२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

जापान यात्रा २०२५ कन्सर्ट सकिए पनि नेपथ्य रहिरहनेछ ओशाकाको हलमा

जापान यात्रा २०२५ कन्सर्ट सकिए पनि नेपथ्य रहिरहनेछ ओशाकाको हलमा
अ अ+ अ-

ओशाका: जापान शृङ्खलाको अन्तिम प्रस्तुति ओशाका सहरमा सोमबार सकिएसँग नेपथ्य स्वदेश फर्कंदै छ । तर प्रदर्शनस्थल ‘जेप ओशाका बे साइड’ मा यो ब्यान्ड दीर्घकालसम्मै रहनेछ । प्रदर्शनस्थल व्यवस्थापनले नेपथ्यको हस्ताक्षरसहितको सन्देश मागेको छ, जसलाई हलको ‘वाल अफ फेम’ मा राखिनेछ ।

नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार आफ्नो स्थानमा आएर प्रस्तुति दिनेमध्ये गर्व गर्नलायक समूहलाई फ्रेमसहित भित्तामा सजाउने चलन विश्वभरिका हलहरूमा हुन्छ । उनी भन्छन्, ‘१३ वर्षअघि लन्डनको वेम्बली एरिनामा उपस्थित हुनु नेपथ्यका लागि एउटा मानक थियो भने विश्वप्रसिद्ध सहर अनि जापानकै आर्थिक महानगरको प्रतिष्ठित हलले यसरी सम्मान गर्नु ब्यान्डका लागि अर्को मानक भएको छ ।’

हलका प्रबन्धक एन्डो नाओसीले नेपथ्यको कन्सर्टमा अद्भुत अनुभव गर्न पाएको सुनाए । ‘हामीकहाँ नेपालकै पनि अन्य धेरै कार्यक्रम आयोजना हुँदै आएका थिए,’ उनले भने, ‘तर नेपथ्यको आजको कन्सर्टमा देखिएको व्यापक सहभागिता, दर्शकको ऊर्जा र सबै गीतमा साथसाथै गाएर उनीहरूले प्रस्तुत गरेको आत्मीयताबाट म प्रभावित भएँ ।’

ओशाकाको प्रस्तुतिसँगै लोकरक ब्यान्ड नेपथ्यले यस वर्षको शृङ्खलाबद्ध जापान यात्रालाई विश्राम दिएको छ । अघिल्ला दुई सहर नागोया र टोकियोजस्तै ओशाकामा पनि नेपथ्यको प्रस्तुतिलाई दर्शकको भव्य उपस्थितिले साथ दिएको थियो ।
सोमबार बेलुकी ५ बजे ढोका खुलेपछि हलभित्र प्रवेश गरेका दर्शकले मञ्चमा कलाकार टोली देखिनासाथ चर्को आवाजसहित स्वागत गरेका थिए । टोलीले पहिलो गीत ‘हो रामा रामा’ प्रस्तुत गरेको थियो ।

कार्यक्रम अवधिभर दर्शकसँग संवादसमेत गरेका अमृतले घरी नेपाल पुगेको बेला डाँडा–काँडाको यात्रा गर्न प्रेरित गरेका थिए भने घरी नेपाली भाषा र संस्कृतिलाई जीवित राख्न अनुरोध गरेका थिए ।
उनले ‘यो जिन्दगानी’ गीत प्रस्तुत गर्नुअघि हाम्रो समाजिक परम्परा परोपकारी चरित्रको रहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आह्वान पनि गरे । विदेशमा कमाएको थोरै पैसा जोगाएर भए पनि नेपालमा पढ्न नपाएका केटाकेटीलाई शिक्षाको उज्यालो घाम देखाइदिन उनले अनुरोध गरे ।

