चितवन । कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको आइतबार राति निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहनुभएका नन्दनको ९० वर्षको उमेरमा चितवन मेकिडल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार उहाँ लामो समयदेखि श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो । विसं २०११ मा ‘झटारो’ गितीसङ्ग्रह प्रकाशन गरेर नेपाली गीत सङ्गीत र साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका नन्दन गजल, कविता तथा अन्य काव्यमा कलम चलाउनुभएको छ ।
उहाँका धेरै गीत चलचित्र क्षेत्रमा चर्चित छन् । उहाँका गिती सङ्ग्रह अञ्जली २०२३, सपनीवाट ब्यूझेर २०२३, विपनीका पाइलाहरु २०५२, ऐनाभित्रको आकाश २०६३, सिद्धार्थको ग्रह त्याग लघु काव्य २०७४ र पत्रम पुष्पम कविता सङ्ग्रह २०७७ प्रकाशित भएका छन् ।
यस्तै राष्ट्रिय गान छनोटका क्रममा उहाँको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो । प्रधानका अनुसार उहाँले लामो समय बागिश्वरी, दोभान, मारुनी, गोधुुलीलगायतका साहित्यिक पत्रिका पनि सम्पदान गर्नुभएको थियो । अनौपचारिक शिक्षा आर्जन गरेर गीत संगित र साहित्यमा लाग्नुभएका नन्दन गायक, सङ्गीतकार तथा कलाकार पनि हुनुहुन्थ्यो ।
विसं १९९२ जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मनुभएका नन्दनपछि बसाइँ सरेर चितवनको नारायणगढ आउनुभएको हो । उहाँ छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ । उहाँलाई रथारोहण तथा सम्मानसमेत गरिएको थियो ।
उहाँको पार्थिव शरीरको आज धार्मिक तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । नन्दन नारायणी कलामन्दिरको पूर्वअध्यक्ष र सल्लाहकार हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।










