२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले गाउँपालिका राष्ट्रिय महासङ्घ र नगरपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँग आज दिउँसो बालुवाटारमा छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समय उत्पन्न परिस्थितिमा स्थानीय सरकारले गरिरहेका कामकारबाही, भोग्नुपरेका समस्या र निर्वाचनको तयारीका सम्बन्धमा छलफल तथा परामर्श गर्नुभएको हो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित अघि बढ्ने विषयमा उपस्थित सबैको एकमत थियो । आगामी निर्वाचनको वातावरण बनाउनका लागि मुलुकमा सुशासन र शान्ति सुव्यवस्था कायम गराउन पनि सहकार्य गर्नुपर्ने उहाँहरुको धारणा थियो ।

स्थानीय तहका जनप्रतिनिधिहरुले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनको वातावरण बनाउन निर्वाह गरिरहेको भूमिकाको सराहना गर्दै आशा जगाउने काम गरेकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।

छलफलमा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हाको पनि उपस्थिति थियो । गृहमन्त्री अर्यालले असामान्य परिस्थितिमा आएको यो सरकारले शान्ति सुव्यवस्थाका निम्ति स्थानीय सरकारले गर्नसक्ने सहयोगका निम्ति आग्रह गर्नुभयो ।

सरकारले केही हतियार र करिब पाँच हजार कैदीबन्दीको खोजी गरिरहेकाले त्यसबारे सूचना उपलब्ध गराउनका निम्ति सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

स्थानीय जनप्रतिनिधिहरुले हालै सरकारले मितव्ययिता कायम गर्न जारी गरेको मार्गदर्शनका कारण करारका कर्मचारी राख्न नपाएको र ठेक्का लागिसकेका योजना पनि अनिश्चित भएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले तीनै तहका सरकारहरुबीच समन्वय गर्न गठित संयन्त्रहरुका बैठक राखी क्रियाशील गराउन पनि प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

निर्वाचन सम्पन्न गर्न स्थानीय सरकारको अझ बढी भूमिका हुने भएकाले समन्वय र सहकार्यबाटै अघि बढ्ने प्रधानमन्त्री कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ । निर्वाचनको वातावरण बनाउन र तयारी गर्न तपाईँहरुसँग समन्वय र सहकार्य नगरी हुन्न । तपाईँहरुका चासो हामी सम्बोधन गर्छौं । गर्नैपर्छ । चिन्ता नगर्नुहोस् । आफ्नो काममा निर्धक्कसँग अगाडि बढ्नुहोस् । अहिले सबै मिलेर यो परिस्थितिको निकास निकाल्नुपर्छ ।” दलीय पद्धतिमा दललाई बाहेक गरेर अघि बढ्न नसकिने पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री कार्कीले जेनजीलाई पनि पार्टी बनाएर चुनावमा प्रतिस्पर्धा गर्न आफूले सुझाएको जानकारी दिनुभयो । राजनीतिमा संस्कार र अनुशासन पनि अनिवार्य रहेको उहाँको धारणा थियो ।

सो छलफलमा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नगरपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानासहित विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो । रासस




भर्खरै