७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

‘सङ्कटमा कुसुन्डा परिवार, सरकारसँग संरक्षणको आस’

‘सङ्कटमा कुसुन्डा परिवार, सरकारसँग संरक्षणको आस’
अ+ अ-

गोरखा । अचेल किसानलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धान रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा व्यस्त । गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षीय चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा मकै सुक्ला भन्ने पीर ।

आफूजस्तै दिनरात श्रम गरेर खाने दाँैतरीसँग उहाँको समय बित्छ । लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एउटा मात्रै घर छ । चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नातिनातिनीसँग बस्नुहुन्छ । सम्पत्तिको नाममा घरले चर्चेको यही जग्गा हो उहाँको । त्यसले असार, साउन आए पो के, कात्तिक, मङ्सिर आए पो के !

“योभन्दा बाहेक टेक्ने जग्गा पनि छैन । सम्पत्ति भने पनि जे भने पनि यही अरूले दिएको जग्गा हो । यसैमा सरकारले बनाइदिएको सानो घर र दुईचारवटा कुखुरा छन् । कुखुरा पनि थुनेर पाल्छौँ । नत्र अरूको जग्गामा गइहाल्छन्”, कुसुन्डाले भन्नुभयो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसङ्ख्या २५६ मात्रै छ । यसैमा पर्छ चेतबहादुरको आठ सदस्यीय परिवार । उहाँको परिवार विगत ४५ वर्षदेखि गोनपा–११ स्थित तेह्रकिलोमा बसोबास गर्दै हो । विसं २०३८ मा आफ्नी आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आएको चेतबहादुरलाई हिजै हो जस्तो लाग्छ । उहाँ आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको सम्झना सुनाउनुहुन्छ । “१० वर्षको हुँदा बा बिते, भोकले लखतरान हुँदै जुठो बारेको याद छ । बा’को काजकिरिया सकेपछि आमाले खोप्लाङमा भएको झिटी आठ हजारमा बेचेर यहाँ आएका हौँ”, चेतबहादुरले भन्नुभयो, “यहाँ पनि बिरालोले बच्चा सारेजस्तो, कहिले यता, कहिले उता । सायद यो तेह्रकिलो बजारमा हामी नबसेको घरै छैन । अब अरूको घरमा भाडा गरेर बसेपछि ‘छोड्दे, अन्तै जा’भनेपछि जानै पर्‍यो !”

आमा सुमित्रा वनकिरानीले आफू र दुई छोरीलाई कहिले यता, कहिले उता सारेको कष्टकर दिनको सम्झिँदा चेतबहादुर अहिले पनि गम्भीर बन्नुहुन्छ । दिदीबहिनी दुवैले तेह्रकिलोबजारमा बिहे गरेकाले आफूहरू पनि दिदीबहिनी नजिकै बस्न आएको उहाँले सुनाउनुभयो । “दुवै जनाले क्षेत्रीसँग बिहे गरे । दिदीको बुढा ड्राइभर थिए, हामी पनि दिदीकै रेखदेखमा यही बस्न आयौँ । यहाँ आएको केही समय म पनि भेनाकै पछि लागेर खलासीको काम गरेँ”, चेतबहादुरले भन्नुभयो ।

खोप्लाङ छोडेर तेह्रकिलो झरेको केही समयपछि आफूहरू नवलपरासी पनि पुगेको उहाँले बताउनुभयो ।  “यहाँ बस्न आएको केही समयपछि आमाले कताबाट त्यहाँ सरकारी जग्गा मिल्छ भन्ने सुनेछन् । हामी आमाछोरा नै जग्गा पाउने आसमा त्यही गयौँ । जग्गा त केको मिल्थ्यो बरु उल्टै दु:ख मिल्यो । आमाले अरूको घरमा काम गर्थिन् । सानो झुप्रो हालेर बसेका थियौँ । मलाई भने त्यहाँ खासै बस्न मन लागेन अनि एक वर्षपछि तेह्रकिलोमै फर्किएँ । आमा पनि म यहाँ आएको केही वर्षपछि फर्किइन्”, चेतबहादुरले भन्नुभयो ।

