८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘सङ्कट अस्थायी हो, आशा स्थायी’

‘सङ्कट अस्थायी हो, आशा स्थायी’
‘जेनजी’ आन्दोलनको क्रममा जल्दै गरेको संसद भवन ।
अ अ+ अ-

काठमाडौँ । यही भदौ २३ र २४ मा नेपालमा ‘जेनजी’ आन्दोलन भयो । यो नेपालका लागि मात्रै होइन, विश्वकै लागि पछिल्लो शताब्दीकै एक ‘विशिष्ट’ घटनामा दर्ज भएको छ । ‘विशिष्ट’ यस अर्थमा कि वर्षौंदेखि मौलाएका ‘बेथिति’ को प्रतिरोध गर्दै केही घण्टामै ‘सत्ता’ उलटफेर भएको छ । यस्तो घटना विश्वमै विरलै हुन्छ । २०४६ सालको परिवर्तन र २०६२/६३ पछि देखाइएका सपनालाई नागरिकको बदलिँदो चेतना र आवश्यकतासँग जोड्न नसकेको उकुसमुकुस । उमेरले होइन ‘एजेन्डा’ प्राथमिकताको विषय हो, तर जति तर्क गरे पनि एउटा व्यक्ति सबै व्यवस्था, काल र परिस्थितिमा ‘सर्वकालिक’ ग्राह्य हुँदैन । उसको समय, चेतना, वेग र आवश्यकताको सिद्धान्तले पनि त्यो हुँदैन, तर नेपालमा त्यही भइरह्यो, जुन कुरा पछिल्लो पुस्तालाई मन परेन । त्यसको अभिव्यक्ति हो, भदौ २३ र २४ को अवस्था । यो आन्दालनबारे विविध कोणबाट बहस भइरहेकै छन्, हुनु पनि पर्छ ।

यस आन्दोलनले दुईवटा पक्ष बोकेको जस्तो देखिन्छ— एउटा आशा र अर्को सङ्कट । आशाले भ्रष्टाचार, अन्याय र बेथितिको अन्त्य गर्दै सुशासन, सुव्यवस्थासहित सुनौलो भविष्य निर्माणको सपनालाई प्रतिनिधित्व गर्छ । हाल आन्दोलनको घाउ आलै छ । देशका अमूल्य सम्पदा, आर्थिक प्रशासनिक धरोहर खरानी भएका छन् । राष्ट्र निर्माणमा योगदान गर्ने सबै क्षेत्रको आत्मबल कमजोर भएको छ । यद्यपि, राष्ट्रपतिको सुझबुझपूर्ण अभिभावकत्वका कारण तत्काल लोकतन्त्र जोगिएको छ । संवैधानिक सर्वोच्चतालाई स्वीकार्दै अगाडि बढ्ने बाटो खुलेको छ । अब सर्वत्र चिन्ता र चासो छ— देश कसरी उठ्ला ?

यस्तो बेला केवल सङ्कल्पको खाँचो छ । आम नेपालीमा फेरि सपना र आत्मविश्वासको जन्म गराउने सुझबुझपूर्ण नेतृत्वको खाँचो छ । दशवर्षे सशस्त्र द्वन्द्वबाट सम्हालिँदै अगाडि बढेको देश । संविधानसभा र संविधान निर्माणका क्रममा अघिपछि भएका आक्रोशलाई मत्थर गरेर लयमा फर्किएको देश । हामी पटकपटकका आन्दोलन, क्रान्ति र प्रतिक्रान्तिका बीचबाट उठेर हिँडेका छौँ । विनाशकारी भूकम्पदेखि तमाम जटिलताका बीचबाट पनि आशा र सपनासहित हिँड्न सफल भएका छौँ । के यो एउटा आन्दोलनले भत्किन्छौँ, सकिन्छौँ त ? पक्कै यो समय पनि बितेर जानेछ । अङ्ग्रेजीमा एउटा भनाइ छ नि ‘टाइम हिल्स’ अर्थात् समयले उपचार गर्छ । इतिहासले हामीलाई सिकाएको छ—नेपाल कहिल्यै हार्दैन । न द्वन्द्वमा हा¥यो, न विपद् वा महामारीमा । भूकम्पमा ढलेका घर फेरि उठे । कोरोना महामारीले छाएको मौनता फेरि हाँसोले गुल्जार भयो । नेपाल पटकपटक ढले पनि फेरि उभिएको छ । त्यसैगरी यसपटक पनि हामी सजिलैसँग उठ्नेछौँ । मूर्छित आशा फक्रिनेछ ।

