१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

कार्तिक नाच आजदेखि

कार्तिक नाच आजदेखि
अ अ+ अ-

ललितपुर। ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि प्रदर्शन हुँदैछ । विगत तीन सय ८५वर्षदेखि हरेक वर्ष कात्तिक महिनामा प्रदर्शन हुँदै आएको ऐतिहासिक उक्त सञ्चालनका लागि यस वर्षको सबै तयारी पूरा भएको जनाइएको छ ।

आज साँझदेखि १९ गतेसम्म साँझ ७ बजेसम्म नियमित रूपमा नाच सञ्चालन हुने र त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिनुभयो ।

“यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ, त्यसैले १० दिनसम्म सञ्चालन हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिलाअनुसार नाच देखाइन्छ”, उहाँले भन्नुभयो,“यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक वर्ष कात्तिक महिनामा सञ्चालन हुँदै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ नाच चलाएको जनविश्वास छ ।”

नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहास छ । यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर देखाउनु हो । अध्यक्ष चित्रकारका अनुसार मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको इतिहास रहेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष चित्रकारले भन्नुभयो,“यो नाच सुरुमा पाँच दिन प्रदर्शन भएको बताइन्छ । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पु¥याएका पनि इतिहास छ । हाल यसको विशेषता बुझेका कलाकार र नाच सञ्चालनका लागि आर्थिक अभावमा १० दिनमा मात्रै सीमित गरिएको छ ।”

यो नाच नेपालको अमूर्त सम्पदा र परम्परागत संस्कृति भएकाले हालसम्म नरोकिएको कार्तिक नाच प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायले बताउनुभयो ।

“कार्तिक नाच धार्मिक र तान्त्रिक महत्त्वसँग पनि जोडिएको छ । यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि लिइन्छ, जुन जातीय सद्भाव कायम राख्ने माध्यम बनेको छ”, उहाँले भन्नुभयो ।

मल्लकालीन समयमा कार्तिक नाचमा मैथिली भाषामा संवाद गरिन्थ्यो । मैथिली भाषा नेवार समुदायमा नबुझिने भएकाले पछिल्लो समय नेपाल भाषामा उल्था गर्न थालिएको जानकारहरू बताउँछन् । यो नाच संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिएको राजोपाध्यायको भनाइ छ ।

“सत्ताइस दिनसम्म नाच सञ्चालन हुने भएकाले संसारको सबैभन्दा लामो नाट्य महोत्सव भएको इतिहासमा उल्लेख छ, तर हाल यसलाई १० दिनमा खुम्च्याइएको छ । विसं २००७ को जनक्रान्तिपछि यो नाटकलाई केही दिनमा खुम्च्याइयो । विसं २००८ देखि २०३७ सालसम्म दुई दिन मात्रै देखाइयो । यी दुई दिनमा बराह र नरसिंह अवतार देखाइन्थ्यो”, राजोपाध्यायले भन्नुभयो ।

कार्तिक नाच प्रबन्ध समिति गठन भएपछि विसं २०३८ देखि २०६९ सम्म प्रत्येक वर्ष आठ दिन नाच प्रदर्शन भएको राजोपाध्याय बताउनुहुन्छ । “विसं २०७० मा दुई दिन वस्त्रहरण र बौद्ध लीला थपेर १० दिन र विसं २०७१ देखि २०७६ सम्म १२ दिन सञ्चालन भएको थियो ।

विसं २०७७ सालमा कोभिड महामारीका कारण दुई दिन मात्रै नाच देखाइएको थियो । यस वर्ष १० दिन देखाइँदैछ, २००६ सालयता २७ दिन नै नाच हुन सकेको छैन । सबै २७ दिन गर्न एक वर्ष समय खर्चिनुपर्छ । नाचका लागि अभ्यासमा धेरै समय लाग्छ”, उहाँले भन्नुभयो ।

नाच संरक्षण समितिले नाचलाई निरन्तरता दिन संस्थागत रूपमा रु १० करोडको अक्षयकोष स्थापना, कलाकारलाई व्यावसायिक रूपमा अगाडि बढाउने र नयाँ पुस्तालाई भाषागत रूपमा सबल बनाउन प्रशिक्षण दिने लक्ष्य लिएको जनाएको छ । रासस