५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

डुङ्गासँगै बगिरहेको जीवन

डुङ्गासँगै बगिरहेको जीवन
अ+ अ-

“माझी दाईले जुनीभरी डुङ्गा तारिरहे,
अरुलाई तार्दातार्दै आफूचाहिँ वारि रहे ।
कतै पारि जाने रहर उनको पनि थियो,
त्यहि पानीले लग्यो सलल…”

गायक उदित नारायण झाको सुमधुर स्वरमा गुञ्जिने यस पुरानो नेपाली गीतले आज पनि कमला नदीमा डुङ्गा चलाउने माझीहरूको जिन्दगीलाई सजीव बनाउँछ । क्षेत्रप्रताप अधिकारीको शब्द र आलोक श्रीको सङ्गीतमा सजिएको यो गीत जति कर्णप्रिय छ, उति नै कटु यथार्थ समेटिएको छ माझीहरूको । अरूलाई पार लगाउँदै गर्दा, आफ्नो जिन्दगी नदी किनारामै अड्किने कमलाका माझीहरूको पीडा–जुन सदियौँदेखि बगिरहेकै छ, कमलाको पानीझैं ।

जब–जब कमला नदीले आकार बढाउँदै जान्छ, नदी किनारका बस्तीमा त्रास थपिँदै जान्छ । वर्षायाममा नदीको रौद्र रूपको आशंकाले मानिसहरू चैनले बस्न सकेका छैनन् । नदीको वारिपारि घरजग्गा हुनेले खेतबारी छाड्न थालेका छन् । ठाउँ सरेका छन्, सुरक्षित स्थान रोजेका छन् । तर, यिनै किनारमा एक जना माझी ‘बा’ अझै पनि आफ्नो डुङ्गासँग बाँधिएर बस्नुभएको छ, ७२ वर्षीय रामसेवक सहनी ।

उमेरले बुढ्यौलीले थिचे पनि बाध्यताले उहाँलाई अझै बिहान सबेरै डुङ्गा चलाउन नदीमा पु¥याउँछ । जसरी डुङ्गा नदीको धारसँगै बगिरहन्छ, सहनीको जीवन पनि समयको वहाबमा रोकिएर होइन, बगेर बाँचिरहेको छ । कमला नगरपालिका—५ का सहनीको यो पेशा रहरको होइन, बाध्यता बन्न पुगेको छ । सहनी जस्तै कमला नदीको किनारमा जीवन बिताइरहेका माझीहरूको दिनचर्या नदीको बगाइसँगै चल्छ । जसको जीवन, समय, आशा र प्रतीक्षा सबै कमलाकै बहावसँग बाँधिएको छ । बिहान झिसमिसे नहुँदै घाटछेउ पुग्ने र घाम डुबेपछि मात्रै घर फर्कने उनीहरुको जीवनचक्र वर्षौँदेखि उस्तै छ, कहिल्यै नथाक्ने नदी जस्तै ।

वर्षा लागेपछि नदीको आकार बढ्छ, जोखिम बढ्छ, यात्रु घट्छन्, तर सहनी ‘बा’ चाहिँ त्यसै जोखिमलाई आफ्नो दैनिकी बनाएर बाँचेका छन् । “के गर्नु, वर्षाका दुई÷चार महिना त हो डुङ्गा चलाउन पाउने”, उहाँको स्वरमा थकाइ छैन, बरु जीवनले सिकाएको सहनशीलता छ । केही बेरको मौनतापछि विस्तारै उहाँ अगाडि थप्नुहुन्छ, “सानैदेखि गर्दै आएको काम हो यो । यही घाटमा डुङ्गा खियाउँदै जिन्दगी बित्यो ।” हरेक वर्ष, हरेक वर्खा, उहाँको जिन्दगी नदीसँगै बगिरहेको छ, जहाँ न त पुरानो जीवन बाँकी छ, न नयाँ विकल्प खुलेको छ । बाँकी छ त केबल घाट, डुङ्गा र जीवनको अन्तहीन यात्रा ।

कमलाको अधुरो पक्की पुल कहिले आउला, कसैलाई थाहा छैन । बाटोहरू सुनसान बन्दैछन्, हुलाकी सडक हुँदै हिँड्ने गाडीहरू घट्दैछन् । तर नदी किनारमा खियाउने डुङ्गाहरू चलाउन थाल्ने माझीहरूको संख्या बढ्दै छ । किनकी विकल्प छैन र जस्तो डुङ्गा नदीमा बग्छ, माझीहरुको जीवन पनि त्यसैगरी बगिरहेको छ, अस्थिर, जोखिमपूर्ण, तर अनवरत ।