यस आन्दोलनबाट नयाँ पुस्ताले दिएको सन्देश स्पष्ट छ–समान न्याय, समान अवसर र उत्तरदायी शासन । हामीले यही आवाज सुन्नुपर्छ । आमनेपालीबीच फेरि एकता र सौहाद्र्रताको खाँचो छ । हामी हरेकले सम्हालिनु छ । हरेकले फेरि उठ्नका लागि सङ्कल्प गर्नुपर्नेछ । बुझ्नुपर्ने के छ भने सङ्कटलाई देखाएर वा अन्धकारलाई गाली गरेर मात्र उज्यालो आउँदैन । अब हरेक नेपालीमा साहस र सङ्कल्प आवश्यक छ । उज्यालो स्वतः आउँदैन, कसैले बत्ती बाल्नुपर्छ । त्यसैले एकता, सहिष्णुता र सुशासनतर्फ सामूहिक प्रयास गर्नुपर्छ । समाजमा असुरक्षा, अनिश्चिय, अफवाह फैलाउने र निरासामा डुबेर होइन, सानो–सानो कर्मले आशाको बाटो कोर्नुपर्छ ।

हामी सबै विभिन्न अफवाहबाट त्रस्त भएको बेला राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ २८ गते गर्नुभएको सार्वजनिक अपिलको भावनालाई बुझौँ । उहाँले भने जस्तै संविधान र प्रणाली जोगिएको छ, अब चुनावमार्फत अझ परिपक्व लोकतन्त्रतर्फ अघि बढ्ने अवसर आएको छ । यसलाई सदुपयोग नगरे फेरि सङ्कट आउन सक्छ । “देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । तसर्थ, बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिँदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु”, राष्ट्रपतिको यो भनाइ प्रस्ट सन्देश पनि हो र चेतावनी पनि । संविधान जोगाउँदै जुक्तिले जोगाएको यो व्यवस्थामा सम्हालिँदै अगाडि बढेमा फेरि उठ्ने अवसर छ । त्यसलाई बेवास्ता गर्दै बहानाबाजी गरेमा सङ्कट तत्कालका लागि टरेको हो, दीर्घकालका लागि होइन । फेरि हामी अनिश्चयतर्फ धकेलिन्छौँ । यो चेतावनीलाई पनि अवसरका रूपमा लिएर अगाडि बढौँ ।

जेनजी आन्दोलनपछिको नेपालः निराशाभन्दा आशाको बाटो

सम्झिऔँ त यही भदौ २३ देखि २७ गतेसम्मको अवस्था । यो विचार लेख्दासम्म ७२ जनाको ज्यान गएको छ भने अझै धेरैजना उपचारकै क्रममा छन् । अर्बौंको सम्पत्तिमा नोक्सान भएको छ । यो आन्दोलनले एकैपटक राज्यको सुरक्षा प्रणाली, सुरक्षा दस्ताहरूको सूचना पहुँच र विश्लेषण क्षमता, राजनीतिक नेतृत्वको सोचको अवस्था छर्लङ्ग भएको छ । भ्रम र अफवाह कति शक्तिशाली छ भन्ने प्रस्ट्याएको छ ।

यी विविध पक्षको विश्लेषण हुँदै जाला । आन्दोलनको मूल मुद्दालाई कुनै पनि बहानामा नभड्काऔँ । जेनजी आन्दोलनको मूल माग भ्रष्टाचार, बेथिति, चरम नातावाद, राजनीतिको अपराधीकरण र राज्य संयन्त्रलाई पार्टीकरण गर्ने प्रवृत्तिको अन्त्य गर्नु थियो । दलहरूबीच नीति, सिद्धान्त र युग चेतलाई सम्बोधन गर्नेभन्दा पनि ‘सत्ता’ मा रहनका लागि हुने भागबन्डा र त्यसैका लागि सबै क्षेत्रलाई ‘पङ्गु’ बनाएर आफू बलियो हुने प्रवृत्तिलाई युवा पुस्ताले अस्वीकार गरेका हुन् । त्यसैले अब अफवाहलाई चिर्दै भत्काउन खोजिएको आत्मबललाई कमजोर हुन नदिऔँ । केही सकिएको छ, तर धेरै बाँकी नै छ । सहरका गल्लीमा सपना बोकेर हिँड्ने युवा अझै छन् । गाउँको खेतमा पसिना बगाइरहेका किसान अझै काम गर्न तयार छन् । आमा–बुबाको आँखामा सन्तानको उज्यालो भविष्य देख्ने विश्वास अझै छ । यी सबै कुराले चिच्याएर भनिरहेका छन्—देश अझै बाँकी छ । जनतामा विवेक अझै बाँकी छ । आशा अझै बाँकी छ ।

