२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेडापालनमा भविष्य खोज्दै आस्मन



अ+ अ-

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन पुर्जा मगर प्रायः भेडीगोठमै भेटिनुहुन्छ । हिउँदमा बेँसी र बर्खायाममा बुकीका खर्कमा घुम्ती गोठमा भेडाबाख्रा गोठालो गर्नु उहाँको दैनिकी हो । केही वर्षअघिसम्म रोजगारीको खोजीमा शहरमा भौतारिनुभएका पुर्जा अहिले भेडापालनमै भविष्य खोजिरहनुभएको छ ।

बुबा मनलाल र आमा फिस्टीका सात भाइ छोरा र एक छोरीमध्ये कान्छो आस्मनले कक्षा ९ सम्म मात्रै पढ्नुभयो । उहाँले पोखरा, नयाँपुल र बेनीमा रेष्टुरेन्टमा पनि काम गर्नुभयो । ती सबै काम छाडेर उहाँ गाउँमै भेडापालन गर्न फर्कनुभएको हो ।

“आफ्नै माटोमासम्भावना छन् भन्ने लागेर भेडापालन सुरु गरेको हुँ, मेरो स्वदेशमै आत्मनिर्भर बन्ने सपनालाई आर्थिक लगानीको जरुरी थियो, त्यही बेला कोरियामा रहनुभएका साथी अनिल पाइजाले साथ दिनुभयो र यो सम्भव भएको हो,” पुर्जाले भन्नुभयो । किसानी मावि बिममा पढ्ताका सहपाठी अनिलले भेडापालनका लागि सुरुआती लगानी गरिदिएपछि आफ्नो भेडापालन गर्ने सपना पूरा भएको उहाँले बताउनुभयो ।

भेडापालनमा करिब रु १३ लाख लगानी गर्नुभएका पुर्जालाई साथी अनिलले मात्रै करिब रु ६ लाख सापटी दिनुभएको छभने बाँकी रकम पुर्जा आफैँले जुटाउनुभएको छ । उहाँका गोठमा हाल करिब १०० भेडा छन् । भेडीगोठमा भेडाको सङ्ख्या थपिने क्रम जारी छ । यही याममा मात्र उहाँका करिब २५ भेडा ब्याउने तयारीमा छन् । निकट भविष्यमा भेडाको सङ्ख्या बढाएर भेडीगोठलाई आम्दानीको स्रोत बनाउने पुर्जाको योजना छ ।

जेठदेखि असोजसम्म जिरबाङ पिक, बुकी र मूलखर्कका हरियालीमा राखिने भेडीगोठलाई हिउँद लागेपछि भने सिङकोस गाउँ वरपर झारिन्छ । स्थानीय बासिन्दाले देवीदेवताको भाकल पूरा गर्न साँढले पूजा गर्ने चलन भएकाले भेडीगोठमा उत्पादन भएका साँढका लागि बजारको अभाव छैन । खसी भने मासुका लागि गाउँलेहरुले गोठमै पुगेर खरिद गर्छन् ।

“बुबाले पनि घुम्तीगोठमा भैँसीपालन गर्नुभएको हो, सानोमा पनि म दाइहरुसँग गोठमा बसेको थिए, आफ्नै पुर्खाको माटोमा पसिना बगाउन पाइरहेको छु,” उहाँले भन्नुभयो ।

पुर्जाको भेडापालनले युवाहरुले विदेशमा गएर मात्र सम्भावना खोज्नु पर्दैन, आफ्नै गाउँमा पनि अवसरहरू छन् भन्ने सन्देश दिएको स्थानीयवासी बताउँछन् । पुर्जाको बुबा ७१ वर्षीय मनलालले अझै चोयाको डोको, डालो बुन्नुहुन्छ । उहाँका दुई छोराले बाख्रापालन, एक छोराले गोठमा भैँसीपालन गर्दै आउनुभएको छ । एक छोराले जिप चलाउँछन् । दुई छोराले गाउँमा च्याउ, टुसालगायत बिक्री गरेर जीविकोपार्जन गर्दै आउनुभएको छ ।