२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

उपत्यकाको विद्युत् आपूर्ति सुधार गर्न यसरी हुँदैछ काम

उपत्यकाको विद्युत् आपूर्ति सुधार गर्न यसरी हुँदैछ काम
अ अ+ अ-

काठमाडौँ । अघिल्लो साता हिउँदे झरीका कारण राजधानीमा चिसो बढ्यो । चिसोबाट जोगिनका लागि उपत्यकावासीले अत्यधिक मात्रामा विद्युतीय सामग्रीको प्रयोग गरे । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको खपत बढाउन अत्यावश्यक विद्युतीय उपकरण प्रयोग गर्न आग्रह गरिरहेकै थियो ।

जाडोको समयमा न्यानो बनाउन खोज्नु स्वाभाविक नै थियो । तातो र न्यानो खोजेका उपत्यकाका केही स्थानका उपभोक्ता प्राधिकरणको कमजोर संरचनाका कारण हैरानी भोग्न बाध्य भए । कतिपय स्थानमा ट्रान्सफर्मर पड्कियो भने कतिपय स्थानमा लाइन जले । सोही कारण बिजुली आपूर्ति मिलाउन केही दिन लाग्यो ।

कमजोर पूर्वाधारका कारण उपत्यकावासीले समस्या भोग्नुपरेपछि शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन नै आयोजना गर्नुप¥यो । समस्या समाधानका लागि अधिकतम पहल भइरहेको समेत जानकारी दिनुपर्‍यो । उपत्यकाभित्र विद्युतीय पूर्वाधार निर्माण भइरहे पनि प्रभावकारी बन्न सकेको छैन । समस्या समाधानका लागि पहल त भइरहेको छ, खास अर्थमा परिणाम भने देखिन सकेको छैन ।

सोही समस्याको समाधानका लागि प्राधिकरणले काठमाडौँ उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजना शीघ्र सम्पन्न गर्न पहल सुरु गरेको छ । काठमाडौँ उपत्यकाभित्रको विद्युत्को बढ्दो  माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन प्राधिकरणले निर्माणाधीन आयोजनाहरु एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको हो ।

उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका सबस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजनाहरु सञ्चालित छन् । प्राधिकरणले काठमाडौँ उपत्यकामा दुई हजार मेगावाट विद्युत् खपत गर्ने गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ प्रसारण तथा वितरण प्रणाली पूर्वाधार बनाउन सुरु गरेको छ ।

सरकार, प्राधिकरणको लगानी,  एसियाली विकास बैंक (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधारको बृहत् योजना अगाडि बढाइएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन आयोजनाहरुको स्थलगत अनुगमन गरी निर्माण प्रगति, व्यहोरिरहेका समस्या, एक वर्षभित्र सम्पन्न गर्नुपर्ने कामलगायत विषयमा जानकारी लिनुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले काठमाडौँको मातातीर्थमा निर्माणाधीन २२०-१३२-३३ केभी सबस्टेसन, फुटुङ, टेकु, चोभार, भक्तपुरको ठिमी तथा चाँगुनारायणमा निर्माणाधीन १३२-३३-११ केभी सबस्टेसन, विद्युतीय तारको भूमिगत गर्ने कामको अनुगमन गरी निर्माणलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । उहाँले आगामी वर्षको हिउँद सुरु हुनुभन्दा पहिले नै आयोजनाको निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदार र परामर्शदातालाई आग्रह गर्नुभयो । 

“निर्माणाधीन सबस्टेसनहरु अर्को वर्षको हिउँद अगाडि निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिएन भने पूर्वाधार अभावमा विद्युत् मागअनुसार आपूर्ति गर्न नसकेर विद्युत्भारकटौती लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले यस्ता संवेदनशील आयोजनाहरुको निर्माणमा सबै गम्भीर बनेर सम्पन्न गरौँ”, उहाँले भन्नुभयो, “मुख्य सडकमा विद्युतीय तार भूमिगत गर्न सडक विभागले अनुमति नदिँदा, स्थानीयवासीले रुट परिवर्तनको माग राख्ने अवरोध गर्दा, केही स्थानमा स्थानीयवासीले आफ्नो घर नजिक ट्रान्सफर्मर राख्न नदिँदा काम प्रभावित भएको छ, समस्यालाई पार लगाउँदै जसरी पनि आयोजनाहरु सम्पन्न गर्नुपर्ने छ, सम्बन्धित निकायमा आवश्यक पहल र समन्वय गरिरहेका छौँ ।” 