सिरहा–५ का ५२ वर्षीय छेदी मुखियाकोे दैनिकी पनि बिहानदेखि बेलुकासम्म डुङ्गा चलाउँदै बित्छ । कहिले घाम, कहिले पानी, कहिले नदीको उर्लंदो बहाव सामना गर्नु उहाँको दैनिकी बनेको छ । आँखाले देखुञ्जेल डुङ्गा खियाउन उहाँ व्यस्त हुनुहुन्छ । बाउबाजेदेखि चल्दै आएको डुङ्गा चलाउने पेसालाई अझै निरन्तरता दिइरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “तीन दशकदेखि यही घाटमा डुङ्गा चलाइरहेको छु । यो त हाम्रो पुर्खाले छोडेको पेसा हो । व्यवसायभन्दा पनि सामाजिक सेवा जस्तो लाग्छ । जुनीभर यही डुङ्गा चलाउँदै बित्यो ।”

वर्षायामका करिब चार महिना डुङ्गा चलाएर प्रतिमहिना १५ देखि २० हजार आम्दानी हुने माझीहरु बताउँछन् । त्यसका लागि उनीहरुले डुङ्गाबाट नदी पार गर्दा यात्रुहरूले मोटरसाइकलको रु सय र व्यक्तिको रु ५० शुल्क उठाउँदै आएका छन् । त्यही आम्दानीले घर खर्चको साथै डुङ्गा मर्मत गर्नमा खर्च गर्नुपर्ने माझीहरु बताउछन् । अनुभवी माझी मुखियाका अनुसार पछिल्ला तीन दशकमा उहाँले पाँचवटा डुङ्गा फेरिसक्नुभएको छ । “एउटा डुङ्गा बनाउन चारदेखि पाँच लाख रुपैयाँसम्म खर्च लाग्छ”, उहाँ सुनाउनुहन्छ, “पाँच वर्ष जति त काम गर्छ, त्यसपछि त काम नलाग्ने थोत्रो हुन्छ ।” डुङ्गा फेरिने क्रम र जीवन चलाउने सङ्घर्ष सँगसँगै चलिरहेको छ माझीहरुको । आधुनिक प्रविधिको विकाससँगै अन्य पेसा रोज्ने अवसर भए पनि उनीहरू यो परम्परागत पेसाबाट विमुख भएका छैनन् ।

“नौ–दश वर्षको थिएँ, तबदेखि यही घाटमा छु”, अर्का माझी रामेश्वर सहनी भन्नुहुन्छ,“बाउबाजेले त महेन्द्र राजमार्ग बन्नुभन्दा पहिले बन्दिपुरतिर डुङ्गा चलाउनुहुन्थ्यो । पुल बनेपछि त्यहाँबाट हटेर हामी यता आएका हौँ ।” उहाँको स्वरमा चिन्ता र अनिश्चितता मिसिएको छ । एकातिर पुर्खाबाट चल्दै आएको पेसा छोड्न सकिन्न भन्ने भाव, अर्कोतिर आधुनिकताले विस्तारै धकेलिरहेको वास्तविकता । कमला नदीमा अहिले स्थायी पुल छैन । बन्दै गरेको पक्की पुल निर्माण सम्पन्न नहुँदै भासिएको छ । पुल नहुँदा स्थानीयहरूका लागि डुङ्गा नै आवतजावतको मुख्य माध्यम बनेको छ । रामेश्वर भन्नुहुन्छ, “यहाँ पनि कहिलेसम्म चलाउन पाउने हो थाहा छैन । त्यो भासिएको पुल नउठेसम्म त होला !”

कमला नदीको साररश्वरनाथ घाटमा दैनिक चार वटा डुङ्गाले यात्रुहरूलाई वारपार गराउँदै आएका छन् । त्यस्तै, हुलाकी सडकअन्तर्गत भासिएको पुलको नजिक बसबिट्टामा दुई वटा डुङ्गा नियमित रूपमा चल्छन् । वर्षायाममा नदीको वहाब बढ्दा माझीहरूलाई ज्यानको जोखिम मोलेर यात्रु पार गराउनुपर्ने बाध्यता हुन्छ । यही कारण माझी समुदायको भूमिका स्थानीयहरूका लागि अत्यन्तै महत्वपूर्ण छ । सेवा भावनाले प्रेरित सहनी र मुखिया जस्ता माझीहरू नाफा भन्दा पनि मानवीय कर्तव्यलाई प्राथमिकता दिँदै वर्षौंदेखि यो पेसामा समर्पित छन् । यात्रुका लागि उनीहरु केबल डुङ्गा चालक मात्र होइनन्, दैनिक जीवनका सहजकर्ता हुन् । स्थानीय सोनु यादव भन्नुहुन्छ, “सरकारले वर्षौ बित्दासमेत पुल सम्पन्न गर्न सकेन । तर उहाँहरू (माझी) ले भने एक दिन पनि सेवा रोक्नुभएन । सरकारभन्दा बढी जिम्मेवारी पूरा गरिरहनुभएको छ उहाँहरूले । हामी गाउँलेहरु त उहाँहरूमै भर पर्छौं ।”

