२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बित

धर्म न त भाङ हो, न त अफिम हो, यो त अमृत हो

धर्म न त भाङ हो, न त अफिम हो, यो त अमृत हो
अ अ+ अ-

कार्ल मार्क्सले क्रिश्चियनधर्मलाई अफिम भने । कार्ल मार्क्सको विरोध हिन्दू, बौद्ध, जैन, ताओ, कन्फुसियस, बोन, किरातधर्मसँग थिएन । युरोपमा लामो समयदेखि क्याथोलिकहरूको वितण्ड र पोपहरूको ज्याजतीसँग थियो । उनीहरूले धर्मका नाममा आर्थिक, चारित्रिक ब्रम्हलुट गरेका थिए । पुनर्जागरण आउनुपूर्व युरोपमा पादरी र चर्चको ताण्डवनृत्यले जनतालाई त्राही त्राही बनाएको थियो । शासक वर्गसमेत यसका अगाडि नतमस्तक भई पादरी र चर्चकै आलाप गाउँथे । पोप भएको ठाउँमा एक्ली महिला जाँदा बलात्कार भएमा मुद्धा नलाग्ने कानुन थियो । धर्मभीरु मुक्तिदाता मानिन्थे, जनता तिनका सेवक र दासजस्तै थिए । शासकले भन्दा धर्मले जनताको ढाड सेकाएको थियो ।

त्यो इतिहास र दृश्यले कार्ल मार्क्सलाई ततायो । यतिबेला क्रिश्चियान धर्मका मूलसिद्धान्त येशूसँगै मरिसकेका थिए । शासकलाई पादरी र पोपहरूले निजी कर्मचारीजस्तै बनाएकाले मुख खोल्ने र सिधा आँखाले हेर्ने अवस्था थिएन । यस्ता गतिविधिले आर्थिक विभेदमात्र जन्माएन जीउने मेलो नै हराएको थियो । “जे हुन्छ येशूको इच्छाले हुन्छ । पादरी र चर्चका विरुद्ध गरिने कामले नर्क पु-याउँछ” भन्ने अन्धविश्वासले इतिहास, साहित्य, संस्कृतिलगायतका पक्षहरूको भू्रणहत्या भएको थियो ।

त्यतिबेला न त ज्ञानले श्वास फेर्न पाएको थियो, न त विज्ञानको गर्भधान हुन सकेको थियो, न त विकासलाई पाइला टेक्न अवसर मिलेको थियो, न त सभ्यताले उदाउन पाएको थियो । यसलाई चित्रण गर्दै माक्र्सले क्रिश्चियनधर्मलाई अफिम भने । मार्क्सले अफिम भनेकै धर्मको आशीर्वाद लिएर नेपालका नयाँअफिमेले हिन्दूधर्मलाई अफिम भने । वेदको ज्ञान, सनातनधर्मको विज्ञान, ऋषिमुनिको अनुसन्धानलाई प्रमादवश कम्युनिष्टभीरुले अनुत्पादक र समूहविशेषको खेती सम्झन पुगे ।  

युरोपलाई तात्कालिक अवस्थामा क्रिश्चियनधर्मले गलाएको थियो, चर्चले जनतालाई जर्जर बनाएको थियो, पोपहरुले अर्थतन्त्रलाई पकाएका थिए । चीनको विकासमा त्यहाँको धर्म र संस्कृति अमृतसमान थियो । अफ्रिकाको मेरुदण्ड भाँच्ने काम हिन्दूधर्मले गरेको थिएन । कुन धर्मले मानिसलाई दास बनाएर बेचेको थियो, कुन धर्म मान्ने राष्ट्रले उपनिवेशको जाँतोद्वारा संसारलाई पेलेको छ भन्ने जानकारी कार्ल मार्क्सलाई थियो । मार्क्सलाई मात्र होइन दुनियाँलाई नै जेरुशेलामबाट अफ्रिका पुगेको धर्म पो अफिम रहेछ भन्ने हेक्का हुन थालेको छ ।