उहाँले २०–२२ वर्षको उमेरमा नजिकै पन्ध्रकिलो बस्ने कमला घर्तीसँग बिहे गर्नुभयो । बिहेपछि दुईपटक कतार र एक पटक साउदी पनि पुग्नुभयो । उहाँका दुई भाइछोरा र एक छोरी छन् । जेठो छोरो ३२ वर्षीय अनिल कुसुन्डा हाल  ड्राइभर हुनुहुन्छ । अनिलले भच्चेककी बिमाया गुरुङसँग बिहे गर्नुभएको छ । उहाँको दुईभाइ छोरा छन् ।

छोरी अनिता कुसुन्डाले तेह्रकिलोमै बिहे गर्नुभएको छ । कान्छो छोरो २८ वर्षीय अशोक कुसुन्डा हाल वैदेशिक रोजगारीमा हुनुहुन्छ । भोगटेनीकी आशा गुरुङसँग विवाह गरेका अशोकका एक छोरा र एक छोरी छन् ।

आफ्ना तीनैजना छोराछोरीले ४–५ कक्षा पढ्दै छोडेको उहाँले बताउनुभयो । “नपढ्नेलाई जति कराए पनि लाग्दैन रहेछ । सानैमा बिहे गरेर अहिले छोराछोरीको धनी भएका छन्”, चेतबहादुरले भन्नुभयो, “म पनि अक्षर चिन्दिनँ । छोराछोरीले के पढ्थे ।”

चेतबहादुरकी श्रीमतीको भने मृत्यु भइसकेको छ । “बुडिया बितेको त चार वर्ष भयो । आमा पनि पोहोरको चैतमा खसेकी हुन्”, उहाँले भन्नुभयो, “आफन्तका नाममा दिदीबहिनी र ससुराली छन् । आमाको माइती लमजुङको भोटेओडार हो । मावली टाढा भयो, आउजाउ छैन ।”

आफू १० वर्षको हुँदा बितेका बुबा गनबहादुर कुसुन्डा को थिए रु कहाँबाट आएका थिए रु र उहाँको परिवार को हुन् भन्नेबारे चेतबहादुर बेखबर हुनुहुन्छ । उहाँलाई न कुसुन्डाको भाषा थाहा छ, न रीतिरिवाज, न त वेशभूषा नै । उहाँले अन्यत्रका कुसुन्डा समुदायसँग चिनजान, आउजाउ पनि गर्नुभएको छैन । गोरखा दरबार सङ्ग्रहालयमा आफ्नो जातिको डमी राखेको देखपछि आफू खुसी हुने गरेको उहाँको भनाइ छ ।

“अन्ततिरको कुसुन्डाहरूले त आफ्नै भाषा बोल्छन् रे भन्ने सुनेको छु । अब हामीलाई त केही थाहा छैन । बाउबाजेसँग सङ्गत भएको भए पो आफ्नो जात, धर्म, संस्कृतिबारे केही थाहा हुन्थ्यो होला”, उहाँले भन्नुभयो । आफूहरूले अरू हिन्दूसरह नै सबै चाडपर्व मनाउँदै आएको चेतबहादुरले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “दसैँ, तिहार सबै मनाउँछौँ । अरूले जस्तै हरेक वर्ष वायु पूजा, कुलायन पूजा पनि गर्छौं । हाम्रो कुलायन पूजामाचाहिँ भाले चढाउनु पर्छ ।”

सरकारले उहाँको आठ जना परिवारलाई प्रतिव्यक्ति मासिक चार हजारका दरले भत्ता दिँदै आएको छ । हाल बस्दै आएको एकपाखे घर पनि जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएको हो । अब सरकारले लोपोन्मुख कुसुन्डा जातिको उत्थान र संरक्षणका लागि थप कार्यक्रम ल्याउनुपर्ने चेतबहादुरको भनाइ छ । सरकारले आफूहरूको लागि उचित बासस्थानको व्यवस्था मिलाउनुपर्ने उहाँको माग छ । रासस