यतिबेला सर्जक कालीप्रसाद रिजालले लेखेका शब्द र संविधानविद् तथा सर्जक अर्जुन मिलन (डा भिमार्जुन आचार्य) गीतका सानो पङ्ति सम्झौँः
सबैले त देशबाट लिन्छु केवल लिन्छु भने,
तिमीचाहिँ देशलाई म त दिन्छु केही भन्देउ न है ।

अब हरेक नागरिकमा साहस चाहिएको छ । नयाँ बिहान हरेक रात पछाडि नै आउने हो भन्ने सकारात्मक दृष्टिसहित काम गर्न आवश्यक छ । लोकतन्त्रमा दलबिनाको कल्पना पनि गर्न सकिँदैन, त्यसैले अब दलहरूले सुध्रेर अगाडि बढ्नुको विकल्प छैन । आफ्नो असहमति स्वस्थ ढङ्गले राखौँ । दलभित्र ‘लोकतन्त्र’ स्थापना गरौँ । अब आफूभित्रका योग्य पुस्तालाई विश्वास गरौँ । हिजो जे भयो भयो इन्तु, किन्तु, परन्तु नभनी अब पार्टीभित्रै सबैले समान अवसरको गोरेटो बनाइदिऔँ ।

निराशाको बीचमा आशाको खोजी

परिवर्तन आम नेपालीको माग हो । कुनै पनि माध्यमबाट यो पोखिनेवाला थियो नै । त्यसका पछाडि थुप्रै कारण छन् । यसपटक ‘जेनजी’ आन्दोलनका नाममा परिवर्तनको चाहना पोखियो । सुशासन र भ्रष्टाचारविहीन शासन, पुरातनवादी सत्ता अभ्यासमा परिवर्तनको मागसहित उठेको यो आन्दोलनले दुई दिनमै कायापलटको अवस्था बनाइदियो । त्यही बीचमा यो तहको विध्वंसले कसरी स्थान पायो र त्यसको मक्सद के हो भन्नेबारे भविष्यमा पर्दा खुल्दै जालान्, खुल्नै पर्छ । तथापि, अब त्यसैका पछाडि लागेर निराशाको खाडल गहिरो बनाउन नलागौँ । अहिले सङ्कट छ, तर आशा पनि छ । हाम्रै विगत र हाम्रो जस्तै सङ्कट बेहोरेर उठेका विश्वका अन्य उदाहरणबाट पाठ सिक्दै सुन्दर भविष्य निर्माणमा जुट्नुको विकल्प हामीसँग छैन । यी तमाम अनुभवले एउटा कुरा देखाउँछ—सङ्कट स्थायी हुँदैन ।

यो तहको विध्वंस नयाँ र अनपेक्षित भए पनि नेपालमा राजनीतिक आन्दोलनको कुरा नयाँ होइन । २००७ सालअघिको आन्दोलनले राणशासनको एक सय चार वर्षको इतिहास मेटायो । प्रजातन्त्रको विजारोपण भयो । २०४६ सालको जनआन्दोलनले बहुदलीय व्यवस्था ल्यायो । निर्दलीय पञ्चायतलाई च्यूत गर्दै प्रजातन्त्र बहाली भयो । दश वर्ष लामो हिंसात्मक द्वन्द्वबाट बाहिर आयौँ । २०६२/६३ सालको जनआन्दोलनले वंशवादमा आधारित दुई सय चालीस वर्ष लामो राजतन्त्रलाई बिदा ग¥यो, गणतन्त्र स्थापना भयो । हरेक निर्णायक मोडमा नेपाल ढलेको र जलेको मात्रै छैन । उठेको पनि छ, बनेको पनि छ । त्यसैले आजको ‘जेन जी’ आन्दोलनका क्रममा भएको विध्वंसको ‘अंश’ छुट्याउने हो भने यो नयाँ पुस्ताले समान न्याय, समान अवसर र उत्तरदायी शासन मागेका छन् । विध्वंसकै कुरामा रुमल्लिनुभन्दा यो आवाजको शङ्खनाद सुनौँ । समयमै सुनौँ । अब यसलाई अवसरका रुपमा लिऔँ, जसरी यस्तै सङ्कट आउँदा विश्वका अरु मुलुकले लिए ।

