२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राधिकरण सुरक्षित विद्युत् प्रवाहमा लाग्नुपर्छ: ऊर्जामन्त्री खड्का



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण सुरक्षित विद्युत् प्रवाहमा लाग्नुपर्ने बताउनुभएको छ ।

प्राधिकरणको ४०औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सुरक्षित विद्युत् प्रवाह गर्नु आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै यसका लागि गम्भीर बन्नुपर्ने बताउनुभएको हो ।

मन्त्री खड्काले भन्नुभयो,“सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत् प्रवाह आजको आवश्यकता हो, यसलाई कार्यान्वयन गर्न विद्युत् प्राधिकरण लाग्नुपर्छ ।”

उहाँले सेवा प्रवाहको अग्रपङ्क्तिमा रहेका व्यक्तिले समाजप्रति उत्तरदायित्व बोध गर्दै नागरिकलाई आशा जगाउने काममा लाग्नुपर्ने बताउनुभयो । मन्त्री खड्काले प्राधिकरणलाई अगाडि बढाउन ज्यालादारी कर्मचारीको महत्त्वपूर्ण भूमिका रहेकाले उनीहरूका माग सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउनुभयो ।

सरकारले ऊर्जा विकासका लागि दश वर्षे लक्ष्य लिएको बताउँदै उहाँले यसलाई पूरा गर्न प्राधिकरण र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । “विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रलाई सहभागी गराइसकेका छौँ । अब चाँडै नै विद्युत् बिक्रीमा पनि निजी क्षेत्रलाई आबद्ध गराउने छौँ”, मन्त्री खड्काले भन्नुभयो,“सुरक्षित विद्युत् प्रवाहलाई ध्यानमा राखेर ठूला जलाशययुक्त आयोजनालाई सरकारले अगाडि बढाउन खोजेको छ । यसमा सरकार र निजी क्षेत्रबीच सहकार्य अपेक्षित छ ।”

उहाँले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले आर्थिक विकासको बाधकका रूपमा रहेका ऐन, कानुनलाई परिमार्जन गर्दै अगाडि बढिरहेको बताउनुभयो । मन्त्री खड्काले स्रोतमाथिको अधिकार सबैको हुने भएकाले गरिब तथा विपन्न नागरिकलाई बिनाधितो जलविद्युत्को शेयर दिएर उनीहरूको आर्थिक अवस्था उकास्न लागेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले सबै नेपालीको घरमा विद्युत्को पहुँच पु¥याउने गरी प्राधिकरणले काम गर्नुपर्ने बताउनुभयो । उहाँले ऊर्जा मिश्रणको रणनीतिलाई नेपालले अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले नागरिकलाई किफायती, भरपर्दो र गुणस्तरीय विद्युत् प्रदान गर्न प्राधिकरण लाग्नुपर्ने बताउनुभयो । प्रसारण र वितरणको संयन्त्र कमजोर हुँदा नागरिकले भरपर्दो बिजुली प्राप्त गर्न नसकेको उहाँको भनाइ थियो ।

स्वतन्त्र ऊर्जा उत्पादक संस्था (ईप्पान) नेपालका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणकै कारण सरकारले लिएको ऊर्जा विकासको लक्ष्य पूरा हुन नसक्ने भन्दै आवश्यक सहजीकरणका लागि आग्रह गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न प्राधिकरणले ठूला जलविद्युत् आयोजना र प्रसारण लाईन निर्माणलाई व्यापकता दिएको बताउनुभयो । उहाँले आगामी वर्ष काठमाडौँ उपत्यकाका चार लाख घरसहित देशभर स्मार्ट मिटर जडान प्रारम्भ गरिने उल्लेख गर्नुभयो ।

प्राधिकरणका नायब कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आमउपभोक्तलाई भरपर्दो र गुणस्तरीय विद्युत् पु¥याउन प्राधिकरण लाग्ने बताउनुभयो ।

कार्यक्रममा प्राधिकरणका उत्कृष्ट १५ कर्मचारीलाई नगद रु २५ हजारसहित सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट काम गर्ने कार्यालयलाई समेत सम्मान गरिएको थियो । रासस