२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट भारतमा एकै दिन २८ जनाको मृत्यु, मृतकको संख्या सय नाघ्यो



अ+ अ-

काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतमा कोरोना भाइरसबाट १ सय ११ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ हजार २ सय ८१ जना पुगेको छ । स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार देशभरमा तीन सय १८ जना निको भएका छन् ।

बितेको २४ घण्टामा भारतमा २८ जनाको मृत्यु भएको छ भने सात सय चार जनामा कोभिड १९ को सक्रमण देखिएको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार ६ अप्रिलमा देशभर एक लाख एक हजार ६८ जनामा कोभिड १९ संक्रमणको परीक्षण गरिएको थियो ।

महाराष्ट्रमा सोमबार एक सय २० नयाँ संक्रमण भेटिएको छ भने सात जनाको मृत्यु भएको छ । त्यहाँ मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ भने राजधानी दिल्लीमा मृतक संख्या सात पुगेको छ ।

मध्य प्रदेशमा सोमबार ६३ वटा नयाँ संक्रमण भेटिएको छ । त्यहाँको भोपाल जिल्लामा मात्र ४३ जना संक्रमित भएका छन् । मध्य प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या दुई सय ५६ पुगेको छ ।

सोमबार तेलंगाना राज्यमा ३० जनामा नयाँ संक्रमण भेटिएको छ । यहाँ संक्रमितको संख्या तीन सय आठ र मृतक संख्या ११ पुगेको छ ।

आन्ध्र प्रदेशमा सोमबार ३७ नयाँ संक्रमित थपिएपछि यहाँ कुल संक्रमितको संख्या तीन सय तीन पुगेको छ । केरलामा सोमबार १३ संक्रमित थपिएपछि संक्रमितको कुल संख्या तीन सय २७ पुगेको छ ।