४ असार २०८३, बिहीबार
,
Latest
नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व



अ+ अ-

बैतडी। बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व मनाइएको छ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो ।

किंवदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)ले पुतनाको शव दहन गरेका थिए । द्वापरयुगमा विषाक्त दूध सेवन गराइ बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दूध चुसी मारेको र भगवान श्री कृष्ण भने बाँचेको खुसियालीमा असोज सङ्क्रान्तीका दिन यो पर्व मनाइने भट्टको भनाइ छ ।

भाद्र सङ्क्रान्ति तथा ओल्के सङ्क्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट बिरुवाको लिङगोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ । ओल्के सङ्क्रान्तिका दिन गोठालाहरुले बूढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगा थप्ने गर्छन् । यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिन्छ ।

साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ ‘बूढी पोल्ने’ परम्परा छ । पुतनाको स्वरुपमा तयार गरी सिङ्गारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ ।

दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि छ । यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको बैतडीको दोगडाकेदार– ३ श्रीकोटका गणेश विष्टले बताउनुभयो ।

यस पर्वमा रातभरी देउडा खेल्ने चलन भए पनि युवापुस्ताले ध्यान नदिँदा पछिल्लो समयमा यस्ता चलन लोपहुँदै गएको छ । रासस