९ आश्विन २०८१, बुधबार
,
Latest
रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको त्रास: सरकारले छुट्टै अस्पताल बनाउने



अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरसका लागि १ सय शै्ययाको छुट्टै अस्पताल बनाउने भएको छ । चालु रहेको वा नयाँ कुनै अस्पताललाई कोरोनाबाट संक्रमित राखेर उपचार गराउने व्यवस्था मिलाउने तयारीमा सरकार जुटेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस लक्षित छुट्टै अस्पताल बनाउन निर्देशन दिएपछि सरकारले सो प्रक्रिया सुरु गरेको छ । त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री ओलीले उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई छुट्टै अस्पताल निर्माणको प्रक्रिया तत्काल सुरु गर्न निर्देशन दिएका हुन् ।

बिरामीको कम चाप हुने काठमाडौंकै कुनै अस्पताल वा छुट्टै संरचना खडा गरेर कम्तीमा १ सय शै्ययाको अस्पताल बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । प्रधानमन्त्रीसँगको भेटका क्रममा समितिका संयोजक पोखरेलले पनि छुट्टै अस्पतालका लागि सुझाव आएको बताए । कोरोनाविरुद्ध लड्ने सरकारी पूर्व तयारीबारे प्रधानमन्त्रीले उपप्रधानमन्त्री पोखरेलसहित मन्त्रीहरूसँग चासो राखेका थिए । स्वास्थ्य मन्त्री ढकालले प्रधानमन्त्रीले कोरोना भाइरस रोकथामबारे चासो लिँदै विशेष अस्पताल निर्माण बारेमा चासो दिनुभएको बताए । ‘पूर्व तयारीमा जोड दिनुभयो । यदि, कोरोनाको संक्रमण देखिहालेमा त्यसका लागि विशेष अस्पताल तयार पार्नुपर्नेमा प्रधानमन्त्रीको चासो छ’, मन्त्री ढकालले भने ।

यसैबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रका सरकार प्रमुखबीच कोरोना विरुद्ध साझा सहकार्यका लागि भिडियो कन्फेरेन्सको तयारी भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा कोरोनाविरुद्ध सहकार्य र साझा राणनीति तय हुन लागेको हो । सार्क सदस्य राष्ट्रबीच तत्काल उच्चस्तरीय भेटवार्ता सम्भव नभएकाले आगामी राणनीति बनाउन भिडियो कन्फेरेन्सको तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल प्रवेशमा कडाइ:कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी अध्यागमन विभागले शनिबारबाट लागू हुने गरी विदेशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेको छ । विदेशबाट आउने नेपाली नागरिक, गैरआवासीय नेपाली तथा विभिन्न उद्देश्यले नेपाल प्रवेश गर्ने विदेशी नागरिकले प्रवेश विन्दु अर्थात अन्तर्राष्ट्रिय विमानस्थलमै विभिन्न शर्त पालना गर्नुपर्ने विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य प्रमाणपत्र पेश गरी पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको ¥याल परीक्षण रिपोर्ट पेश गर्नुपर्ने विभागले जनाएको छ । यस्तै नेपाल आउने सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक तथा गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गरेको दिनबाट १४ दिनसम्म अनिवार्यरूपमा ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । यस्तै, विदेशी कुटनीतिक नियोगका पदाधिकारी एवं कर्मचारी नेपाल प्रवेश गर्दा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने जनाइएको छ ।

अध्यागमन विभागले शनिबार मध्यरातीबाट लागू हुने गरी सबै मुलुकका नागरिक र गैरआवासीय नेपालीलाई प्रवेश विन्दुमा प्रदान गर्दै आएको अनअराइभल भिसामा रोक लगाएको जनाएको छ । स्थलमार्गबाट आउने तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । यो प्रावधान आगामी अप्रिल ३० सम्म लागू हुने विज्ञप्तिमा उल्लेख गरेको छ । उता, अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले अति आवश्यक कामबाहेक अमेरिकाबाट नेपाल नजान त्यहाँस्थित नेपालीलाई आग्रह गरेका छन् । उनले अमेरिकी पासपोर्ट भएका एनआरएनदेखि नेपालकै पासपोर्ट भएकाहरूलाई अति महत्वपूर्ण अवस्थाबाहेक नेपाल नजान आग्रह गरेका हुन् ।

भारतसँग चार नाकामात्र खुल्ला:भारतले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि भन्दै नेपालसँगका केही प्रमुख नाकाहरूमात्रै खुला राख्ने निर्णय गरेको छ । बुधबार भारतको गृह मन्त्रालयले दुई देशका नागरिकहरू ओहोरदोहोर गर्नका लागि वीरगञ्ज (रक्सौल), भैरहवा (सुनौली), महेन्द्रनगर (बनबासा) र काकडभिट्टा (रानीगन्ज) मात्र खुला राख्ने निर्णय गरेको हो ।

यसबाहेकका नाकाहरूबाट मानिसहरूको आवतजावत तत्कालका लागि बन्द गरिएको छ । तर, कार्गो (सामान) को ढुवानी भने यसअघिकै व्यवस्थाअनुसार सबै नाकाबाट सुचारु रहनेछ । भारत सरकारको पछिल्लो निर्णयमा खुला राखिएका नाकाहरूमा पनि मानिसहरूको बृहत् स्वास्थ्य परीक्षण भने हुने जनाइएको छ ।

बिदा नबस्न आग्रह:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ । विश्वभर महामारीको रूपमा फैलिरहेको कोभिड–१९को संक्रमणलाई ध्यानमा राखेर नेपालमा पनि उच्च सर्तकता अपनाउनुपर्ने भएकाले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई अर्को आदेश जारी नभएसम्मका लागि बिदा नबस्न मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा प्रसूति र किरिया बाहेकका बिदा स्वीकृत नगर्न भनिएको छ । बिदा बस्नै पर्ने भए वैकल्पिक व्यवस्था गरेर मात्र बिदा स्वीकृत गराउन पनि मन्त्रालयले सम्बन्धित सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । सौर्य दैनिक