मस्र्याङ्दी र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याएर वितरण गर्न मातातीर्थमा २२०-१३२-३३ केभी, ३२० एमभिए क्षमताको सबस्टेसन निर्माणाधीन छ । आगामी असोजभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मातातीर्थ सबस्टेसन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि ठूलो हब बन्दैछ । सबस्टेसनबाट थानकोट, सतुङ्गल, गुर्जुधारालगायत क्षेत्रमा विद्युत् आपूर्ति गर्न पाँचवटा ११ केभीका फिडर भूमिगत गरी मुख्य सडकसम्म निकाल्ने प्रारम्भिक काम सुरु गरिएको छ । फिडर सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ भने स्यूचाटार र टेकु सबस्टेसनको लोड काम हुनेछ ।

काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरको खोकना, बुंमती, हरिसिद्धि र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौँको चोभारमा १३२÷११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर रहनेछन् । 

सुक्खाबन्दरगाह नजिक हिमाल सिमेन्टको जग्गामा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने १२ रोपनी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ । मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन बनिसकेको छ । थानकोट–चापागाउँ–भक्तपुर लाइन सम्पन्न गर्न सकिएको भए काठमाडौँ, ललितपुर र भक्तपुरमा १३२ केभी प्रसारण लाइनको रिङ बन्ने थियो, यसबाट विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर सुधार हुने थियो । तर लाइन बन्न नसक्ने अवस्था देखिएपछि चोभारमा सबस्टेसन बनाई चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेसनमा पुर्‍याउने योजना बनाएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

यसको डिजाइन भइसकेको छ, सञ्चालनमा रहेको लगनखेल सबस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाउँदैछौँ, त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रुपमा चापागाउँ र हरिसिद्धिमा लाइन लगिनेछ । अहिले ललितपुर क्षेत्रमा स्युचाटार–पाटन–वानेश्वर ६६ केभी लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ । प्राधिकरणले काठमाडौँको टेकुस्थिति ६६-११ केभी क्षमताको सबस्टेसनको सुदृढीकरण गरी १३२-११ केभी र फुटुङमा १३२-११ केभीको नयाँ सबस्टेसन बनाउँदैछ । दुवै सबस्टेसनमा ४५-४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर राखिनेछ । बालाजु–चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ ।

फुटुङ सबस्टेसनको मुख्य सिभिल संरचनाहरुको निर्माण भइरहेको छ भने उपकरणहरु आइसकेका छन् । सबस्टेसन सञ्चालनमा आएपछि बालाजु क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनेछ भने बालाजु सबस्टेसनको लोड कम हुनेछ ।

यसैगरी, भक्तपुरको चाँगुनारायणमा १३२-११ केभी सबस्टेसन निर्माणाधीन छ भने स्थानीयवासीको अवरोधका कारण लप्सीफेदी २२०-१३२-११ केभी सबस्टेसन निर्माण सुरु हुन सकेको छैन । तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा वितरणका लागि लप्सीफेदी सबस्टेसन निर्माण गर्न लागिएको हो ।

सबस्टेसनमा १६० र २२.५ एमभिए क्षमताका पावर ट्रान्सफर्मर रहनेछन् । रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसै हुँदै लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी–काठमाडौँ प्रसारण लाइन निर्माणाधीन छ ।

लप्सीफेदीबाट चाँगुनारायण सबस्टेसनसम्मको करिब १० किलोमिटर प्रसारण लाइन निर्माणमा स्थानीयवासीले अवरोध गरिरहेको प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधानले बताउनुभयो । चपली–भक्तपुर १३२ केभी प्रसारण लाइनलाई ट्यापिङ गरी चाँगुनारायण सबस्टेसनमा लगिनेछ । सबस्टेसनको निर्माण अर्को वर्षको पुसभित्र सक्ने लक्ष्य राखिएको छ । (रासस,रमेश लम्साल)