२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ नयाँ गभर्नरको नोटमा गर्ने सही



अ+ अ-

काठमाडौँ । गभर्नर पदको विभिन्न देशमा विभिन्न कार्यभार, कार्यप्रकृति हुन्छ । नेपालमा भने गभर्नर नेपाल सरकारको आर्थिक सल्लाहकारका रुपमा रहने केन्द्रीय बैँकको प्रमुख हुन्छ र देशको अर्थनीति, मौद्रिक नीति आदिमा सरकारलाई यस बैँकको सरसल्लाह र सहयोग रहन्छ । त्यो भन्दा पनि यस क्षेत्रका व्यक्तिका लागि गभर्नर पद एक आकर्षक पद हो, जसका लागि बैंकिङ तथा आर्थिक ‘करियर’ मा लागेका धेरै मानिसहरु लालायित हुन्छन् । नहुन् पनि किन जसको हस्ताक्षर गरिएको नोट नै देशमा प्रचलनमा आउँछ ।

यो पद कुनै पनि व्यक्तिका लागि कति आकर्षक तथा चाहनाको पद हुन्छ भन्ने कुरा अघिल्ला गर्भनर डा.चिरञ्जीवी नेपालले आफ्नो कार्यकाल सकिएकै दिन जाँदाजाँदै दिएको एक अन्तर्वार्तामा भनेका थिए– म यो देशको गर्भनर बन्छु र नोटमा हस्ताक्षर गर्छु भनेर सपनामा पनि सोचेको थिइन । अझ बडो गर्वका साथ उनले भनेका थिए– मलाई जोजसले विरोध गरे, असफल बनाउन खोजे तिनीहरुले पनि मैले नै हस्ताक्षर गरेको नोट त चलाउँछन् नि ।

पैसा अर्थात् नोट मानिसको सबैभन्दा प्रिय वस्तु हो । नेपालमा मात्र नभएर विश्वकै मानिसको । यति महत्वपूर्ण वस्तुमा आफ्नो हस्ताक्षर चल्ने भएपछि त्यस्तो व्यक्तिले पनि आफ्नो जीवनको एक ठूलो सफलता प्राप्त गरेको दिनका रुपमा यो नियुक्तिलाई लिन्छन् नै । त्यसैले आज हामीले पनि गभर्नरले नोटमा गर्ने हस्ताक्षरलाई एक जनचासोका रुपमा यहाँ प्रस्तुत गरेका हौँ । यो हो आज नियुक्त गभर्नर महाप्रसाद अधिकारीले नेपाली नोटमा गर्ने हस्ताक्षरको नमूना ।