१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान

वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइराख्छु – नवनियुक्त गभर्नर

वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइराख्छु – नवनियुक्त गभर्नर
अ अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पदबहाली गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि अधिकारी केन्द्रीय बैंकको कार्यालय बालुवाटार पुगेर पदबहाली गर्नुभएको हो ।

नवनियुक्त गभर्नर अधिकारीको स्वागतका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलगायतका उच्चपदस्थ कर्मचारी बैंक परिसरमा उपस्थित हुनुहुन्थ्यो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतसमेत रहनु भएका अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो ।

विसं २०७३ मा डेपुटी गभर्नरबाट अवकाश हुनु भएका अधिकारी पछिल्लो चार वर्षदेखि बोर्डको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो । ‘गोरखा भूकम्प’को समयमा समस्यामा परेको मुलुकको आर्थिक तथा बैंकिङ क्षेत्रमा तत्कालीन गभर्नर चिरञ्जीवी नेपालसँग करिब आठ महिना डेपुटी गभर्नर भएर काम गर्नुभएका अधिकारीले संसारलाई नै समस्यामा पारेको कोरोना भाइरसबाट नेपालको वित्तीय क्षेत्रलाई जोगाउने जिम्मेवारी पाउनु भएको छ ।

पदवाहाली लगत्तै उहाँले गर्नुभएको पहिलो नीतिगत निर्णय पनि सोही सेरोफेरोमा नै केन्द्रीत रहेको छ । कोरोनाका कारण नेपालको वित्तीय क्षेत्रमा परेको असर अध्ययन गर्न उहाँले कार्यदल नै गठन गर्नुभएको छ । कार्यदलमा रहने सदस्यका बारेमा भने केन्द्रीय बैंकले केही बताएको छैन ।

पदवाहालीपछि उहाँले भन्नुभयो, “आज मात्रै पहिलो नीतिगत निर्णयको रुपमा कोरोनाको असर अध्ययन गर्न कार्यदल बनाउने तथा नियमित अनुगमन गर्ने निर्णय भएको छ । त्यसले समग्र अर्थतन्त्रको अवस्थामा कस्तो प्रभाव पर्छ भनेर अध्ययन प्रतिवेदन तयार पारेर कार्यान्वयनका लागि सुझाउनेछ ।”यसअघि नै राष्ट्र बैंकले केही राहतका कार्यक्रम ल्याइसकेको छ । त्यसलाई निरन्तरता दिँदै समग्र क्षेत्रमा असर कस्तो पर्छ भन्नेतर्फ विशेष चासोका साथ काम गरिने उहाँको भनाइ छ ।

निजी क्षेत्रसँग असाध्यै नजिक रहेर काम गरेर आएको जानकारी दिँदै उहाँले आफू निजी क्षेत्र मैत्री भएर नै काम गर्ने प्रतिबद्धता जनाउनुभयो । केन्द्रीय बैंकले यसअघि अगाडि बढाएका राम्रा नीति तथा कार्यक्रमलाई अगाडि बढाउने उहाँको थप प्रष्टोक्ति थियो । कोरोनाका कारण अहिले सबै क्षेत्र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले विगतमा अर्थतन्त्रको एउटा क्षेत्रमा समस्या आउँदा अर्को क्षेत्रले सहयोग गर्ने स्थिती रहेपनि हाल त्यस्तो नभएकाले सोची विचारी नै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको कारण संसार भर नै समस्यामा परेको छ । त्यसलाई व्यवस्थित गर्न र काम चलाएर लैजान पनि चुनौतीपूर्ण पनि उत्तिकै छ ।” उहाँले कोरोनाका कारण प्रत्येक घरको चुल्होमा समस्या परेको सन्दर्भ जोड्दै समस्याबाट पार पाउने र निस्कने उपायको खोजीमा समेत आफू लागि पर्ने प्रतिवद्धता जनाउनुभयो ।
व्यापार व्यवसाय गर्ने, आर्थिक क्षेत्रमा काम गर्ने तथा वित्तीय क्षेत्रमा समेत समस्या देखिएको भन्दै उहाँले वित्तीय क्षेत्रप्रति आम जनताको विश्वास कायम राख्नेतर्फ नै आफू लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “फाइनान्सियल क्षेत्रमा पब्लिकको विश्वासलाई जोगाएर राख्न विभिन्न खालका उपकरण प्रयोग गर्नुपर्छ । यो संवेदनशील क्षेत्र हो, चुनौतीपूर्ण पनि छ । यो नेपालको मात्रै चुनौती होइन, संसारभरकै हो । कुनै एउटा सेक्टरमा हुँदा अन्यत्रले सहयोग गर्न सक्थे । अहिले अवस्था त्यस्तो पनि छैन ।”

नेपाल राष्ट्र बैंकको स्वायत्तताको विषयमा सोधिएको एक जिज्ञासामा उहाँले केन्द्रीय बैंक संसारभर जहाँसुकै पनि स्वायत्त हुने भएकाले त्यसमा आफू सजग रहेको बताउनुभयो । राष्ट्र बैंक आफैँमा सशक्त संस्था भएको तथ्य पेश गर्दै नवनियुक्त गभर्नर अधिकारीले कुनै एउटा व्यक्तिभन्दा पनि आफू सामूहिक रुपमा नै काम गर्न मन गर्ने भएकाले सबैसँग मिलेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “म सधैँभरी भुङ्ग्रोमा खेल्न आए जस्तो लाग्छ । डेपुटी गभर्नरमा रहँदा पनि भूकम्प आयो । अहिले पनि कोरोनाको प्रभाव परेको छ ।”

कोरोना महामारीका बीचमा आफू केन्द्रीय बैंकका आएको भएपनि प्रतिस्पर्धा गर्ने डेपुटी गभर्नरसँग सहकार्य गर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मसँगै प्रतिस्पर्धा गर्नुभएको डेपुटी गभर्नर अझै १० महिना बस्नुहुन्छ । यो समयमा धेरै काम गर्न सकिन्छ ।” उहाँले भूकम्पको समयमा आफूले पनि आठ महिनाको अवधिमा धेरै काम गरेको उहाँले स्मरण गर्नुभयो ।