१३ भाद्र २०८३, शनिबार
,
Latest
शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनः महाराजगन्जमा प्रहरी हत्यामा संलग्न आरोपमा थप दुई पक्राउ



अ+ अ-

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा महाराजगन्ज प्रहरी वृत्तमा भएको आक्रमणमा प्रहरी जवानलाई कुटपिट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ घर भई सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ घर भई मनमैजु बस्ने २७ वर्षीय सौरभ तामाङ रहेका छन् ।

आरोपीहरूले प्रहरी जवान उत्तम थापालाई कुटपिट गरेको दृश्य सीसीटीभी फुटेजमा देखिएको छ । यसै आक्रमणका कारण जवान थापाको मृत्यु भएको थियो ।

सोमबार पक्राउ परेका दुवै जनालाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा ल्याएर थप अनुसन्धान थालिएको छ ।

अनुसन्धानका अनुसार, उनीहरूले भदौ २४ मा जवान थापालाई कुटपिट गरेको र प्रहरी वृत्तमा तोडफोड तथा आगजनी गरेको भिडियो फुटेजमा देखिएको छ ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट महाराजगन्जमा असई मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाएका थिए ।

प्रहरी हत्यामा संलग्न अन्य पाँच जना यसअघि नै काठमाडौँ प्रहरीको हिरासतमा रहेका छन् । उनीहरू गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ र रामेछाप घर भएका १६ वर्षीय दीपक मगर रहेका छन् ।

महाराजगन्जमा प्रहरी हत्यामा संलग्न चार जना आरोपीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

काठमाडौँ जिल्ला अदालतको आदेशपछि कारागार चलान हुनेहरूमा काभ्रेको रोशी गाउँपालिका घर भई बालुवाटार बस्ने २८ वर्षीय युवराज क्याप्छाकी, मकवानपुरको थाहा नगरपालिका–७ घर भई चन्द्रागिरी बस्ने २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ), सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भई धुम्बाराही बस्ने ६२ वर्षीय होम प्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भई बालकुमारी बस्ने २८ वर्षीय टिकाराम बिक रहेका छन् ।

प्रहरी अनुसन्धान अनुसार, क्याप्छाकी र थिङले जवान उत्तम थापालाई कुटेर हत्या गरेको छन् भने पौडेल र बिकले असई रायको हत्या गरेका हुन् ।

महाराजगन्जमा प्रहरी हत्यामा संलग्न थप पक्राउ परेकाहरूको विषयमा पूरक अनुसन्धान प्रतिवेदन छिट्टै पेश गरिने प्रहरीले जनाएको छ ।