१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द

मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
अ अ+ अ-

काठमाडौँ । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र तिहारजस्ता पर्वमा विशेषगरी आन्तरिक पर्यटनको चहलपहल बढी हुन्छ । पर्यटक आगमनका दृष्टिले यो मुख्य याम पनि हो । पर्यटनको ‘सिजन’ सुरु हुने समयमा भएको जेनजी आन्दोलनले यस क्षेत्रले अपूरणीय क्षति बेहोर्नु परेको छ । कैयौँ पर्यटकीय संरचनामा अकल्पनीय हानिनोक्सानी भएको छ । परिणामतः पर्यटकीय गन्तव्यमा पर्यटकको आगमन निराशाजनक छ ।

विगतका दसैँमा भरिभराउ हुने बन्दीपुरका होटल तथा ‘होमस्टे’ले पर्यटक पर्खिरहेका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार विगतका दसैँ तथा तिहारजस्ता पर्वमा शतप्रतिशत ‘अकुपेन्सी’ हुने बन्दीपुरका होटल तथा होमस्टेमा अहिले मुस्किलले एक सय पर्यटक छन् ।

“गत भदौमा आन्दोलन दैनिक एक हजारभन्दा बढी पर्यटक बन्दीपुर आइरहेका थिए, तर आन्दोलनपछि पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा घटेको छ, यसले बन्दीपुर भ्रमण वर्ष २०२५ प्रभावित हुन्छ कि भन्ने संशय पैदा भएको छ ।”

आन्दोलनको असर बागलुङ कालिका मन्दिरमा पनि परेको छ । विशेष गरी बडादसैँ र चैते दसैँमा मन्दिरमा ठूलो मेला लाग्छ । तर यसपटक भने मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या करिब ५० प्रतिशतले घटेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ ।

पर्यटकीय गन्तव्य चितवनको सौराहमा पनि यसपटक उल्लासमय वातावरण नभएको क्षेत्रीय होटल सङ्घ सौराहका पूर्वअध्यक्ष दीपक भट्टराईले बताउनुभयो । उहाँका अनुसार जेनजीको आन्दोलनपश्चात् सौराह आउने पर्यटक उल्लेख्य रुपमा घटेका छन् । “विगतका वर्षमा दसैँ अगाडि होटलमा ८० देखि ९० प्रतिशत बुकिङ हुन्थ्यो, आन्तरिक र विदेशी पर्यटकको ठूलो उपस्थिति हुन्थ्यो, तर अहिले सबै बुकिङ रद्द भएर पाँच प्रतिशतको हाराहारीमा सीमित भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सौराहमा पर्यटकस्तरीय २०० होटलमा छ हजार कोठा छन् ।

पूर्वअध्यक्ष भट्टराई जेनजी आन्दोलन र बाटो बिग्रिएकाले पनि होटल बुकिङ रद्द हुनेक्रम बढेको बताउनुहुन्छ । उहाँका अनुसार सबैभन्दा धेरै विदेशी पर्यटकले बुकिङ रद्द गरेका छन् । “दसैँदेखि तिहारसम्मको समयमा विदेशी पर्यटकको बुकिङ थियो, उनीहरुले तिहारपछि सम्मको बुकिङ रद्द गरिसकेको अवस्था छ”, उहाँले भन्नुभयो ।

क्षेत्रीय सिद्धार्थ होटल सङ्घका अध्यक्ष सिपी श्रेष्ठले पनि जेनजी आन्दोलनपछि लुम्बिनी आउने पर्यटक उल्लेख्य घटेको बताउनुभयो । “अक्टोबरदेखि पर्यटन सिजन हुन्छ, त्यसभन्दा अगाडि बुकिङ निकै राम्रो थियो, आन्दोलनपछि ९० प्रतिशत बुकिङ रद्द भएको छ, यो अवस्था केही समय लम्बिने देखिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार भैरहवा, लुम्बिनी र भारतीय सीमा क्षेत्रमा गरी पर्यटक स्तरीय १४६ होटल छन् । जसमा पाँच हजार बेड सङ्ख्या छन् । उहाँका अनुसार आन्दोलनपछि भारतमा पनि राम्रो सन्देश नगएकाले उनीहरु पनि आउन सकेका छैनन् ।