क्रान्तिका नाममा चीनले पुराना धरोहरहरूलाई बल र बमले विनाश ग-यो । पछि होश खुल्यो र गल्ती सुधार ग-यो । थ्यानआनमनलगायतका पुराना राजदरबारहरू संरक्षण गर्दै धर्म र पुरात्वको महत्वलाई प्राण सम्झे । कन्फुसियस, ताओलगायतका धर्मलाई प्रचार गर्न थालेका छन् । नेपालमा माओवादीले जनयुद्धका नाममा संस्कृतभाषाका ग्रन्थ जलाए, संस्कृतिलाई पोले, संस्कारलाई डढाए, मठमन्दिरलाई तोडफोड र विद्वान्हरूलाई तोरीको फूल देखाउने काम गरे ।

अन्ततः चेत खुलेपछि उनीहरूका महानायकले भैँसी पुजे, सहायक महानायकले थर फेर्ने तयारी गरे । प्रधानमन्त्री बन्ने लोभमा मृतक आमालाई सार्वजनिक नगरेको पापले अर्का कमरेडको राजनीतिक जीवन धरापमा पर्दै गयो । बुबालाई जुत्ता, टाईसुटसहित दागबत्ती दिनेले खाली खुट्टामा सन्तानलाई दागबत्ती दिन पुगे । पहिले नेपालका गाई काटे तर परिवारको उपचार्थ भारतीय गाईको गहुँत खुवाए । कोही पशुपतिमा सुनको जलहरी हाल्न हतारिए । नेपालमा अहिलेसम्म एकजनामात्र कम्युनिष्ट जन्मिए ती हुन् राजा महेन्द्र । उनले भूमिसुधार गरे, रजौटा उन्मूलन गरे, उद्योगधन्दा खोले, राजमार्ग खने, विदेशिएका प्रतिभालाई नेपाल भित्राए , त्रि.वि. र नेपाल संस्कृत विश्वविद्यालय खोले । यो काम राजाको होइन कम्युनिष्टको काम हो । महेन्द्रको मृत्युसँगै नेपालमा कम्युनिष्ट अस्ताए अब कहिले उदाउँछन् हेर्न बाँकी छ ।

नेपालमा फलेफूलेको धर्मले कसैलाई नोक्शान गरेन । धर्मलाई हतियार बनाएर कसैलाई उपनिवेश र दास बनाएन । सहयोगका नाममा कसैमाथि आफ्नो धर्म र संस्कृति लादेन, क्रिश्चियनहरूले सहयोगको बाहनामा अफ्रिकालाई निले । १७ औँ देखि १९ औँ शताब्दीसम्म उपनिवेशका नाममा अफ्रिकावासीको हुर्मत नै लिए । जोमो कन्याटाले भनेका थिए “जब इसाईमिसिनरीहरू अफ्रिका आए त्यतिबेला उनीहरूसँग बाइबल थियो र हामीसँग जमिन । उनीहरूले हामीलाई आँखा चिम्लेर प्रार्थना गर्न लगाए । पछि आँखा खोल्दा हाम्रा हातमा बाइबल थियो उनीहरूको हातमा जमिन ।” मत्तबाँदरलाई जेठको मध्य दिनमा रक्सी खुवाएर बारुलोले टोकाई छोड्दा जे हर्कत देखाउँछ, त्यही देखाए अफ्रिकामा ।

उनीहरूले अफ्रिकाबासीलाई बेचे, बाँधे, अझ भनौँ पशुको स्थान पनि दिएनन् । शिक्षा र शान्तिका नाममा, विकासका नाममा, हकअधिकारका नाममा युरोप र अमेरिकाबाट जे काम भएका छन् त्यसले आजसम्म कसैलाई राहत मिलेन ।  त्यसले “म ताक्छु मुढो बञ्चरो ताक्छु घुडो” भनेझैँ बनायो । गरिब मुलुकका विभीषणहरूलाई किने, कतै लेखक, कतै मानवअधिकारकर्मी, कतै धर्मगुरुलाई खरिद गरी स्थानीय एवं परम्परागत धर्म, संस्कृति, भाषालाई मशानघाटमा पु-याए । यो रोग निम्त्याउने धर्मलाई माक्र्सले अफिमको नाम दिए । 

