१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउने निर्वाचनमा धेरै युवालाई अवसर दिन्छौँः संयोजक दाहाल



photo: rss
अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा युवाहरुलाई अवसर दिने बताउनुभएको छ ।

वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी र देशको आगामी नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने बताउनुभएको हो । उहाँले पार्टीभित्र पनि आगामी चुनावमा बढीभन्दा बढी युवालाई अवसर दिनेबारे गम्भीर छलफल भइरहेको जानकारी दिनुभयो । पार्टी कमिटिहरूमा समेत युवाको सहभागिता उल्लेख्य बनाउने तयारी भइरहेको उहाँको भनाई छ । उहाँले युवालाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा नेतृत्वका लागि तयार पार्ने प्रतिवद्धता पनि जनाउनु भयो । वर्तमान पुस्ताले अब नयाँ पुस्ताको नेतृत्व निर्माणमा लाग्ने संकल्प र सपना देख्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘अब हामी जुन पुस्तामा छौँ र जुन जिम्मेवारीमा छौँ, हामीले एउटा अर्को नयाँ सपना देख्नुपर्छ भन्ने मैले महसुस गरिरहेको छु । अब तपाईँ युवाहरूलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी तपाईँहरूलाई सुम्पिने संकल्प, सपना हामीले देख्नुपर्छ । युवाहरूलाई नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा हामीले तयार पार्नुपर्छ भन्ने सपना हामीले देख्नुपर्छ भन्ने मैले ठानेँ । अब हाम्रो सपना तपाईँहरूलाई वैचारिक, राजनीतिक, भावनात्मक, संगठनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेताका रूपमा तयार पार्ने र मैले पार्टीमा पनि हाम्रो छलफल भएको छ । आउने चुनावमा हामी धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीहरूमा धेरैभन्दा धेरै युवाहरूलाई ल्याउने संकल्प गर्ने अवस्था हो । आजको अवस्था भन्ने पनि हामीले छलफल गरेका छौँ र हामी छिट्टै त्यो निर्णय पनि गर्दैछौँ । नयाँ पुस्ताका युवाहरूलाई बढीभन्दा बढी जिम्मेवारी सुम्पने, त्यो वातावरण बनाउने हामी पुराना पुस्ताका क्रान्तिकारीहरूको जिम्मेवारी हो भन्ने मैले महसुस गरेको छु । म तपाईँहरूलाई त्यही कुराको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

उहाँले युवा पुस्ताका माग र आफूहरुको मागमा धेरै समानता देखिएको बताउनु भयो । विगतमा भएका गल्ती, कमजोरी स्वीकार गर्ने, आत्मसमीक्षा गर्ने र युवाहरूको स्पिरिटअनुसार आफूलाई बदल्ने र नयाँ ढंगले नेपाल निर्माण गर्ने नयाँ संकल्प लिने परिस्थिति पनि युवाहरूले पैदा गरेको उहाँको भनाई छ ।