हेटौँडा। बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले मन्त्रिपरिषद् मातहत तीन वटा समिति गठन गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले राजनीतिक समितिको संयोजकमा कृषि तथा पशुपंक्षीमन्त्री मधुसुधनप्रसाद पौडेल, प्रशासन तथा विधेयक समितिको संयोजकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी र सामाजिक, आर्थिक र पूर्वाधार विकास समितिको संयोजकमा सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे रहनुभएको समिति गठन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।
उक्त बैठकले प्रदेशको सहकारी तथा गरिबी विवारण मन्त्रालयको सचिवमा खुमराम अधिकारीलाई सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ । उक्त बैठकले प्रदेश आर्थिक कार्य विधि विधेयक र प्रदेश खानेपानी, सरसफाइ सम्बन्धमा व्यवस्था बनेको विधेयकलाई प्रदेशसभा सचिवालयमा दर्ता गराउन स्वीकृत प्रदान गरेको छ ।
सो बैठकले मुख्यमन्त्री साहसी सम्पदाका लागि जिब्रो छेड्ने परम्परालाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गर्न ल्याइएको प्रस्तावलाई स्वीकृत प्रदान गरिएको प्रवक्ता तामाङले बताउनुभयो ।
सोही बैठकले जिल्लाहरुमा रु १० लाखभन्दा माथिका विभिन्न योजनालाई निर्माण गर्ने क्रममा अब उपभोक्ता समितिको सट्टा ठेक्का बोलपत्रको माध्यमबाट काम गराउन दिने स्वीकृत प्रदान गरेको छ ।
बैठकले प्रदेशको विभिन्न मन्त्रालयमा र पूर्वाधार विकासमा अस्थायी दरबन्दीको संरचनालाई स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको जनाइएको छ । रासस