जेनजी आन्दोलनको असर बर्दियामा पनि परेको छ । क्षेत्रीय होटल सङ्घ बर्दियाका अध्यक्ष मोहन चौधरीले भन्नुभयो,  “आन्दोलनपछि होटलको बुकिङ रद्द भएको छ, यहाँ आउने भारतीय पर्यटक पनि नआएको अवस्था छ, अहिले होटलमा पाँच प्रतिशत पनि अकुपेन्सी छैन ।” विशेष गरी बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरुको सङ्ख्या घटेसँगै होटल बुकिङ पनि रद्द भएको उहाँको भनाइ छ । बर्दियामा ४० वटा साना र ठूला होटल तथा होमस्टेमा एक हजारको हाराहारीमा बेड सङ्ख्या छ ।

जेनजी आन्दोलनको प्रभाव पर्यटन राजधानी पोखरामा पनि परेको छ । दसैँको समयमा गुल्जार हुने पोखरा बजार यतिबेला सुनसान जस्तै भएको होटल सङ्घ नेपाल (हान) गण्डकी प्रदेशका अध्यक्ष हरिप्रसाद शर्मा गैरेको भनाइ छ ।

“यसपटक हामी पर्यटकीय सिजनको उत्साहका साथ पर्खाइ र तयारीमा थियौँ, अक्टोबरदेखि डिसेम्बरसम्मको बुकिङ निकै राम्रो थियो, तर आन्दोलनपछि डिसेम्बरसम्मको होटल बुकिङ रद्द भएको अवस्था छ”, उहाँले भन्नुभयो, “यसबाट हामीलाई ठूलो क्षति पुगेको छ ।” विशेष गरी कोरोना महामारीपछि यस वर्ष नेपालको पर्यटन क्षेत्रले पुनरुत्थानको चरण पार गर्छ भन्ने अवस्थाबाट फेरि शून्य अवस्थामा आइपुगेको उहाँको बुझाइ छ ।

“जसरी आन्दोलनका क्रममा पाँचतारे होटलबाट स्वीमिङ गर्दै गरेका पर्यटकलाई उद्धार गर्ने काम भयो र ती भिडियो भाइरल बनाइयो, यसले निकै गलत सन्देश प्रवाह भयो”, उहाँले भन्नुभयो, “त्यसबाहेक आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दीको डर र सडक अवरुद्ध भएका कारणले पनि आन्तरिक पर्यटन चलायमान हुने अवस्था भएन ।” उहाँले आन्दोलनका क्रममा गण्डकी प्रदेशमध्ये कास्की सबैभन्दा बढी प्रभावित भए पनि समग्र प्रदेशकै अवस्था राम्रो नभएको बताउनुहुन्छ । उहाँका अनुसार प्रदेशमा १६ हजार होटल र रेष्टुरेन्ट छन् । जसमा यतिबेला बुकिङ पाँच प्रतिशत पनि छैन । विगतका विभिन्न कालखण्डमा पटकपटक भइरहेका आन्दोलन र महामारीलगायतका घटनाक्रमले दक्ष जनशक्ति पलायन भइरहेको उल्लेख गर्दै उहाँले व्यवसायीको पनि मनोबल घटेको बताउनुभयो ।

‘रिकभर’को चरणमा छ पर्यटन

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जेनजीको आन्दोलनपछि पर्यटक क्षेत्र ‘रिकभर’को चरणमै रहेको बताउनुहुन्छ ।

