२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिक्तेल–दुम्ली सडक नियमित सञ्चालनमा ल्याउन श्रमदान अभियान



अ+ अ-

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित आचार्यगाउँका स्थानीयले सडक मर्मत गर्न जनश्रमदान अभियान सुरु गरेका छन् ।

दिक्तेल–दुम्ली–रतन्छा खण्डमा पर्ने करिब नौ दशमलव पाँच किलोमिटर सडक मर्मत गरेर बाह्रैमहिना यातायात सञ्चालन गर्ने उद्देश्यले स्थानीयले जनश्रमदान अभियान सुरु गरेका हुन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित आचार्यगाउँको बसपार्कबाट मेवाखोलासम्मको सडक जनश्रमदानमार्फत मर्मत गर्नका लागि स्थानीय मदन आचार्यको संयोजनमा दैनिक ६० जना स्थानीय सहभागी हुँदै आएका छन् । दैनिक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म करिब हप्ता दिनसम्म सञ्चालन हुने यस जनश्रमदान अभियानका क्रममा सडकका खाल्डाखुल्डी पुर्ने, ढुङ्गा हाल्ने, सडक सम्याउनेलगायत काम भइरहेको अभियानका संयोजक आचार्यले बताउनुभयो ।

दिक्तेलस्थित आचार्यगाउँको बसपार्कमा आज औपचारिक कार्यक्रम गरेर सुरुवात गरिएको जनश्रमदान अभियानमा वृद्धवृद्धादेखि युवासम्म तथा महिला र केटाकेटी सबै उमेर समूहका स्थानीय स्वतःस्फूर्त रूपमा जुटेका छन् । अवरुद्ध सडक मर्मतका लागि नगरपालिकासँग पटकपटक अनुरोध गर्दा पनि काम नभएपछि स्थानीयले आफैँं जुटेर जनश्रमदान अभियान थालेका हुन् ।

अवरुद्ध सडक मर्मतपछि बिरामी बोक्ने एम्बुलेन्स सहजै सञ्चालन हुने, बेँसीबाट धान, पराल, दाउरा ल्याउन सजिलो हुने र चाडपर्वका समयमा आवागमन हुने अपेक्षा गरिएको स्थानीय टङ्कप्रसाद आचार्यले बताउनुभयो । “हिउँद लागेसँगै बेँसीबाट धान र दाउरा ल्याउन आवश्यक पर्दछ । बाटो नराम्रो हुँदा हिँड्न पनि कठिन छ । त्यसैले अहिलेको श्रमदान हाम्रो बाध्यता हो”, उहाले भन्नुभयो, “सडक स्तरोन्नतिका लागि नगरपालिकाले रु १५ लाख बजेट विनियोजना गरेको छ । नगरपालिकाले उपलब्ध गराएको बजेटले ग्राभेल हाल्ने तयारी गरिएको छ ।”

वर्षाद्को समयमा अवरुद्ध हुँदै आएको सडक मर्मतका लागि नगरपालिकामा पटकपटक अनुरोध गर्दासमेत सुनुवाइ नभएपछि जनश्रमदान अभियान सुरु गरिएको स्थानीय झमप्रसाद आचार्यले बताउनुभयो । “नगरपालिकासँग जेसिभी भए पनि हाम्रो सडक मर्मतका लागि कहिल्यै प्राथमिकता दिइएन ।

हामीले धेरै पटक गएर आग्रह गर्‍यौँ, तर कहिल्यै सुनुवाइ भएन”, उहाँले भन्नुभयो, “अन्तमा जनता आफैँ जुटेर सडक मर्मत गर्नुपर्ने अवस्था सिर्जना भयो । वर्षाद्को पानीले अवरुद्ध सडक बाह्रैमहिना सञ्चालनमा ल्याउन स्थानीयको सक्रियतामा जनश्रमदान अभियान थालेका हौँ ।”

जनश्रमदानमार्फत सडक मर्मत गरेपछि बिरामी ओसारपसारका साथै एम्बुलेन्स, अटो, मोटरसाइकल र ट्र्याक्टर सहज रूपमा सञ्चालन हुने स्थानीयले विश्वास गरेका छन् । वर्षायाममा बिरामीलाई स्ट्रेचरमा बोकेर लैजानुपर्ने अवस्था अब अन्त्य हुने आशा गरिएको स्थानीयले बताएका छन् ।

विसं २०६५ मा निर्माण गरिएको सडक अवरुद्ध हुँदा आचार्य गाउँका करिब आठ सय परिवार तथा छिमेकी स्थानीय तह साकेला गाउँपालिकाको रतन्छा र बाँझेच्यानडाँडाका स्थानीयले सास्ती खेप्दै आएका छन् ।

निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडक मर्मत तथा स्तरोन्नतिमा तीनवटै तहका सरकारले चासो नदिँदा आफूहरूले समस्या भोग्नु परेको स्थानीयले बताएका छन् । रासस