३० भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर बदलीको सम्भावना, हिमाली भेगमा हिमपात



अ+ अ-

काठमाडौंः देशका विभिन्न भागमा आज (बुधबार) देखि मौसम बदली हुने भएको छ। मंगलबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावले अधिकांश भुभागमा आंशिकदेखि सामान्य बदली हुने अवस्था सिर्जना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

यो प्रभाव शनिबारसम्म रहने छ । मौसमी प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात हुनेछ।

महाशाखाले विशेष मौसम बुलेटिन निकालेर मौसमी प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली हुने उल्लेख गरेको छ । प्रदेश १ र प्रदेश २ मा भने त्यसको आंशिक मात्र प्रभाव पर्ने आँकलन गरिएको छ ।

साथै बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एकदुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।

आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ।

यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण,  कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मौसम पूर्वानुमानको परीक्षण मोडलअनुसार बुधबारदेखि बिहीबारसम्म सबैभन्दा बढी असर सुदूरपश्चिम र कर्णालीमा पर्ने देखिन्छ।