काठमाडौं । जुनारका लागि प्रसिद्ध सिन्धुलीका किसानलाई अहिले भ्याइनभ्याइ छ । यस क्षेत्रका गाउँबस्तीका बारी र बगैँचा अहिले जुनार पाकेर पहेँलपुर देखिएको छ । किसानका अधिकांश बगैँचामा अहिले जुनार लटरम्म देखिन्छन् ।
सिन्धुलीका गोलञ्जोर, रतनचुरा, जलकन्या, तिनकन्या, डुडभञ्ज्याङ, वितिजोर, वासेश्वर, तोसङखेला क्षेत्रलाई जुनार उत्पादनका हिसाबले सुपरजोन अन्तर्गत पकेट क्षेत्रका रूपमा अघि बढाइएको छ । सिन्धुली जिल्लाको महाभारत क्षेत्रको ठूलो भूभागमा जुनारका अतिरिक्त सुन्तला, कागती, निबुवा र ज्यामिर उत्पादनका लागि उर्वर भूमि मानिन्छ ।
जिल्लामा वार्षिक एक लाख बढी जुनार सुन्तला बिक्री गर्ने किसानको संख्या दुई हजार बढी छ ।
एउटा वयस्क बोटमा एक हजारदेखि एक हजार ५०० दानासम्म जुनार उत्पादन हुने गर्दछ ।
बजारमा गुणस्तरीय जुनार प्रतिकिलो एक सय रुपैयाँसम्म बिक्री हुँदै आएको छ । पातलो बोक्रा र सुनौलो रङको जुनारलाई गुणस्तरीय मानिन्छ ।
काठमाडौँ–धुलिखेल– सिन्धुली– बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ ।
खनियाँखर्कमा केहीबेर विश्राम गर्न रोकिएका यात्रु अहिले जुनार किन्न तँछाडमछाड गरिरहेको दृश्य रोचक देखिन्छ । यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडाै र भारतका विभिन्न सहरसम्म निकै लोकप्रियता पाएको छ ।
तस्बिर: राधिका बुढाथोकी / रासस















