काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्मा आज पाँच जनालाई नियुक्त गर्दै छन् । नियुक्त हुने मन्त्रीलाई आजै सपथ गराउने तयारी छ ।
प्रधानमन्त्री सुशीला कार्कीले हिजो ५ मन्त्रीको नाम सिफारिस गरेकी थिइन् । मन्त्री नियुक्तिका लागि अनिलकुमार सिन्हा, डा. संगीता कौशल मिश्रा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलको नाम राष्ट्रपतिसमक्ष सिफारिस भएको हो ।
राष्ट्रपति पौडेलले आज उनीहरुलाई नै मन्त्रि नियुक्त गरेर सपथ गराउने छन् । मन्त्रीहरूको शपथ ग्रहण दिउँसो २ बजे गर्ने तयारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, पुनलाई शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी दिनेगरी सिफारिस गरिएको छ । परियारलाई कृषि तथा पशुपन्छी विकास र खरेललाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारीमा प्रधानमन्त्री कार्कीले सिफारिस गरेकी छन् ।
मन्त्रीमा सिफारिस सिंहा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनी ६५ वर्षे उमेर हदका कारण कात्तिक २०८० मा सेवा निवृत्त भएका थिए । साउन २०७३ मा उनी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । मिश्रा स्वास्थ्य मन्त्रालयको पूर्वअतिरिक्त सचिव हुन् । ६ महिनादेखि बिदामा रहेकी उनी जेन–जी आन्दोलनपछि मन्त्रालयमा हाजिर भए पनि आइतबार मात्र पदबाट राजीनामा दिएकी थिइन् ।
२०५७ मा स्वास्थ्य सेवा प्रवेश गरेकी मिश्रा बीचमा ‘ग्याप’ गरेर पुन: खुला प्रतिस्पर्धामार्फत २०७० मा सरकारी सेवामा फर्किएकी थिइन् । खुला प्रतिस्पर्धाबाट ११ औं तहमा नाम निकालेकी उनले कोशी अस्पताल तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेकी छन् । १३ भदौ २०८० देखि करिब एक वर्ष स्वास्थ्य सेवा विभागको महानिर्देशकको भूमिका निर्वाह गरेकी उनी स्वास्थ्य मन्त्रालयको प्रवक्तासमेत थिइन् ।
सञ्चारमन्त्रीमा सिफारिस भएका खरेल इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुन् । उनले खरो र प्रखर अन्तर्वार्ताकार तथा पत्रकारका रूपमा आफ्नो परिचय बनाएका छन् । शिक्षामन्त्रीमा सिफारिस पुन कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन् ।
अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका उनी सामाजिक अभियन्ताका रूपमा पनि परिचित छन् । प्रतिष्ठित ‘रोमन म्यागासेसे अवार्ड’ विजेता पुन नेपालमा विज्ञान र अनुसन्धानको विकासमा लामो समयदेखि सक्रिय छन् ।
पुनले आफ्नै जीवन कथा समेटेर ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ प्रकाशनसमेत गरेका छन् । पछिल्लो समय उनले २०५९ देखि बन्द वीरगन्जस्थित कृषि औजार कारखाना पुन: सञ्चालनमा ल्याउँदै त्यही परिसरमा नयाँ आविष्कारका कामहरू गरिरहेका छन् ।
कृषिमन्त्रीमा सिफारिस परियार जलवायु तथा कृषिविज्ञ हुन् । हाल उनी समता फाउन्डेसनका अध्यक्षसमेत छन् । संविधानसभाको राज्य पुन:संरचना उच्चस्तरीय आयोगको संयोजक रहेरसमेत उनले काम गरेका थिए ।
जेन–जी विद्रोहपछि पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको तेस्रो दिनमा तीन मन्त्री नियुक्त भएका थिए । अर्थ, ऊर्जा, भौतिक पूर्वाधार, सहरी विकास र गृह मन्त्रालयमा क्रमश: रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री कार्कीले ११ सदस्यीयसम्म मन्त्रिमण्डल बनाउने बताउँदै आएकी छन् ।










