काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पहिलोपटक मुख खोलेका छन् ।
दुई साताअघि डिल्लीबजार कारागारबाट रिहा भएका प्रसाईंले सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे बताएका हुन् । उनले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीकै अगाडि पुगेको बताए ।
उनले भने – ‘म गाडी लिएर प्रहरीकोमा गएँ । मार्ने योजना भए पनि एक दुई जनालाई भनेको हुन्छ भन्ने लागेर मैले पुलिसकै हुलभित्र छिर्नुपर्छ भनेर छिरेँ । त्यसपछि मलाई एकजना डीएसपी साबले आएर, तपाईंले जे गर्नुभयो ठिक गर्नुभयो, अब तपाईं गएर कार्यक्रम सकेर निस्कनुस् भन्नुभयो । मैले मञ्चमा गएर प्रहरीसँग धक्कामुक्का नगर्नुस्, प्रहरीले पनि अश्रुग्यास नहान्नुस् भनेँ ।’
त्यतिबेलै एक जना सिभिलमा रहेका प्रहरीले आफूलाई मार्ने योजना रहेको जानकारी गराएको र लगत्तै उपत्यका छाडेको प्रसाईंले बताए ।
‘मलाई इन्काउन्टर गर्ने आदेश रहेछ । किनभने, यो देशमा मदन भण्डारी बाँचेको थियो भने अरुको चान्स आउँदैन थियो । त्यही भएर मदन भण्डारीलाई मारियो । मलाई त्यतिबेलै प्रहरीका एक जना सिभिलका मान्छे आएर तपाईंलाई मार्ने योजना छ भनेपछि म त्यहाँबाट निस्किएँ । म कर्फ्यु लाग्दा काठमाडौं उपत्यका छाडिसकेको थिएँ ।’










