५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

झोला उद्योगबाट रोजगारी सृजना गर्दै तारादेवी

झोला उद्योगबाट रोजगारी सृजना गर्दै तारादेवी
अ+ अ-

भद्रपुर । बुद्धशान्ति गाउँपालिका–३ प्रगतिटोल पुग्दा एउटा महिलाको सङ्घर्ष र सफलताले भरिएको कथा भेटिन्छ । नम्र स्वभाव, अनी आत्मविश्वासले भरिपूर्ण अनुहार । आफ्नै घरको भुइँतलामा चलिरहेको सानो तर व्यस्त कार्यशालामा कपडाको थुप्रो, रङ्गीचङ्गी धागा, काट्न प्रयोग गरिने कैची र सिलाइ मेसिनको निरन्तर आवाजले उद्योगको जीवन्तता झल्काउँछ । यही ठाउँ हो– शीतला झोला उद्योग, जसको नाम अहिले बुद्धशान्तिमात्र होइन, कोशी प्रदेशका विभिन्न जिल्लासम्म परिचित भइसकेको छ ।

यस उद्योगकी सञ्चालक हुनुहुन्छ तारादेवी अधिकारी । उहाँ सामान्य गृहिणीमात्र नभएर, सङ्घर्ष र सीपलाई आधार बनाउँदै आत्मनिर्भर बन्न खोज्ने अनि अरु महिलालाई पनि त्यसै मार्गमा डोहोर्याउने उद्यमी हुनुहुन्छ । आजभन्दा करिब १२ वर्षअघि तारादेवीले घरेलु तथा साना उद्योगको समन्वयमा सिलाइकटाइ तालिम लिनुभएको थियो । तालिमपश्चात आफ्नै मेसिन नभएकाले उहाँले केही वर्ष मेसिन भाडामा लिएर कपडा सिलाउने काम गर्नुभयो । त्यही क्रममा एक दिन उहाँले उत्सुकतावश सिलाइको कपडाबाट बाँकी रहेको कपडाबाट तीनवटा सामान्य सुर्की झोला बनाएर आफ्नै पसलमा राख्नुभयो । ती झोला तुरुन्तै बिक्री भए । निरन्तर एक सातासम्म तारादेवीले दिनमा तीन–चारवटा झोला बनाएर पसलमा राख्दा पनि माग बढ्दै गयो । यही सफलताले उहाँलाई झोला उत्पादनलाई उद्यमका रूपमा अगाडि बढाउने प्रेरणा दिएको तारादेवी स्मरण गर्नुहुन्छ ।

त्यसपछि २०७६ सालदेखि स्थानीयमा उपलब्ध हुने कच्चा पदार्थ ढाका, अल्लोलगायतबाट झोला बनाउन तारादेवीले उद्योग खोल्नुभयो । हाल उहाँले सञ्चालन गर्दै आएको उद्योगबाट विभिन्न आकार, प्रकार र डिजाइनका झोला उत्पादन हुने गरेका छन् । मूल्य दायरा रु ५० देखि रु तीन हजार ५०० सम्मको छ । सस्तो मूल्यका झोलादेखि उच्च गुणस्तरका डिजाइनर झोलासम्म यहाँ उपलब्ध हुन्छन् । झोलाका लागि चाहिने कच्चा पदार्थ काठमाडौँ, भारतको सिलुगुडीबाट आउने गरेको तारादेवी बताउनुहुन्छ ।

उद्योगमा अहिले १८ महिलाले नियमित रोजगार पाउनुभएको छ भने थप १५ जना आंशिक रूपमा संलग्न हुनुहुन्छ । उहाँहरू आ–आफ्नो घरधन्दा सकेर दिउँसो केही घण्टा उद्योगमा काम गर्न आउनुहुन्छ । दक्षताका आधारमा महिलाले मासिक रु २० हजारदेखि रु ३० हजारसम्म कमाइ गर्ने गरेका छन् । यसरी घरपरिवार चलाउनेमात्र होइन, आफ्नै श्रमबाट आर्थिक रूपमा सशक्त बन्न पाउँदा उहाँहरूले गर्व र खुसी अनुभव गर्ने गरेको तारादेवी बताउनुहुन्छ ।

