काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापति दुजाङ शेर्पाले विराटनगरमा नेकपा एमाले नेता महेश बस्नेतमाथि भएको आक्रमणमा नेविसंघको कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन्।
साथै, संगठनको नाम दुरुपयोग गरी गरिएको घटनामा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने चेतावनी समेत दिएका छन्।
विराटनगरमा बस्नेत चढेको गाडीमा बेलुन हान्ने सन्जोग गौतम र अर्पित कुँवर महेन्द्र मोरङ क्याम्पसका नेविसंघका कार्यकर्ता भएको खुलेसँगै सभापति शेर्पाले घटना नेविसंघको नीति, व्यवहार र संस्कारविपरीत रहेको जनाएका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्—
“नेकपा एमाले र अखिलसँग हाम्रो सयौँ विमतिहरू छन्। लोकतन्त्रमा विरोध सबैको अधिकार हो, तर आज विराटनगरमा महेश बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसंघको होइन। संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिन्छ।”
शेर्पाले विरोधका नाममा हिंसा र भीडतन्त्रलाई प्रोत्साहन नदिने स्पष्ट गर्दै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन संगठन आन्तरिक रूपमा कडाइका साथ अघि बढ्ने बताएका छन्।










