काठमाडौँ । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले नेपालको संविधानलाई सबै जातजाति, भाषाभाषी, क्षेत्र, लिङ्ग र समुदायको अधिकार सुरक्षित र सुनिश्चित गर्ने साझा दस्तावेजका रूपमा व्याख्या गर्दै यसको संरक्षण र सुदृढीकरणमा सबै सचेत रहनुपर्ने बताएका छन् ।
बर्तौलाले सामाजिक सञ्जालमार्फत संविधानलाई संशोधनमार्फत अझ सशक्त बनाउन सकिने तर त्यसलाई कमजोर पार्ने प्रयास मुलुकलाई पुनः आन्तरिक राजनीतिक द्वन्द्वमा धकेल्न सक्ने चेतावनी दिएका छन् ।
“देशमा देखिने हरेक राजनीतिक घटना र समस्या संवैधानिक प्रावधानले तोकेको लोकतान्त्रिक बाटोबाट मात्र समाधान गर्नुपर्छ। क्षणिक आवेग, उत्तेजना वा अल्पकालीन सोचका आधारमा कदम चाल्नुहुँदैन,” उनले लेखेका छन् ।
यस्तै, उनले नयाँ पुस्तालाई पनि संविधान र राष्ट्रको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्ने विषयमा स्पष्ट र जिम्मेवार रहन आग्रह गरेका छन् ।
यही सचेतनाले अग्रजहरूले विदेशी साम्राज्यवाद र विस्तारवादसँग लडेर जोगाएको स्वतन्त्रता र राष्ट्रिय हितको सुरक्षा सम्भव हुने उनको भनाई छ ।
उनले फेसबुकमा लेखेका छन्ः
वर्तमान संविधान देशका सम्पुर्ण जातजाती, भाषाभाषी , क्षेत्र लिङ्ग , समुदायको अधिकारलाई सुरक्षित र सुनिश्चित गरेको साझा दस्तावेज हो । संशोधनको माध्यमबाट यसलाई अझ सवल र थप सुदृढ बनाउन केहि कामहरु गर्नु पर्नेछ । यो संविधान मासिनु भनेको मुलुक फेरी आन्तरिक राजनितिक द्वन्द को चपेटामा प्रवेश गर्नु हो । त्यसैले मुलुकमा सिर्जना हुने हरेक राजनितिक घटना र समस्याहरुको वैध र सर्वस्विकार्य समाधान मुलुकको संवैधानिक प्रवन्धहरुले निर्धारण गरेको लोकतान्त्रिक मार्गबाट मात्रै हुन सक्दछ ।
क्षणिक आवेग, उत्तेजना, हडबड वा अल्पकालिन सोचबाट होइन। यस सन्दर्भमा आजका जेनजि पुस्ताका साथीहरू पनि सचेत र स्पस्ट हुनुपर्दछ । यसबाट मात्रै हाम्रो अग्रजहरुले विदेशी साम्राज्यवादी र बिस्तारबादी शक्तिहरू सँग रगत बगाएर,लडेर जोगाएको देशको स्वतन्त्रता, स्वाधिनता, सर्वभौमिकता,भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण गर्न सक्दछौं ।










