काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रूपमा टुक्रिएको छ।
पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठसहित शीर्षस्थ ६ नेताले आफूहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकीकरण प्रक्रिया अघि बढाउने घोषणा गरेका छन्।
नेकपासँग एकीकरणतर्फ उन्मुख हुने निर्णयसँगै श्रेष्ठसँगै उपाध्यक्ष रणध्वज लिम्बु, परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष दुर्गामणि देवान, विज्ञ परिषद्का अध्यक्ष डा.पुष्पराज राजकर्णिकार र अनुशासन आयोगका अध्यक्ष कृष्ण बहादुर घजुले जसपाका सबै पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।
यी नेताहरूले पार्टी अध्यक्ष अशोक राईलाई औपचारिक रूपमा पत्रमार्फत आफ्नो निर्णयबारे जानकारी गराइसकेका छन्।
श्रेष्ठ समूहले जसपा–नेकपा एकीकरण र वाम ध्रुवीकरणका लागि कदम अघि बढाउने बताएको छ। यससँगै जसपाभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक मतभेद खुलेर बाहिरिएको छ।