फ्रान्स, स्पेन, निदरल्याण्ड आदि देशमा पोपको अधिकार रक्षाका लागि इन्टविजीशन कोर्टको स्थापना गरिएको थियो । पोपको विरुद्ध कुनै गतिविधि गर्नेलाई यसले स्वतन्त्र रूपमा सजाय दिन सक्दथ्यो । स्पेनमा सन् १४८१ देखि सन् १७८१ सम्म ३१,९१२ जनालाई जिउँदै जलाउने निर्देशन पोपले दिएका थिए । यसको निर्णयबाट डराएर १७,६५९ भागेपछि उनीहरूको पुत्ला बनाएर जलाइयो । पोपकै निर्देशनमा २,९१,४५० जनालाई कारावासको सजाय दिइयो  । के यस्तो आतङ्ग विश्वका कुनै धर्म र धर्मगुरुहरूले गरेका छन् त ? यही त्रासलाई कार्ल मार्क्सले अफिमको उपमा दिए ।

धर्म र व्यापारका नाममा अफिमेहरूले विश्वलाई नचाएको देखेर  कार्ल मार्क्सको कलम र विवेकले यसलाई उदाङ्गो बनाउने काम ग-यो । हरेक राष्ट्रको शिक्षा, धर्म, राजनीति, व्यापार, संस्कृतिलाई कसरी लङ्गडो बनाएको छ सजिलै देख्न सकिन्छ । हिन्दू र बौद्धधर्मको भक्त बनेको नौटङ्गी गरेर गुरु, शास्त्र, मठमन्दिर, मूर्ति, तीर्थस्थललाई बदनाम गराए । हाम्रा शास्त्रलाई अङ्ग्रेजीमा अनुवाद गरी अन्ताराष्ट्रियकरण गर्ने बाहनामा अपव्याख्या गर्नेसम्मको काम उनीहरूबाट भयो । सन् १५७९मा भारत आएका फादर टाँमस स्टीफेन्सले ‘क्रिश्चियन पुराण’ लेखे ।

सन् १६०५ मा मथुरामा आएकी राबर्ट डि नोबलीले हिन्दू बनेर ‘पञ्चमवेद’को रचना गरिन् । उनीको यस वेदलाई ‘ईसुवेद’ पनि भन्ने गरिन्थ्यो । पाश्चात्यले हरेक महादेशका धर्म र सम्प्रदायलाई चपाउन, निल्न एवं जलाउन छोडेनन् । इस्लाम (मुसलमान)लाई हतियार बेचेर शिया र शुन्नीबीचको झगडामा चरु होमेर नरसंहारको यज्ञ सम्पन्न गर्दैछन् । नेपालमा त न्वारनको बल लगाएर धर्मशास्त्रलाई जलाउने, इतिहासलाई वङ्ग्याउने, मूर्ति र पुरातात्त्विक सामग्रीलाई चोरी दिने, जातलाई फुटाइदिने, नेतालाई किनिदिने, एकतालाई टुटाइदिने काम गर्दैछन् । केही अवसरवादीलाई किनेर पत्रकार, मानवाधिकारवादी, राजनीतिकर्मी, समाजसेवीजस्ता रङ लगाइदिए ।

हकहितका नाममा, आरक्षण र संरक्षणको आवरणमा उनीहरूले नेपालमा ताण्डवनृत्य देखाउँदैछन् । शुकरात, पाइथागोरस, कपर्निकस, ग्यालिलियो, ज्यार्दानो ब्रूनो, लुचिलियो बानिनी आदि दार्शनिक तथा वैज्ञानिकलाई हाम्रो धर्मले दुःख दिने र मार्ने काम गरेन । आफ्नो स्वार्थ विपरीत काम गर्नेलाई देश निकाला गरेर हुन्छ कि दबाएर हुन्छ, ज्ञान र विज्ञानलाई उम्रन दिएनन् । हाम्रो धर्मले शिक्षा, सीप निःशुल्कमा बाँड्यो । हाम्रा साधु, सन्त, विद्वान्ले जनतालाई आदर गर्थे, नेतालाई साथ दिन्थे राष्ट्रलाई जीवन समर्पण गर्थे । यसैले सनातनधर्म संसारको समन्वयवादी धर्म बन्न पुग्यो, यसलाई कसरी अफिम भन्न सकिन्छ ?

