१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

काम भइरहेको छ, गरिरहेका छौँ भन्नेभन्दा पनि तथ्यमा आधारित भएर सुरक्षा प्रवन्ध गर्नुपर्‍यो : गृहमन्त्री अर्याल

काम भइरहेको छ, गरिरहेका छौँ भन्नेभन्दा पनि तथ्यमा आधारित भएर सुरक्षा प्रवन्ध गर्नुपर्‍यो : गृहमन्त्री अर्याल
अ अ+ अ-

जनकपुरधाम।  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गठन भएसँगै सुरक्षाको अवस्था सामान्य हुँदै गएको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा भएको सुरक्षा समन्वय बैठकलाई सम्बोधन गर्दै उहाँले जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपश्चात् बिग्रेको शान्ति सुरक्षा र सेवा प्रवाहलाई सामान्यीकरण गर्ने, आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने र सुशासन प्रवर्द्धन गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो ।

गृहमन्त्री अर्यालले अहिलेको परिस्थितिमा सरकार जिल्लाहरूको शान्ति सुरक्षाको अवस्था विश्लेषण गरी चुनौतीहरूलाई कम गर्दै चुनाव लक्षित भएर अगाडि बढेको बताउनुभयो । जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र प्रदान गर्ने र राहत उपलब्ध गराउने सम्बन्धमा सरकारबाट भएका निर्णय जानकारी गराउँदै उहाँले ती निर्णयहरूलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

गृहमन्त्री अर्यालले भन्नुभयो, “हामी अबका दिनमा मृतक र मृतकका परिवारलाई सम्मान, घाइतेहरूको प्रभावकारी एवं दीर्घकालीन उपचार र सहयोगका सम्बन्धमा थप सम्बोधन गर्ने क्रममा रहेका छौँ, जुन छिट्टै गर्नेछौँ ।” जनताले अनुभूति गर्नेगरी शान्ति सुरक्षालाई थप सुदृढ तुल्याएर निर्वाचनको तयारीमा सरकार लागेको उहाँको भनाइ छ । उहाँले निर्वाचनको लागि वातावरण बनाउन र सम्पन्न गर्नका लागि सुरक्षासँग सम्बन्धित सबै निकायको भूमिका अहम् रहने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

गृहमन्त्री अर्यालले भन्नुभयो, “केन्द्रबाट गर्ने नीतिगत एवं कानुनी दायित्व र जिम्मेवारीलाई हामीहरूले समयमै गर्छौँ र गरिरहेका छौँ । कानुन संशोधन, आवश्यक स्रोतसाधनको व्यवस्थापन, राजनीतिक दलहरूसँग र सरोकारवालाहरूसँग छलफल भइरहेका छन् ।”

मतदान केन्द्रको पुनर्निर्माण गर्नुपर्ने, मतदान केन्द्रहरूलाई सुदृढ गर्न आवश्यक पर्ने विषयहरू विश्लेषण गरेर शीघ्र प्रतिवेदन दिन निर्देशन दिँदै उहाँले प्रदेश र जिल्लास्तरले निर्वाचन सुरक्षा योजनालाई शीघ्र अन्तिम रूप दिन सुझाव दिनुभयो ।

प्रदेशस्तर र जिल्लास्तरमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रणलगायतका विषयहरूमा सही सूचना सङ्कलन, विश्लेषण गर्ने र आवश्यकताअनुसार जोखिमका आधारमा समयमै सम्बन्धित निकायमा सम्प्रेषित गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, “सुरक्षा निकायहरूबीच आपसी समन्वय गरी संयुक्त गस्ती गरेर जनतामा सुरक्षाको अनुभूति दिलाउन प्रभावकारी ढङ्गबाट काम गर्नुहोला ।”

सरकार गठनको अर्को एजेण्डा सुशासन र पारदर्शिता भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले  हिजोभन्दा आज र आजभन्दा भोलि आमनागरिक वा जनताको माग, चाहना र सोचाइअनुरूप सेवा प्रवाह गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । सुरक्षा निकायले गर्ने अनुसन्धानहरू निष्पक्ष र तथ्यमा आधारित हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राजस्व चुहावट नियन्त्रण, अपराध नियन्त्रणजस्ता विषयलाई गम्भीरतापूर्वक हेर्न निर्देशन दिनुभयो ।

गृहमन्त्री अर्यालले भन्नुभयो, “काम भइरहेको छ, गरिरहेका छौँ भन्नेभन्दा पनि आगामी दिनमा हामीले यहाँहरूको कार्यसम्पादनलाई तथ्यमा आधारित भएर हेर्ने र मूल्याङ्कन गर्नेछौँ ।” उहाँले छिट्टै सुरु हुने चिसो मौसम र यसमा देखिने शीतलहरको जोखिम कम गर्नका लागि सक्रियभएर लाग्नुपर्ने बताउनुभयो । मन्त्री आर्यालले शीतलहरबाट तराई क्षेत्रमा हुने हुनसक्ने मानवीय क्षति न्यूनीकरण गर्नेगरी योजनाबद्ध रूपमा कार्यहरू गर्न पनि सुझाव दिनुभयो ।

गृहमन्त्री अर्यालले भन्नुभयो, “गत विपद्मा जसरी हामीले समन्वयात्मक ढङ्गबाट कार्य गर्न सक्यौँ, त्यसैगरी शीतलहरको अवस्था भएमा राज्यको उपस्थिति महसुस हुनेगरी गर्नुपर्छ, त्यसको पूर्वतयारी गर्नुहोला । ”

गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले बदलिँदो परिवेशमा परिवर्तनलाई आत्मासात् गरी सबै सुरक्षा निकायका कर्मचारीहरूमा निष्ठा, इमान्दारिता र समन्वयात्मक रूपमा परिचालित भई सुशासन, पारदर्शिता र जिम्मेवारीपूर्ण कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा जेनजी आन्दोलनपश्चात् विकसित घटनाक्रम र हालको मधेस प्रदेशको शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह र निर्वाचनको तयारी सम्बन्धमा मधेस प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू र सिरहा, धनुषा, महोत्तरी, सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबाट आ–आफ्नो प्रस्तुति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री अर्यालको अध्यक्षतामा भएको उक्त सुरक्षा समन्वय बैठकमा मधेस प्रदेशका प्रमुख सचिव, नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति, गृह मन्त्रालयका सहसचिव, मधेस प्रदेशका प्रदेश सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख, सर्लाही, सिराहा, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको सहभागिता थियो ।