१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

वरिष्ठ मूर्तिकार क्रोधकला शिरोमणि कालु कुमाले सम्मानित

वरिष्ठ मूर्तिकार क्रोधकला शिरोमणि कालु कुमाले सम्मानित
अ अ+ अ-

ललितपुर। पाटन सङ्ग्रहालयको २८औँ वार्षिकोत्सवका अवसरमा ९३ वर्षीय वरिष्ठ मूर्तिकार क्रोधकला शीरोमणि कालु कुमाले (कुम्हाः) सम्मानित हुनुभएको छ ।

ललितपुर महानगरपालिका वडा नं १२ मङ्गलबजारस्थित पाटन सङ्ग्रहालय विकास समितिद्वारा आज आयोजित वार्षिकोत्सवमा मूर्तिकलाका क्षेत्रमा क्रियाशील रहेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा योगदान पुर्‍याएबापत उहाँलाई सम्मान गरिएको हो ।

वरिष्ठ मूर्तिकार कुम्हाःले ८१ वर्षको उमेरदेखि तीन वर्ष लगाएर निर्माण गर्नुभएको मूर्ति पाटन सङ्ग्रहालयमा प्रदर्शित छ । उहाँले निर्माण गर्नुभएको मूर्तिकला विश्वका ५५ वटाभन्दा बढी राष्ट्रहरूमा पुगेको र नेपालका विभिन्न सङ्ग्रहालय र मठमन्दिरमा उहाँको कला प्रदर्शित रहेको उहाँका छोरा राकेश अवालेले जानकारी गराउनुभयो ।

सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा पाटन सङ्ग्रहालय विकास समितिका अध्यक्ष हरिप्रसाद मैनालीले सम्पदा संरक्षणमा स्थानीय कलाप्रेमी र संस्कृतिप्रेमीले ध्यान दिएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

“स्थानीय प्रशासन र महानगरले सम्पदा संरक्षणमा उत्कृष्ट काम गरेको छ, सम्पदालाई पुस्तान्तर गर्दै जाँदा देशको समृद्धिको आधार बन्दै जान्छ, विभिन्न देशले सम्पदाबाटै आयआर्जन गरिरहेका छन्, हामीले मन्त्रालयबाटै पनि मूर्तिकला क्षेत्रमा काम गर्नेहरूलाई प्रेरित गरिरहने छौँ”, उहाँले भन्नुभयो ।

सचिव मैनालीले लुकेका प्रतिभा धेरै भएकाले चिन्न र सम्मान गर्न समय लागेको बताउँदै सम्पदा र संस्कृतिलाई माया गर्ने सबैले किताबको प्रकाशन र यसलाई प्रचारप्रसार गर्ने कार्यमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सुरेश सुरज श्रेष्ठले युवापुस्तालाई संस्कृतिका बारेमा जानकारी दिँदै संस्कृति र सम्पदाका विविध विषयसमेतको उजागर गरेर सङ्ग्रहालयलाई समेट्ने र व्यवस्थित बनाउनुपर्छ भन्नुभयो ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानले पाटन दरबार सङ्ग्रहालयलाई दीर्घकालीन समयसम्म संरक्षण गर्दै जानका लागि व्यवस्थित र प्रदर्शनीका माध्यमबाट समयसापेक्ष रूपमा लैजान स्थानीय सङ्घसंस्था र तीनै तहको सरकार एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले सम्पदा स्थानीय संस्कृतिको प्रतिविम्बित हुने स्थान भएको भन्दै सङ्ग्रहालयसँग सम्बन्धित सामग्रीको सङ्कलन, प्रदर्शनी, सुरक्षा गर्ने कार्य, सूचना प्रवाह गर्ने, अध्ययन अनुसन्धानका काम व्यवस्थित गर्नेलगायत काम गरेर राजस्व सङ्कलन गर्ने काम गरिरहेको पाटन दरबार सङ्ग्रहालयले उत्कृष्ट काम गरिरहेको बताउनुभयो ।

क्रोधकला शिरोमणि कालु कुमाले फाउन्डेसनका अध्यक्ष राकेश अवालेले धेरै कलाप्रतिको लगाव र निरन्तरतालाई सम्मान गरेर श्रम र पहिचानको सम्मान गरेको बताउनुभयो ।

“कलाकारको जन्मथलो पाटनमा मूर्तिकलाको विकासलाई क्रोधकला शिरोमणि कालु कुमालले ९३ वर्षसम्म पनि निरन्तरता दिइरहनुभएको छ, मूर्तिहरूमा जीवनको दर्शन र कला उतारिएको हुन्छ, आजको सम्मानले कलाकृतिहरूप्रतिको सृजनालाई सम्मान भएको”, उहाँले भन्नुभयो ।

ऊर्जा योजनाकार एवं सामाजिक उद्यमी इञ्जिनियर अनिल चित्रकारले पाटनको सुन्दरीचोक सम्पदाको महत्त्वपूर्ण पक्ष भएको भन्दै यसको ऐतिहासिक पक्षकाबारेमा किताबमा दस्तावेजीकरण गरिएको बताउनुभयो ।

“सम्पदा केवल काठ, माटो र आँखीझ्याल मात्रै हैन, त्यसको महत्त्व बेग्लै हुन्छ, हाम्रो सम्पदाका बारेमा हामीले इतिहास कायम गर्नुपर्छ, हाम्रो भाषाप्रति गर्व गर्न सक्नुपर्छ, हामीसँग भएको कुरा र देशमा भएको अवसरका बारेमा गर्व गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

पाटन दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेलले सङ्ग्रहालयले नियमित सेवाका साथै उत्कृष्ट नवप्रवर्तनीय कार्यसमेत गर्दै आएको बताउनुभयो । उहाँले सङ्ग्रहालयको विकास, स्तरोन्नतिका साथसाथै सङ्ग्रहालयलाई समयसापेक्ष बहुपक्षीय रूपमा उपयोगी र प्रभावकारी बनाउँदै लैजाने गरी योजना भइरहेको जानकारी गराउनुभयो ।

पाटन दरबार सङ्ग्रहालय मल्लकालीन, शाहकालीन र राणाकालीन सम्पदाको विशिष्टताले गर्दा सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत हुन सफल भएको छ । कार्यक्रममा विसं २०५४ देखि निरन्तर रूपमा पाटन सङ्ग्रहालयमा कार्यरत चिरीमैचा महर्जनलाई सम्मान गरिएको छ । रासस