काठमाडौंः नेकपा एमालेले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटको सुनुवाई आगामी चैतदेखि २० गते शुरु हुने भएको छ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा कुमार चुडालको संयुक्त इजलासले चैत २० गतेदेखि पूर्ण सुनुवाई गर्ने गरी आदेश दिएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेका माधव कुमार नेपाल सहितका १४ सांसदलाई पार्टीबाट हटाइएको र त्यसको सूचना संसद सचिवालयमा दर्ता गरिए पनि कारबाही नभएको भन्दै सर्वोच्चमा मुद्दा दायर गर्नु भएको थियो ।
संसद सचिवालयले समयमै एमालेको माग सम्बोधन नगरेसँगै सांसद पद यथावत रहनुका साथै नेकपा (एस) गठन भएका थिए, र त्यसलाई संसद र निर्वाचन आयोगले मान्यता दिएका थिए ।
एमाले अध्यक्ष ओलीको मागलाई सभामुख अग्नि सापकोटाले नजरअन्दाज गरेपछि यही विषयलाई लिएर नेकपा एमालेले झन्डै ७ महिनादेखि संसद् अवरुद्ध गरिरहेको छ ।
एमाले विभाजनका क्रममा निर्वाचन आयोगले ती १४ सांसदको हस्ताक्षर समेत सनाखत गरेपछि ओलीले आयोगलाई पनि विपक्षी बनाउनुभएको थियो ।
सांसदहरू माधव कुमार नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, लक्ष्मीकुमारी चौधरी, मेटमणि चौधरी, निरा जैरु, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण कायस्थ र कलिला खातुनको सांसद पद रहने वा नरहने विषयको टुंगो अब सर्वोच्चको पूर्ण फैसलाबाट मात्र टुंगो लाग्नेछ ।