काठमाडौँ। भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार तीन जना स्रष्टालाई प्रदान गरिएको छ ।
भैरव पुरस्कार गुठीले आज यहाँ एक कार्यक्रम आयोजना गरी २०८२ सालको भैरव पुरस्कार कृष्ण प्रधान, हरिप्रसाद शर्मा वाङ्मय तथा विवश पोखरेललाई प्रदान गरेको हो ।
गुठीका अनुसार भैरव पुरस्कार भारत–सिलगुढी निवासी वरिष्ठ हास्यव्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिएको हो । यो पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ । भैरव पुरस्कार पहिलो पटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गरिएको गुठीले जनाएको छ ।
त्यस्तै, रु एक लाख एक हजार १११ राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ । साथै रु ५१ हजार १११ राशिको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरिएको छ ।
गुठीका अध्यक्ष रोचक घिमिरे, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्याल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललगायतले पुरस्कार प्रदान गर्नुभएको हो ।
कार्यक्रममा पुरस्कृत स्रष्टाबारेमा जानकारी गराउँदै साहित्यकार नरनाथ लुइँटेल, केके कर्माचार्य, प्रमोद प्रधानलगायतले नेपाली साहित्यमा भैरव अर्यालको योगदानबारे चर्चा गर्नुभयो ।
साथै साहित्यकार खगेन्द्र सङ्ग्रौला, गोविन्द घिमिरे ‘वेदमणि’ले भैरव अर्याल नेपाली व्यङ्ग्य साहित्यका अद्वितीय प्रतिभा भएको बताउनुभयो । पुरस्कृत स्रष्टाले भैरव अर्यालको नामको पुरस्कार प्राप्त गर्नु आफूहरूका लागि निकै गर्वको विषय भएको बताउनुभयो ।
गुठीले पुरस्कार प्राप्तकर्ताको नाम छनोट गर्न साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्वय नरेन्द्रराज पौडेल र प्रह्लाद पोखरेल सदस्य रहनुभएको चयन समिति गठन गरेको थियो । गुठीको आजै सम्पन्न साधारणसभाले वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ । रासस










