काठमाडौँ। प्रहरीले काठमाडौँको टोखा नगरपालिका–२ चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बूको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुपबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरूले वादविवादको क्रममा फलामको रड प्रहार गर्दा राम गम्भीर घाइते भएको र रड प्रहारबाट गम्भीर घाइते भएका रामको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई गए राति पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।रासस










