९ आश्विन २०८१, बुधबार
,
Latest
रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार मुद्दा चलेपछि गच्छदारको सुरक्षामा खटिएका सशस्त्रको स्कर्टिङ गाडीसहित प्रहरी फिर्ता



अ+ अ-

सशस्त्र प्रहरीले पूर्वगृहमन्त्रीको हैसियतमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सुरक्षामा खटिएको आफ्नो ‘फोर्स’ फिर्ता लगेको छ । बालुवाटारस्थित ललितानिवासको जग्गा अनियमिततामा भ्रष्टाचार मुद्दा चलेपछि सशस्त्रको स्कर्टिङ गाडीसहित प्रहरी फिर्ता भएका हुन् । सशस्त्र प्रहरी बलका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले हाल गच्छदारको सुरक्षामा सुरक्षाकर्मी नखटिएको पुष्टि गरे । भ्रष्टाचार मुद्दा दायर भएकाले नै उनको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालय स्रोतले बतायो । पिएसओका रूपमा नेपाल प्रहरीबाट केही प्रहरी भने अझै उनीसँग छन् ।

फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारको संलग्नता दाबी गर्दै २२ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले १५ दिनभित्र उपस्थित हुन उनलाई म्याद जारी गरिसकेको छ । तर, उनी अदालतमा उपस्थित भएका छैनन् । ०६६ मा गच्छदार भौतिक योजनामन्त्री थिए । उनले नै प्रधानमन्त्रीनिवास विस्तारसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । सोही प्रस्तावका आधारमा ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पुगेको थियो ।

पूर्वगृहमन्त्रीहरूले छाडेनन् सुरक्षाकर्मी र गाडी:अन्य पूर्वगृहमन्त्रीहरूले समेत कार्यविधिविपरीत ठूलो संख्यामा सुरक्षाकर्मी र गाडीको दुरुपयोग गर्दै आएका छन् । विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिमा गृहमन्त्रीबाट हटेको दुई वर्षसम्म मात्र यस्तो सुविधा पाउने उल्लेख छ । गृहले नै नेतृत्व नलिएसम्म पूर्वगृहमन्त्रीहरूको सुरक्षामा खटिएका प्रहरी र गाडी फिर्ता गर्न सकिने अवस्था नरहेको प्रहरी अधिकारीहरू बताउँछन् । गृहले यससम्बन्धी छुट्टै कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पेस गरे पनि स्वीकृत भने हुन सकेको छैन । पूर्वगृहमन्त्रीहरू विमलेन्द्र निधि, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, कमल थापा, प्रकाशमान सिंहलगायतले १० भन्दा बढी प्रहरी घरमा राखेका छन् ।

पूर्वमहानिरीक्षकको घरमा सातजनासम्म प्रहरी:सशस्त्र प्रहरी बलबाट नेता मात्र होइन, अवकाशप्राप्त प्रहरी अधिकारीको घरमा समेत नियमविपरीत सुरक्षाकर्मी खटाइएको छ । पूर्वमहानिरीक्षकहरूको घरमा सातजनासम्म प्रहरी खटिएका छन् । नियमअनुसार पूर्वआइजिपीले तीन, एआइजीले दुई तथा डिआइजीले एकजना सहयोगी पाउँछन् । तर, पूर्वमहानिरीक्षकहरू वासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ, कोषराज वन्त, दुर्जकुमार राई, किशोर लामाको घरमा नियमविपरीत तीनभन्दा धेरै प्रहरी कार्यरत छन् । अवकाशप्राप्तमध्ये सिंहबहादुर श्रेष्ठले नियमअनुसार नै तीनजना मात्र लिएका छन् ।

केही पूर्वएआइजीको घरमा नियमविपरीत खटिएका सुरक्षाकर्मी भने फिर्ता गरिएको छ । तर, आइजिपीको घरबाट फिर्ता गरिएको छैन । सुरक्षाका नाममा सुरक्षाकर्मी खटाइए पनि उनीहरूलाई घरेलु काममा खटाइने गरिएको छ । नेपाल प्रहरी र सेनामा यस्तो विकृति छ । कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता ल्याउन सुरक्षा निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए । मन्त्रालयले तीन सय ४७ प्रहरी फिर्ता गरिसकेको उनको भनाइ छ । नयाँ पत्रिका दैनिक