धेरै विगतमा जाँदा दोस्रो विश्वयुद्धपछि पूर्णरूपमा ध्वस्त भएको जापान अनुशासन, नवप्रवर्तन र प्रविधिमा लगानी र स्पष्ट ‘भिजन’ लिएर अगाडि बढ्दा केही दशकमै विश्व आर्थिक शक्ति बन्यो । युद्धपछिको विनास र विभाजनपछि जर्मनी राजनीतिक सहमति र स्पष्ट पुनर्निर्माण योजनाका कारण फेरि युरोपको बलियो अर्थतन्त्र बन्यो । सन् १९९४ को नरसंहार (करिब १० लाख मानिस मारिएको भनिएको) पछि असम्भव जस्तो लाग्ने रुवाण्डामा पुनर्मिलन र सुशासन सम्भव भयो । युद्धपछि दक्षिण कोरिया ९१९५०–५३० गरिब कृषिप्रधान देशबाट शिक्षा र औद्योगीकरणमा लगानी गर्दै लोकतान्त्रिक अभ्यासमार्फत केही दशकमै विश्वकै उच्च आय भएको राष्ट्र बन्यो । फेरि दक्षिण कोरियामै सन् १९६० को ‘अप्रिल रिभोलुसन’ भनेर चिनिने विद्यार्थी आन्दोलनले अधिनायकवादी शासनको ठाउँमा लोकतन्त्रको बाटो तय ग¥यो ।

त्यस्तै ट्युनिसियामा सन् २०१०–११ मा युवाहरूले गरेको ‘अरब स्प्रिङ’ आन्दोलन लोकतान्त्रिक संरचनाको आधार तयार ग¥यो । ट्युनिसियामा २३ वर्ष शासन गरेका जिन एल आबेदिन बेन अलीयस सत्ता च्युत भए । यसको उभार इजिप्ट, लिबिया, सिरिया, यमन, बहरेनसम्म फैलियो । त्यसको परिणाम स्वरुपम इजिप्टमा ३० वर्ष एकछत्र शासन गरेका होस्नी मुबारक, लिबियामा मुअम्मर गद्दाफीको ४२ वर्ष लामो शासन अन्त्य भयो । सिरिया, एमन र बहराइनले समयको आवाज नसुन्दा अझै पनि त्यहाँ सङ्कट र अस्थिरताबाट पार पाउन सकिएको छैन ।

यी सबै उदाहरणले सम्हालिएर अगाडि बढेमा ध्वस्त भएको समाज पनि आशा र स्पष्ट रणनीति भयो भने चाँडै पुनः निर्माण हुन्छ र अझ सुखद समय आउँछ भन्ने देखाउँछन् । नेपालले पनि बारम्बार सङ्कटको सामना गरेको छ, तर हरेक पटक उठेका छौँ । यसर्थ, हरेक असहज परिस्थितिबाट उठ्ने क्षमता नेपाली समाजको मूल पहिचान हो । अहिले युवाहरूको भावनाअनुसार ‘सुशासन र भ्रष्टाचारविहीन’ समाज बनाउने हो भने यी भत्केका भवन चाँडै ठडिनेछन् । बिथोलिएको आत्मबल फेरि बलियो गरी उभिने छ । अब केवल सरकारको स्पष्ट दृष्टिकोण, इच्छाशक्ति र त्यसमा लामो अनुभव तथा योगदान भएका राजनीतिक दलले शान्तिपूर्ण सहजीकरण गर्न आवश्यक छ । आफ्ना असहमतिलाई शालीन र नवीन ढङ्गले मुखरित गर्दै ‘बडो जुक्तिले प्राप्त अवसर’ को सदुपयोग गर्नसके फेरि अवसरले पछ्याउने छन् ।

निष्कर्षमा भन्नुपर्दा अहिले जलेका र ढलेका संरचना मात्रै नदेखौँ, हाम्रो अगाडि झल्झली उज्यालो दिने अवसरको दीपलाई पनि देखौँ । आक्रोश र असन्तोषको छाया मात्र नदेखौँ, उज्यालो भविष्यतर्फको सम्भावना पनि चिनौँ । नेपालका युवाले उठाएका आवाजलाई व्यवस्थापन गर्न संवाद र सहमतिको बाटो समातौँ । एकता, सहअस्थित्व, सामाजिक सहिष्णुता, अग्रगामी राजनीतिक चेत र सुशासनमा जोड दिएमा पुनर्जागरण सम्भव छ । पक्कै यो समय हटेर जानेछ किनकि सङ्कट अस्थायी हो, तर आशा स्थायी । यही आशाले नेपाललाई नयाँ बिहानतर्फ लैजानेछ । रासस