई अदभूत बनाएको थियो ।
रामकलेवामा सहभागी जन्तीहरुलाई कपडा, प्रसाद आदि दिएर विदाई गरिएको छ ।