शीतला झोला उद्योगको उत्पादन अहिले झापा जिल्लामै सीमित छैन । कोशी प्रदेशका अधिकांश पहाडी जिल्लामा मात्र होइन, सुदूरपश्चिमको कञ्चनपुरसम्म झोलाको माग पुग्छ । भीमदत्त नगरपालिकाबाट नगरसभाका सदस्यहरूलाई वितरण गर्नका लागि गत असारमा मात्र एक सय १० झोलाको माग आएको थियो, जुन तारादेवीले चार दिनभित्र तयार गरेर पठाउनुभयो । कोभिड–१९ का कारण देशभर बन्दाबन्दी भयो त्यही समयमा आफ्नो झोला उद्योगले राम्रो बजार पाएको तारादेवी बताउनुहुन्छ ।

यसका अतिरिक्त उद्योगका झोला बुद्धशान्ति गाउँपालिकाले आफ्ना सामुदायिक विद्यालयका विद्यार्थीलाई वितरण गरेको छ । त्यसबाहेक सङ्खुवासभाको खाँदबारी, इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुरलगायत जिल्लामा पनि झोला पुग्ने गरेको छ । झोला उत्पादनमात्र नभई तारादेवी तालिम दिने काममा पनि सक्रिय हुनुहुन्छ । स्थानीय तह, सामुदायिक संस्थाले माग गरेअनुसार उहाँले महिलालाई झोला सिलाइ तालिम दिनुहुन्छ । यसरी तालिम पाएका महिलाले पनि आफ्नै क्षेत्रमा सानो स्तरमा भए पनि झोला उत्पादन सुरु गर्ने अवसर पाएका छन्

“तालिमले महिलालाई सीप दिन्छ, सीपले आत्मबल बढाउँछ, आत्मबलले रोजगारी र आयआर्जन ल्याउँछ”, तारादेवीले भन्नुभयो । उहाँले झोला उत्पादन सुरु गर्नुभएको केही वर्षमै यसैबाट भएको नाफाले बुद्धशान्ति–३ प्रगतीटोलमै जग्गा किन्नुभयो र तीनतले घर पनि निर्माण गर्नुभयो । हाल उद्योग सोही घरको भुइँतलामा सञ्चालन भइरहेको छ । उद्योगबाट खर्च कटाएर वार्षिक करिब रु १५ लाख नाफा हुने गरेको उहाँले बताउनुभयो ।

यतिमात्र होइन, आफ्ना उत्पादनलाई बजारसम्म पुर्याउन तारादेवीले नयाँ पुस्ताले प्रयोग गर्ने प्रविधि आत्मसात् गर्ने गर्नुभएको छ । फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका साथै स्थानीय मेला हाटबजारमार्फत प्रचारप्रसार गर्दै उहाँले बजार विस्तार गरिरहनुभएको छ । शीतला झोला उद्योग केवल एक व्यावसायिक उपक्रममात्र होइन, यो महिलालाई आत्मनिर्भर र सशक्त बनाउन बनाइएको एक खम्बा हो । यहाँ काम गर्ने महिलाले आफ्नो परिवार चलाउनमात्र होइन, समाजमा आर्थिक रूपमा योगदान गर्न पाउँछन् । धेरै महिलाले उद्योगबाट कमाएको पैसाले छोराछोरीको शिक्षा, स्वास्थ्य र घरधन्दा चलाइरहेका तारादेवी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “मलाई सबैभन्दा ठूलो सन्तुष्टि महिलालाई सीप सिकाएकामा छ, आत्मबल दिएको छ, आम्दानीको बाटो देखाएको छ ।” तारादेवीको योजना अझ ठूलो छ । आगामी दिनमा देशका विभिन्न स्थानमा तालिम सञ्चालन गर्दै महिलालाई रोजगारी सृजना गर्ने वातावरण बनाउन उहाँ चाहनुहुन्छ । साथै, उत्पादनलाई अझ गुणस्तरीय र आकर्षक बनाउन नयाँ प्रविधि र डिजाइनमा लगानी गर्ने तयारी पनि छ ।

तारादेवीको कथा केवल व्यक्तिगत सफलताको कथा होइन । यो कथा हो– सङ्घर्षबाट उद्यमिता जन्मिन सक्ने, सीपलाई प्रयोग गरेर समाज परिवर्तन गर्न सक्ने र महिलाले पनि ठूलो योगदान दिन सक्ने प्रमाण । झापाको एउटा सानो गाउँबाट सुरु भएको उहाँको यात्रा आज महिलाको आत्मनिर्भरता, श्रमको सम्मान र सफलताको प्रतीक बनेको छ । तारादेवीको दृढता र लगनशीलताले देखाएको बाटो अरू महिलाका लागि प्रेरणादायी बन्न पुगेको छ । रासस