हुलाकी सडकअन्तर्गत कमला नदीमाथि पक्की पुल बन्ने सपना देखाएको पनि १४ वर्ष नाघिसकेको छ । २०६८ मा सुरु गरिएको चार सय ६९ मिटर लामो पुल निर्माण कार्य तीन वर्षमा सकिने भनिएको थियो । तर त्यो सपना अझै अधुरै छ । हरेक वर्ष बर्खायाम आउँछ, नदीको बहाव बढ्छ, अनि माझीहरूको डुङ्गा जीवन र मृत्युको बीचमा यात्रुहरूलाई पार लगाउनुपर्ने वर्षौदेखिको नियति दोहोरिरहन्छ ।

पुल निर्माणको जिम्मा सुरुमा पप्पु–लुम्बिनी जेभीलाई दिइएको थियो । तर पटक–पटक म्याद थपेर करिब १० वर्ष लाग्यो । निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि पुनःनिर्माणको काम तत्काललाई अनिश्चित भयो । बीचमै काम अलपत्र परेपछि पप्पु कन्स्ट्रक्सन कालोसूचीमा प¥यो ।

पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी जिम्मेवारी लुम्बिनी बिल्डर्सले पाएको थियो । यसबीचमा पनि पटक–पटक म्याद थप्ने काम गरियो । अन्तिम पटकलाई भन्दै गत असार मसान्तसम्म पुल पुनःनिर्माण सम्पन्न गर्ने सर्तमा ठेक्का सम्झौता गरिए कम्पनीले जेठदेखि नै काम रोकिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोका अनुसार निर्माण कम्पनीले न म्याद थपको निवेदन दिएको छ, न काम नै अघि बढाएको छ । यसअघि निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनसम्म पुगेको थियो । पुल निर्माणको क्रममा पुलको दुईवटा पाएर भासिएपछि निर्माण कम्पनीले बिमावापतको रकम दाबी गरेको थियो । बिमा कम्पनीबाट आठ करोड रुपैयाँको क्षतिपूर्ति दाबी गरे पनि मुद्दा अझै विचाराधीन अवस्थामा रहेकाले हाल कानुनी परामर्शसहित अगाडिको प्रक्रिया अघि बढाइएको निर्देशनालयका प्रमुख महतोको भनाइ छ ।

कमला नदीमाथि निर्माणाधीन पक्की पुल अलपत्र पर्दा त्यसको असर केबल यातायातमै सीमित छैन, अब यसले स्वास्थ्य सेवामा गम्भीर प्रभाव पारेको छ । उपचारका लागि सिरहाबाट जनकपुर पठाइएका बिरामीहरू झनै जोखिममा परिरहेका छन् । प्रादेशिक अस्पताल सिरहाबाट पठाइएका बिरामीहरूलाई सामान्यत ३१ किलोमिटर टाढा रहेको जनकपुर पुग्न चोहर्वा, मिर्चैया, ढल्केवर हुँदै झण्डै ९० किलोमिटर लामो बाटो घुमेर जानुपर्ने बाध्यता रहेको छ ।

पुल निर्माणका लागि स्थानीयले पछिल्लो दशकमा पटकपटक सङ्घर्ष गरेका छन् । प्रधानमन्त्रीदेखि मुख्यमन्त्री, विभागीय मन्त्री र सांसदहरूसम्मको ध्यानाकर्षण गराए । सबैबाट स्थानीयले आश्वासन त पाए, तर ती आश्वासन अझै पनि कागजमै सीमित छन् । विडम्बना, वर्षा लाग्नासाथ स्थानीयवासीहरूलाई उही जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्ने बाध्यता दोहोरिइरहेको छ । बाढीको समयमा नदीको उर्लदो बहाव र डुङ्गामा यात्रा गर्दा हुने दुर्घटनाको डरले त्रसित स्थानीयहरू सरकारका आश्वासन होइन, आफ्नै माझीहरूको भरोसामा बाँचेका छन् । पुल बन्ला र एकदिन सुरक्षित यात्रा गरौँला भन्ने यहाँका जनताको सपना पुस्तौदेखि अधुरै छ । देशकै पुरानो हुलाकी मार्ग ओझेलमा पारिएको र जोखिमपूर्ण डुङ्गा यात्रा अझै जारी हुनु यसको प्रत्यक्ष प्रमाण हो । वर्षा लाग्नासाथ, नदी पार गर्ने अन्तिम विकल्प फेरि पनि डुङ्गा नै रहन्छ । नदी, डुङ्गा र जोखिमको यो चक्र माझीहरूको जीवनकै अभिन्न अंश बनिसकेको छ । जबसम्म त्यो भासिएको पुल उठ्दैन, कमलाको किनारमा डुङ्गा चलिरहनेछ । र माझीहरूको जीवन पनि त्यही डुङ्गासँगै नदीजस्तै बगिरहनेछ –अबिराम, अनवरत ।रासस