कार्ल मार्क्सले वेद, त्रिपिटक र मुन्धुम पढेका वा यहाँका गुरुकुल देखेका भए धर्मलाई अमृत, शास्त्रलाई श्वास, साधनालाई सम्पत्ति, गुरुलाई देवता र पूजालाई पूँजी भन्ने थिए । ‘कम्युनिष्ट घोषणापत्र’ एवं ‘पूँजी’ नामक ग्रन्थ लेख्न छोडेर वेदको व्याख्या, त्रिपिटकको वर्णन र मुन्धुमका प्रचार गर्ने थिए । साम्यवादमा पुग्न ऋषिहरूको बाटोमा हिड्न सिकाउँथे । मजदुर दिवसका दिन ‘सुमधुर दिवस’ मनाउने प्रचलन ल्याउने थिए । दुर्भाग्य उनले हाम्रा शास्त्रसँग भेट्नै पाएनन् नत्र ‘धर्मको मूल वेद हो ’ भनी वेदको फेदमा पुग्न भन्ने थिए ।

वर्गसंघर्षको औषधि वेद हो, आर्थिक विभेदको औषधि त्रिपिटक हो, अधिकारविहीन मजदुरको औषधि मुन्धुम हो भन्ने थिए । तिनका चेलाहरूले नेपालको धर्म र इतिहासलाई अध्ययन गर्न नसके पढे पनि हुने थियो, पढ्न नसके पाठ गरे पनि कल्याण हुने थियो । हाम्रा धर्म एवं ग्रन्थभित्र विज्ञान र जीवन थिएन भने पाश्चात्यहरूले टुप्पी कसेर पढ्ने थिएनन् । तिनीहरूका विश्वविद्यालयमा संस्कृतभाषाको पढाई हुने थिएन । सूर्यमा ॐको ध्वनि आउँछ र अन्तरिक्षबाट पृथ्वीमा संवाद गर्न संस्कृतभाषा चाहिन्छ भन्ने थिएनन् । अरूको प्रगतिलाई ब्वाँसो बनेर सिद्ध्याउने, अरूको एकतामा शकुनि भएर टुटाउने प्रवृत्ति देखेर माक्र्सले क्रिश्चियनधर्मलाई अफिम भने । त्यो पगरी क्रिश्चियनको हो हिन्दूधर्मको होइन । 

कार्ल मार्क्सका सिद्धान्त हेर्दा उनले केही स्थानमा वेदका मन्त्रलाई सापट लिएझैँ देखिन्छ । ‘सर्वे भवन्तु सुखिनः’ सबै सुखी रहून्, ‘वसुधैव कुटुम्बकम्’ सबैलाई आफ्नै संझिए, अन्याय गर्नेलाई दण्ड देऊ, शासक जनताका सेवक हुन् भन्ने वैदिक वाक्यभन्दा भिन्न मार्क्सका सिद्धान्त छैनन् । वैदिक साम्यवाद र माक्र्सको साम्यवादलाई गहिरिएर अध्ययन गर्न आवश्यक छ । सनातनधर्मले शान्तिबाट संवृद्धितर्फको यात्रा गर्न सिकाएको छ तर मार्क्सले संघर्षलाई जोड दिएका छन् ।

गीताले कुकुर र मानिसलाई भेद नगरी समदृष्टिले हेर्न सिकाएको बिर्सेर हामी मार्क्सको लगौटी र क्रिश्चियनको कन्दानी समाउन गइरहेका छौँ । धर्म केवल एउटामात्र हुन्छ, त्यो वैदिक सनातनधर्म हो । परमात्माबाट धर्म जन्मियो, धर्मले विश्वलाई धारण ग-यो । परमात्माकै श्वासबाट शास्त्रको उत्पत्ति भयो, शास्त्रले सृष्टिलाई ग-यो । वैदिक सनातनधर्मको इष्टदेव परमात्मा हो र परमात्माद्वारा रचित शास्त्र वेद हो ।

