१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव आइसक्यो, मुलुक झन् दलदलमा फस्दै छ, तर ढुंगो बोल्ला कांग्रेस बोल्दैन !



फाईल फोटो
अ+ अ-

काठमाडौं । जननिर्वाचित प्रतिनिधिसभा विघटन भएर आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा भएको पनि दुई महिना बढी भयो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले ल्याएको उथलपुथलपछि जनताले निर्वाचित गरेको संसद भंग भयो र संसद बाहिरबाट सरकार बन्यो ।

सुशिला कार्की नेतृत्वको सरकार निर्माण भएको पनि दुई महिनाबाट बढी भयो । तर नेपाली काङ्ग्रेसको न सरकारप्रतिको कुनै धारणा सार्वजनिक भएको छ र नत आसन्न निर्वाचनमा सहभागी हुन संस्थागत निर्णय नै बाहिर आएको छ । न सरकरको विरोध गरेको छ र नत समर्थन गरेर निर्वाचनमा जानलाई आह्वान नै गरेको छ ।

निर्वाचनको समय साढे तीन महिना भन्दा बढी छैन । फागुन २१ को निर्वाचनका लागि मतदाता नामावली अपडेट भइरहेको छ र यता दल दर्ता पनि धमाधम छ । नेकपा एमाले बाहेकका अरु दलहरुले निर्वाचनमा जाने संकेत गरिसकेका छन् । कतिले त पार्टी बैठकबाटै निर्वाचनका पक्षमा निर्णय नै गरिसकेका छन् ।

तर उता देशमा प्रतिनिधिसभा विघटन संविधान सम्मत् हो कि होइन भन्नेमै पनि एमाले र अरु केही दलबीच चर्को बहस भइरहेको छ । आन्दोलनपछिको सरकार, संसद विघटन तथा चुनावको घोषणा आदि जस्ता विषयहरु संविधान अनुसारका हुनु होइनन् भन्ने बारेमा पनि फरक-फरक तरिकाले बहस भइरहेका छन् ।

तर सरकार भने चुनावको तयारीमा अघि बढेको छ । निर्वाचन आयोगले निर्वाचनको तयारी अगाडि बढाइरहेको जनाएको छ । निर्वाचनका सरोकारवाला पक्ष राजनीतिक दलहरू भने निर्वाचनमा भाग लिने र नलिने दुई कित्तामा विभक्त छन् । अधिकांश दल चुनावको पक्षमै भए पनि एमाले भने विरोधमा छ ।

तर कांग्रेस चुपचाप छ । राष्ट्रिय एजेण्डामा चुपचाप छ, तर आफ्नो आन्तरिक विवादका विषयहरु झन् भन्दा झन् चर्कारहेकै छ । कांग्रेस विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल पनि हो । नेपालको पुरानो प्रजातान्त्रिक दल पनि । अनि मुलुकमा यस्तो संवैधानिक संकट आइरहेका बेला नेपाली कांग्रेसले भने अहिलेसम्म यी महत्वपूर्ण राष्ट्रिय विषयहरुमा संस्थागत निर्णय गर्न सकेको छैन ।

सरकार गठन भएको केही दिनपछि पछि कार्यसम्पादन समितिको बैठक बस्यो र प्रतिनिधिसभा विघटनको काम असंवैधानिक भनेको थियो । सरकारबारे केही बोलेन । तर फागुन २१ को चुनावमा जाने या नजाने भन्ने विषयमा कुनै ठोस निर्णय नगरेर कांग्रेसले लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचनमा जाने भन्ने अमूर्त निर्णय गरेको थियो ।

गत असोज २८ गतेदेखि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अझै जारी छ । महिनादिन भन्दा लामो समयसम्म जारी यस बैठकमा प्रतिकूल परिस्थितिबाट चलिरहेको मुलुकको राष्ट्रिय राजनीतिका बारेमा भन्दा पनि पार्टीको आन्तरिक राजनीतिबारे चर्को बहस हुने गरेको छ ।

त्यो बहस पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्ने बारेमा केन्द्रित छ । कांग्रेसको संस्थापन पक्ष फागुनको चुनावपछि गर्ने भन्नेमा छ भने इतर शेखर कोइराला पक्ष चुनाव अगावै नियमित महाधिवेशन गरौँ भन्नेमाा । त्यस्तै महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापा भने विशेष महाधिवेशन गर्नुपर्ने र त्यो पनि पुस महिनामै गर्नुपर्ने भन्नेमा छन् ।

आन्दोलनपछि पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व छोडिसकेका छन् । उनले उपाध्यक्ष पूर्णबहादुर खड्कालाई कार्यबाहक दिएर छोडेका हुन् । खड्काको अध्यक्षतामा पटकौँ केन्द्रीय समिति बैठक बस्यो तर त्यसले कुनै निकास निकाल्न सकेको छैन ।

यही आन्तरिक विवादमा फसेको कांग्रेस राष्ट्रिय मुद्दामा समेत हराउँदा जनतामा निराशा थप बढेको छ । मुलुक अन्योल र अस्थिरतामा रहेका बेला कांग्रेस जस्तो पार्टीले ठोस निर्णय नगर्नाले भोलिको नेपालको संसदीय र प्रजातान्त्रिक राजनीतिको अवस्था कस्तो हुने हो भन्नेमै अन्योल देखिन थालेको छ । त्यसैले जनताले भन्न थालेका छन् ढुंगो बोल्ला कांग्रेस बोल्दैन ।

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आजको यस बैठकले आफ्नो पार्टी भन्दा माथि उठेर राष्ट्रिय राजनीतिका विषयमा ठोस निर्णय गरोस् भन्ने अपेक्षा कांग्रेसीजनहरुको छ ।

निर्वाचनमा जाने हो भने पनि पार्टीलाई त्यसका लागि तयार पारेर आग्रह गरोस् र यदि एमालेले जस्तै संसद पुनस्र्थापनाको एजेण्डमा जाने हो भने पनि त्यसका लागि आन्दोलनको आह्वान गरोस् भन्ने आग्रह कांग्रेस कार्यकर्ताहरुको रहेको छ ।