काठमाडौँ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा ज्ञवालीले अबको पुनःनिर्माण भौतिक मात्रै नभएर आर्थिक पुनरुत्थान आवश्यक रहेको बताउनुभएको हो ।
भूकम्पपछिको पुनःनिर्माणमा छुट्टै संस्था खडा गरेर बैंकिङ च्यानलमार्फत रकम दिँदा सफल भएको बताउँदै उहाले भूकम्पछि धेरै युवाहरुको सहयोग जस्तै अब पनि आत्मबल बढाएर गरेर अघि बढ्नु पर्ने बताउनु भयो । सरकारले अबका कार्यक्रम बनाउँदा आर्थिक क्षेत्रसँग जोडर बनाउनुपर्ने बताउँदै उहाँले युवालाई शिक्षा सीपसहित विकास गर्न आवश्यक रहेको बताउनु भयो । नेपालको संविधानले ३ तहको सरकारको परिकल्पना गरेको छ ।
जेन—जी आन्दोलनपछि केन्द्रिय सरकासँग बढी अपेक्षा गरिएको भएपनि प्रदेश र स्थानीय तहमार्फत धेरै विषय समस्या समाधान गर्न सकिने ज्ञावलीले बताउनु भयो । ‘श्रीलंकामा आन्दोलन हुँदा त्यहाँको अर्थतन्त्र नकरात्मक अवस्थामा रहेको थियो । नेपालको अर्थतन्त्रका सूचक राम्रो अवस्थामा छन् ।’ ज्ञवाली भन्नुहुन्छ,‘अब निजी क्षेत्रको विश्वास जितेर जानसक्दा छिटो नै अर्थतन्त्रको पुनरुत्थान हुनसक्छ ।’
सरकारी नीति नियमको कारण परिणाममा भन्दा प्रक्रियामा भुल्ने गरेकोमा परिवर्तन हुनुपर्ने बताउँदै उहाँले बैदेशिक लगानी भित्राउनको लागि सार्वजनिक निजी साझेदारीको मोडलमा नै अघि बढ्नुपर्ने बताउनु भयो । ‘लगानी बोर्डका लामो समयदेखि वन स्टप सर्भिस सेन्टरको प्रणाली छ । तर त्यसको कार्यन्वयन राम्रोसँग हुन सकेको थिएन,’ उहाँले भन्नुभयो,‘अध्यादेशबाट कानून संशोधन भएर कर्मचारीलाई अधिकारसहितको जिम्मेवारी दिएका छौं । अब कार्यविधि बनाएर त्यसलाई छिटो कार्यन्वयन गर्छौं । सरकार परिवर्तन हुनासाथ नीति परिवर्तन हुँदा वैदेशिक लगानीकर्तामा विश्वास पैदा हुन सकेको छैन ।’
लगानी बोर्डको संरचना नै परिवर्तन गरेर बोर्डमा सरकार र विपक्षी दलसहितका प्रतिनिधि हुनेगरी अघि बढेको र अब त्यसमा थप छलफल गरेर टुंगाउनुपर्ने उहाँको भनाइ छ ।