वेदसँगै सम्बद्ध, परमात्मासँग आबद्ध, मानिससँगै उत्पन्न धर्मलाई वैदिक सनातनधर्म भनिन्छ । यसले मानवलाई मिलाउने, सम्प्रदायलाई जुटाउने र समाजलाई सत्कर्ममा लगाउने काम ग-यो । यसैले सनातनधर्म विज्ञानको पुञ्ज, ज्ञानको कुञ्ज हो, जीवनको मुल हो, सम्प्रदायको फूल हो । यो अफिम होइन, आस्था र आश्रय हो ।

धर्मगुरुबाट स्थापित सम्प्रदाय जन्मिएको तिथि, मिति छ । कुनै सम्प्रदाय जन्मिएको दुई हजार वर्ष भयो, कुनै हजार वर्ष भयो, कुनै दुई सय वर्ष भयो । धर्मले धर्मगुरु जन्माउँछ, धर्मगुरुले धर्म जन्माउँदैन, सम्प्रदायको स्थापनामात्र गर्छ । परमात्माले शास्त्र दिन्छ । वेद र उपनिषद् शास्त्र हो । धर्मगुरुका विचार र प्रवचनलाई सङ्कलन गरेका पुस्तकलाई ग्रन्थ भनिन्छ । अनेकौँ ऋषिहरूले साधनाबाट मन्त्र देखे । यसलाई संकलन गरी वेद तयार गरियो । वेद लेखिएको होइन, सङ्कलन गरिएको हो । पुराण, रामायण, महाभारत ग्रन्थ हुन्, यी लिखित रचना हुन् ।

शास्त्रमा ज्ञान र विज्ञानको रहस्य लुकेको छ । हामीले शास्त्रको मर्म त बुझेनौँ, यसलाई समयानुकूल सदुपयोग गर्न समेत सकेनौँ । शास्त्र र ग्रन्थलाई जात एवं थरको पेवापात बनायौँ । धर्मव्याध नामको चण्डालले कौशिक ऋषिलाई उपदेश दिए, क्षत्रिय राजा ययातिले राक्षसका गुरु शुक्राचार्यकी छोरी देबयानीसँग विवाह गरे, ब्राम्हणवंशमा जन्मिएका अगस्त्य ऋषिले लोपामुद्रा नामकी क्षत्रिय कन्यासँग विवाह गरे, शूद्र मानिएका वेदव्यासले वेद सङ्कलन गरे । जातभित्र छुवाछुत होइन सहयोग, सद्भाव र समन्वय छ भन्ने हजारौँ नजीर हामीसँग छन् ।

हामीलाई सिध्याउन पश्चिमाले लेखेको, बोलेको र रटान लगाएको आलापलाई प्रमाण मान्छौँ । भारतले यही मौकाको फाइदा उठाउँदै ऋषि, ग्रन्थ र शास्त्रलाई नीजिकरण गर्न अनेकौँ कसरत गरेको छ । वैदिक संस्कृतिलाई भारतीय संस्कृति बनायो, आर्यभूमिलाई भारतभूमि र पौरत्य दर्शनलाई भारतीय दर्शनमा रूपान्तरण ग-यो । त्यहाँबाट प्रकाशित ग्रन्थहरूमा नेपालसम्बद्ध ऐतिहासिक सामग्री हटाएर सन्तोष प्राप्त नभएपछि वेदव्यास र बुद्धलाई भारतीय नागरिकता दिलायो । नेपालको इतिहास विदेशीले लेखिदिने, धर्म र संस्कृतिको जिम्मा भारतले लिइदिने, हाम्रो सरकार धर्मनिपेक्षको खोल ओडेर निरोको बाँसुरी सुन्दै चिरनिद्रामा सुत्ने ।

कुम्भकर्णलाई उठाउन सकिएला सरकारलाई जगाउन सकिँदैन । अहिले हिमवत्खण्ड समावेश गरिएको स्कन्दपुराण प्रकाशमा आएको देखिँदैन । हिमवत्खण्डलाई धेरै दुःख गरेर योगी नरहरिनाथले प्रकाशित गर्नुभएको थियो तथापि यसको प्रामाणिकतामाथि बेलाबखत प्रश्न उठ्दछन् ।  पशुपतिपुराण, हिमवत्खण्ड र नेपालमाहात्म्यजस्ता ग्रन्थहरूले यहाँका देवस्थल, तीर्थस्थल आदिको बारेमा प्रकाश पारेका छन् । यसलाई कुहाउने, डढाउने र उडाउने होडले हामी इतिहासका भिखारी, धर्मका सुदामा भएका छौँ । नेपाल गुरु राष्ट्र हो । वेदको सङ्कलन, गायत्रीमन्त्रको उत्पत्ति यहीँ भयो । अधिकांश शास्त्रको सङ्कलन र ग्रन्थको लेखन यहीँ गरियो । यसैले नेपालमा साहसी र तपस्वी जन्मिए ।  