“गत भदौ २३ र २४ गतेको आन्दोलनअघिसम्म विदेशबाट औसतमा दैनिक तीन हजार ३०० पर्यटक आइरहेकामा आन्दोलनको साता यो सङ्ख्या एक हजार ६०० मा झरेको थियो, यस साता भने दुई हजार ९०० पर्यटक नेपाल आएका छन्”, जोशीले भन्नुभयो, “त्यसैले यो पर्यटन क्षेत्रका लागि रिकभरकै समय हो ।” सिइओ जोशीले हरेक सङ्कटमा सरकार र निजीक्षेत्र एक भएर पर्यटन पुनरुत्थानमा लागेको, नेपाल सुरक्षित र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तरराष्ट्रिय समुदायमा पुगेको बताउनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले निजी क्षेत्रको सहकार्यबिना पर्यटन विकास सम्भव नभएको र मन्त्रालयले नीति र कानुनी अड्चन फुकाउन सधैँ खुला रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत भदौमा भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा क्षति भए पनि निजी क्षेत्रले उच्च मनोबलका साथ पर्यटन उद्योगलाई उठाउन लागेको देख्दा खुसी लागेको छ । निजी क्षेत्रका समस्याहरु समाधानका लागि सहजीकरण गर्न मन्त्रालय सधैँ तयार छ ।”

त्यसैगरी मन्त्रालयका सहसचिव इन्दु घिमिरेले छोटो अवधिमै पनि पर्यटनले रिकभरी गर्दै गरेको उल्लेख गर्दै सरकार व्यवसायीहरूसँगै उभिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटनको रिकभरी सँगसँगै दिगो रुपान्तरणका लागि सबैसँग हातेमालो गर्न आवश्यक छ, पर्यटन क्षेत्र सरकार एक्लैले वा निजी क्षेत्र एक्लैले मात्र पूर्ण नहुने भएकाले सरकार र निजी क्षेत्र सँगसँगै हिँड्न आवश्यक छ । यसका लागि आवश्यक वातावरण तयार गर्न मन्त्रालय प्रतिबद्ध छ ।”

कहाँ कहाँ भयो क्षति ?

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा पर्यटकीय पूर्वाधारमाथि आक्रमण भयो । प्रदर्शनकारीले होटलहरुमा तोडफोड, लुटपाट र आगजनी गरे । होटल सङ्घ नेपाल (हान)का अनुसार आन्दोलनका क्रममा होटलमाथि भएको तोडफोड, लुटपाट र आगजनीका कारण रु २५ अर्ब बराबरको क्षति भएको छ ।

आन्दोलनका क्रममा बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा भएको आक्रमणपछि बन्द भएको छ । होटलका अनुसार होटल पुनःनिर्माण भई सञ्चालनमा आउनका लागि करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ । होटलको क्यासिनो, रेष्टुरेन्ट तथा प्रवेशद्वारमा तोडफोड र आगजनी गरिएको छ । साथै केही सवारीसाधनमा आगजनी तथा तोडफोड गरिएको छ ।

काठमाडौँमा रहेको अन्तरराष्ट्रिय चेन होटल हिल्टनको मात्रै रु आठ अर्ब बराबरको क्षति भएको छ । राजनीतिक व्यक्ति जोडिएको भन्ने हल्ला चलाएर दाङको माला इन, मोरङको नेपालीरिका होटलमाथि आक्रमण भएको सम्बद्ध पक्षले जनाएका छन् । यसैगरी पोखराको सरोवर होटल, बगैँचा रिसोर्ट, गुडबिल होटल, अशुंभरा होटलमा आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको छ ।

त्यसैगरी काठमाडौँको वर्णबास होटल पनि आक्रमणको सिकार भएको छ । आइएमई समूहले निर्माण गरेको चन्द्रागिरि केबलकारको बेसस्टेशनमा लुटपाट र तोडफोड भएको छ । आगजनीका कारण केबलकार बन्द छ । सोही समूहले सञ्चालन गरेको मौलाकालिका केबलकारमा ठूलो क्षति पुगेको छ । चन्द्रागिरिको केबलकार मर्मतपछि तत्कालै सञ्चालनमा आउने सम्भावना भए पनि मौलाकालिकाको सञ्चालन भने अनिश्चित रहेको ढकालको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको आइएमई समूहले सातै प्रदेशमा केबलकार निर्माण गर्ने योजना अगाडि सारेको थियो । सोही क्रममा पूर्वको पाथीभरामा केबलकार निर्माणका लागि स्थापना गरिएको कार्यालयमा आक्रमण र तोडफोड भएको जनाइएको छ ।