५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

अझै आएन एचआइभी सङ्क्रमितको अधिकार संरक्षणको कानुन

अझै आएन एचआइभी सङ्क्रमितको अधिकार संरक्षणको कानुन
फाइल फोटो
अ+ अ-

काठमाडौँ। सर्वाेच्च अदालतले २०६६ सालमै एचआइभी/एड्स संक्रमितहरूको अधिकार संरक्षण हुने गरी कानुन निर्माण गर्न आदेश दिए पनि १५ वर्ष हुँदा पनि उक्त कानुन निर्माण गर्न सकिएको छैन ।

सोही आधारमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले २०७९ सालमा तत्काल विधेयक प्रस्ताव गर्न सरकारलाई निर्देशन दिएको थियो ।

तर अझै कानुन निर्माणको प्रक्रिया अघि नबढ्दा एचआइभी सङ्क्रमितहरूको अधिकार संरक्षण हुन नसकेको आज उक्त विषयमा विधेयक ल्याउन दबाब दिने उद्देश्यले यहाँ आयोजित एक कार्यक्रममा सांसद तथा सरोकारवाला प्रतिनिधिहरूले गुनासो गरेका छन् ।

एड्सविरुद्ध राष्ट्रिय नेटवर्क समूह नेपालको आयोजनामा आज यहाँ मानवअधिकारमा आधारित स्वास्थ्य सुनिश्चित गर्न एचआइभीसम्बन्धी विधेयक अघि बढाउने विषयमा आयोजित राष्ट्रिय नीति कार्यशालामा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले स्वास्थ्य मन्त्रालयलाई पटकपटक विधेयक ल्याउन अनुरोध गर्दा पनि अहिलेसम्म प्राप्त हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “एचआइभीजस्ता सङ्क्रमणलाई नसर्ने रोगमा रुपान्तरण गर्नका लागि राज्यले लगानी गर्नुपर्छ तर २०६७ सालदेखि अदालतले आदेश दिँदासमेत विधेयक आउन सकेको छैन, अहिले दबाब र आन्दोलनका आधारमा मात्र विधेयक बन्ने अवस्था भएको छ, यो महत्त्वपूर्ण विधेयक भने सम्बिन्धत मन्त्रालयबाट आउन सकेको छैन ।”

सभापति थापाले अहिलेसम्म आफ्नो टेबलमा चार मन्त्रालयका २१ वटा विधेयक टेबुल भएको तर यो विधेयक भने आउन नसकेको सुनाउनुभयो । उहाँले मन्त्रीहरू आफ्नो क्षेत्रमा मात्र बजेट हालेर क्षेत्रीय मन्त्री भएका र राष्ट्रिय मन्त्री हुन नसकेको आरोप लगाउँदै देशमा धेरै काम भएको तर जे हुनुपर्ने हो त्यो काम भने नभएको जिकिर गर्नुभयो । शिक्षा मन्त्रालय र सूचना प्रविधि मन्त्रालयले केही विधेयक ल्याए पनि स्वास्थ्यबाट खासै आउन नसकेको उहाँले दुखेसो गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कानुन शाखाका उपसचिव गोपीकृष्ण रेग्मीले अहिले उक्त विधेयक बनाउने विषयमा छलफल चलिरहेको जानकारी दिँदै अन्य सङ्क्रामक रोगसम्बन्धी कानुनमा जोडेर ल्याउने कि छुट्टै विधेयक ल्याउने भनेर छलफल भइरहेको बताउनुभयो । तर यो कानुन भने आवश्यक भएको उहाँले बताउनुभयो ।

यसका लागि राजनीतिक तह तथा कर्मचारी तहमा पनि नागरिक समाज तथा यस्ता सङ्घसंस्थाबाट घच्घच्याउन जरुरी रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागीहरूले उहाँलाई छिटो विधेयक मस्यौदा बनाएर अघि बढाउन अनुरोध गर्नुभएको थियो ।

कार्यशालामा राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि लोकनाथ बाँस्तोलाले आयोगमा एचआइभीसम्बन्धी कार्य गर्न फोकल व्यक्ति नै तोकेर काम भइरहेको र कानुन निर्माणका लागि विगतमै आयोगले सरकारलाई निर्देश गरिरहेको बताउनुभयो । विभिन्न जिल्लामा अध्ययन गरेर सङ्क्रमितहरूलाई कानुनी रूपमै सम्बोधन गर्न जरुरी छ भनेर सिफारिस गरिएको उहाँले बताउनुभयो ।

क्यानडाको एक विश्वविद्यालयकी उपप्राध्यापक रीता ढुङ्गेलले खाद्य सुरक्षालाई ध्यानमा राखेर ऐन तर्जुमा गर्नुपर्ने सुझाव दिनुभयो । यस्तै एड्सविरुद्ध राष्ट्रिय नेटवर्क समूह नेपालका पूर्वअध्यक्ष यो विधेयक कानुन बनेर आएमा एचआइभी सङ्क्रमित अधिकार रक्षाका लागि कोसेढुङ्गा सावित हुने र छिटो ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कानुन व्यवसायी रुपनारायण श्रेष्ठले एआइभी सङ्क्रमितहरूको अधिकार संरक्षण हुनेगरी नमूनाका रूपमा तयार पारिएको ‘एचआइभी/एड्स (नियन्त्रण रोकथाम, उपचार, पुनःस्थापन तथा अधिकार संरक्षण गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको प्रस्तावित विधेयक’ प्रस्तुत गर्नुभएको थियो ।

एड्सविरुद्ध राष्ट्रिय नेटवर्क समूह नेपालका कार्यक्रम संयोजक डा रङ्गराज ढुङ्गानाले एचआइभी सङ्क्रमितहरूको अधिकार संरक्षणसम्बन्धी विधेयक समयमै निर्माणका लागि उच्चस्तरीय राजनीतिक प्रतिबद्धता र सहमति सुनिश्चित गर्दै अधिकारमा आधारित संरक्षण, एकीकृत सेवा र एचआइभी जोखिमहरूका लागि कानुनी सुरक्षा अवस्था सुनिश्चित गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । रासस