काठमाडौं । रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा बलियो प्रतिस्पर्धी मानिएको नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता नै भएन । योसँगै संघीय लोकतान्त्रिक मोर्चाको उम्मेदवार को बन्ने भन्ने अन्योल देखिएको छ । यसअघि मोर्चाले नागरिक उन्मुक्ति पार्टीले उठाउने व्यक्तिलाई सहयोग गर्ने निर्णय गरेको थियो ।
नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरी समूहबीचको किचलोका कारण आगामी कात्तिक १७ गते हुने उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दलका रूपमा दर्ता हुनबाट वञ्चित भएको हो । आवश्यक कागजात पेस नगरेका कारण नाउपा उपनिर्वाचन प्रयोजनका लागि दर्ता नभएको आयोगले जनाएको छ ।
नागरिक उन्मुक्ति पार्टीमा देखिएको किचलोका कारण अध्यक्ष श्रेष्ठले केन्द्रीय समिति बैठकको निर्णय बिना नै निवेदन दिएका कारण आयोगले दल दर्ता गर्न अस्वीकार गरेको बताइएको छ ।
नाउपामा अध्यक्षसहित २१ सदस्यीय केन्द्रीय समिति छ । जसमध्ये १३ जनाले राष्ट्रिय भेलामार्फत् रञ्जितालाई कारबाही गरेका थिए । जसका कारण रञ्जिताले केन्द्रीय समिति बैठक नबोलाएरै दल दर्ताका लागि आयोगमा निवेदन दिएकी थिइन् ।
उनले उपनिर्वाचन प्रयोजनका लागि दल गर्न केन्द्रीय समितिको पुरानो बैठकमा उपस्थित कार्यसमिति पदाधिकारी र सदस्यहरूको हस्ताक्षर उपयोग गरेकी थिइन् । तर त्यसलाई आयोगले मान्यता नदिएको हो ।
रूपन्देही–३ मा हुने उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता नभएपछि अध्यक्ष रञ्जिता र संरक्षक रेशम समूहसामु अब ‘डमी’ उम्मेदवार अघि सार्ने विकल्प मात्रै बाँकी छ ।
नाउपा निर्वाचन प्रयोजनका लागि दलका रूपमा आयोगमा दर्ता नभएपछि मोर्चाको आगामी कदमबारे पनि अन्योल देखिएको छ । किनकी यसअघि मोर्चाले नाउपाले उठाउने उम्मेदवारलाई सहयोग गर्ने आश्वासन दिएका थिए ।
निर्वाचन आयोगले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि २६ दल दर्ता भएको जनाएको छ । आयोगले साउन २१ गतेदेखि साउन २७ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न भनेको थियो ।
संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता हुन आएका २७ दलमध्ये २६ दलले मापदण्ड पूरा गरेको आयोगको भनाइ छ ।










