काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको हो ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक पहिलो पटक बस्न लागेको हो । प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवामाथि उनीहरुकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो ।
प्रदर्शनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालयलगायत पार्टीका विभिन्न जिल्ला कार्यालयलगायत विभिन्न नेताका घरमासमेतमा आगजनी र तोेडफोड भएको थियो । उक्त प्रदर्शन पछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहस सुरु भएको छ ।
बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ । २६ गतेको केन्द्रीय समितिको बैठकमा भने सभापति देउवा उपस्थित हुने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।