कन्सर्ट हेर्न ओशाकाका मात्र नभई पर–परसम्मका दर्शक पनि उपस्थित भएका थिए । तिनैमध्येका एक थिए, अलिक परको ग्रामीण भेगबाट आएका रविन श्रेष्ठ । ‘जापानमा हामीले बाँचिरहेको जीवन, नेपाल अनि त्यहाँको कष्टकर अवस्थालाई जोड्ने गरी अमृत दाइले बोलेका कुरा असाध्यै प्रभावकारी लाग्यो,’ कन्सर्ट हेरिसकेपछि रविनले भने, ‘हेरुन्जेल नेपालै पुग्दाको जस्तो आनन्द आयो । शोबाट पर्याप्त सकारात्मक ऊर्जा पाएको महसुस भइरहेको छ ।’

कन्सर्ट दुई घण्टासम्म निरन्तर चलेको थियो । अन्तिममा पुग्नै लाग्दा ‘गाउँ–गाउँबाट उठ’ गीतले दर्शकलाई जताततै उफार्‍यो । त्यो गीत सकिनासाथ अमृतले आह्वान गरे– ‘जेन–जी आन्दोलनले गर्दा मुलुकमा संसद्को चुनाव मुखैमा आइपुगेको छ, तपाईंका नातागोता मात्र होइन, कुरा मान्नेहरू सबैलाई फोन गरेर यसपाला हाम्रालाई होइन, राम्रालाई भोट हाल्नुस् भनिदिनुस् है ।’ दर्शकले चर्को आवाजसहित स्वीकारोक्ति जनाए ।

लगत्तैको ‘जोगले हुन्छ भेट’ गीतका क्रममा गितारवादक नीरज र दर्शकबीच रमाइलो सङ्गम विकास भएको देखिन्थ्यो । पछि गायक अमृतले यस गीतको थालनी गर्दा सिङ्गो हल साथसाथै गाउने र नृत्य गर्ने तहमा पुग्यो ।
सर्वाधिक लोकप्रिय ‘रेशम’ र ‘तालको पानी’ सम्म आइपुग्दा दर्शकको उल्लास चरम तहमा पुगेको थियो । त्यस ऊर्जालाई अन्तिम गीत ‘रातो र चन्द्रसुर्जे’ ले थप अघि बढायो ।

हलभित्रका दर्शकमा जापानी अनुहार पनि देखिन्थे । तीमध्येका ओकुयामा सिगेकीले छोटो विश्लेषण पनि सुनाए, ‘जापानी दर्शकको हिसाबले मञ्च र दर्शकदीर्घा बीचको संवाद अनि गायकसँगसँगै सबैले गाउने शैली मलाई नौलो लाग्यो । छ सदस्यीय टोलीले परम्परागत वाद्ययन्त्रसहित यति विविधता प्रस्तुत गरेको पहिलोपटक देखेँ ।’


चार वर्षअघि धरानबाट आई अध्ययन गरिरहेकी शिला देवानको अनुभव भने बेग्लै थियो । ‘एकातिर एउटै गीतमा तन्नेरी, अधबैँसेदेखि वृद्धसमेत नाचिरहेका देखिन्थे,’ उनले भनिन्, ‘अर्कातिर मञ्चमा कलाकारको आवाजभन्दा तल भएभरका दर्शकले गाइरहेको आवाज चर्को थियो । गजब लाग्यो ।’

कार्यक्रममा अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘दर्शकको भव्य उपस्थिति र उनीहरूको उत्साह देखेर एकदमै सन्तुष्टि महसुस भइरहेको छ,’ आयोजक टोलीका पूर्ण गर्बुजाले प्रतिक्रिया दिए, ‘यो अवसर प्रदान गरिदिएकामा नेपथ्य र नेपालयप्रति आभारी छौँ ।’
ओशाकाको कन्सर्ट सकिएसँगै नेपथ्यको जापान यात्राले यस वर्षका लागि विश्राम लिएको छ । नेपथ्य टोली अब नेपाल फर्कने तयारीमा जुटेको छ ।