हामीले तिरेको करबाट सरकारले इस्लामधर्मावलम्बीलाई हज गर्न पठाउँछ । के कुनै हिन्दूधर्मावलम्बीलाई तीर्थाटन गर्न सरकारले रकम उपलब्ध गराएको छ ? के अन्य धर्ममा यो उदारता छ ? इतिहास नपढ्दा एवं धर्मको मर्म नबुझ्दा वर्ण व्यवस्थाले वर्गव्यवस्थाको रूप लियो । नेपालमा गणतन्त्रको महारोग फैलिएसँगै कम्युनिष्टहरू क्रिश्चियन र क्रिश्चियनहरू कम्युनिष्टजस्ता देखिए । मठमन्दिर, धर्मशास्त्र र वैदिक परम्परामा अत्यचार गर्नेको कहिल्यै कल्याण भएको छैन । अफगानीस्थानमा बुद्धका मूर्ति फोर्नेको हविगत के भयो ? १० वर्षे जनआन्दोलनमा रक्तपात मच्चाउनेको परिवार र पार्टीको हालत के छ ? व्याख्या गर्नुपर्दैन ।

वैदिक धर्मलाई बिगार्न विदेशी राष्ट्र, विदेशी धर्म, मित्र राष्ट्रका प्रकाशन, हाम्रो अस्थिर राजनीति, हाम्रो एकताको दुर्बलताले महत्वपूर्ण भूमिका खेलेका छन् । नेपाल धर्मनिरपेक्ष राष्ट्र भइसक्यो तर संस्कृति मन्त्रालय ज्यूँदैछ । धर्म नै नमान्ने राष्ट्रमा संस्कृति मन्त्रालय किन चाहियो ? हाम्रो धर्मले पूजाको माध्यमबाट शान्ति, उपासनाका माध्यमबाट सुख र दानका माध्यमबाट समृद्धिमा सहयोग पु-याएको छ ।

धर्मकै माध्यमबाट पुराण आदि लगाएर विद्यालय, बाटो, अस्पताल निर्माण गरी सरकारलाई टेवा दिएको छ । धर्मको नाश हुँदै जाँदा अहिले आत्महत्या, बलात्कार, चोरी र भ्रष्टाचारीले नेटो नाघेको छ । यसको औषधि कुलधर्म र मूल संस्कृतिअनुसार जीउनु हो । रत्नाकरलाई बाल्मीकि, मुर्खदासलाई कालीदास, अङ्गुलीमाललाई तपस्वी बनाउने काम हाम्रा धर्मले गरे । धर्मले मानिसलाई बाटोमा हिँडाउँछ, मनलाई सुधार्ने, समाजलाई मिलाउने, राष्ट्रलाई चिनाउने काम गर्छ । नेपाल हिन्दूराष्ट्र हो तर धर्मको बारेमा जान्दै नजान्ने, बुझ्दै नबुझ्नेले निरपेक्षको ढकनले छोपिदिए ।

सनातनधर्मले ज्ञान, विज्ञान, इतिहासलाई संरक्षणमात्र गर्दैन कला, भाषा, भातृत्व विकासमा सहयोग गर्दछ । यसैले वैदिक धर्म अफिम होइन अज्ञान, अशिक्षा, अशान्तिलाई नाश गर्ने औषधि हो ।  भूमिलाई पुज्ने, भगवान्लाई बुझ्ने, भावीपुस्ताको भविष्यलाई सोच्ने हिन्दूधर्म न त भाङ हो, न त अफिम हो, यो त अमृत हो ।

-लेखक हरिप्रसाद सोढारी सस्कृति तथा ईतिहास अध्यता हुनुहुन्छ  ।