७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

कम्पनी भन्छ– ‘मल छ’, किसान भन्छन्, ‘पाइएन’

कम्पनी भन्छ– ‘मल छ’, किसान भन्छन्, ‘पाइएन’
अ+ अ-

सिरहा। यस वर्ष साउन महिनाको तेस्रो हप्ताको सुरूआतसम्म देशका धेरैजसो भूभागमा खडेरीजस्तो अवस्था सिर्जना भयो । लामो समयसम्म पानी नपर्दा किसानहरू चिन्तित थिए ।

बीउ रोप्ने समयमै खेतमा पानी थिएन, धानको उत्पादन अनिश्चित देखिन्थ्यो । तर साउनको तेस्रो सातादेखि अविरल वर्षा सुरू भयो, र किसानले ढिलो भए पनि धान रोप्न सके । अब रोपिएको धानलाई मल चाहिने संवेदनशील समय आएको छ ।

सिरहास्थित कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय लहानमा किसानलाई आवश्यक पर्ने रासायनिक मल पर्याप्त मात्रामा मौज्दात रहेको भए पनि वितरण प्रक्रियामा भने समस्या देखिएको छ ।

कम्पनीका शाखा प्रमुख दीपराज पौडेलका अनुसार जिल्लामा हालसम्म तीन चरणमा मल वितरण भइरहेको छ । दोस्रो चरण साउन महिनामा मात्रै डिएपी ९३९ मेट्रिक टन र युरिया एक हजार २७ मेट्रिक टन मल जिल्लामा आइपुगेको छ । तेस्रो चरणको मल आउने क्रम पनि जारी रहेकाले अभाव नहुने पौडेलले जानकारी दिनुभयो ।

शाखा प्रमुख पौडेलले जिल्लामा रासायनिक मल पर्याप्त मात्रामा मौज्दात रहेको दाबी गरे पनि वास्तविक किसानहरू भने मल नपाएको गुनासो गरिरहेका छन् ।

नरहा गाउँपालिका–२ का किसान रघुवीर यादवले भन्नुभयो, “हिजो बिहान ४ बजेदेखि लाइनमा बसेँ, तर बेलुका मल सकियो भनेर फर्काइयो । कम्पनी भन्छ मल छ, हामीलाई त छैन”, उहाँले अगाडि भन्नुभयो, “धान अब बढ्न थालेको छ । युरिया हाल्ने यही बेला हो । नत्र बाला लाग्दैन, बोट कम्जोर हुन्छ ।”

समयमै मल नपाउँदा रघुवीरजस्तै लहान–१८ का अखन यादवको पनि चिन्ता उस्तै छ । आज लहानस्थित रासायनिक मल वितरण गर्ने लहान–१ मा रहेको कृषि सहकारी संस्थामा पुगेर रित्तै हात फर्कनुपरेको उहाँको गुनासो थियो । “पानी पाएकोमा ढुक्क भयौँ, अब मल नपाएर गारोमा परेका छौँ”, उहाँले भन्नुभयो, “मौसमले पनि समयमा साथ दिएन, मलखाद्य पनि पाइएन ।

किसान त सधैँ दोहोरो मारमा छ हजुर, के गर्ने ।” उहाँले रु दुई हजार ५०५ सम्म पर्ने ५० किलोको डिएपी मल बाहिर पशलमा किन्दा रु तीन हजार ५०० सम्म तिर्नुपरेको गुनासो गर्नुभयो ।

गोदाममा मल भए पनि वास्तविक किसानले मल नपाएको सम्बन्धमा कृषि सामग्री कम्पनी लिमिटेड लहानका शाखा प्रमुख पौडेलको भनाइ छ, “समस्या सहकारीहरूले समयमा मलको माग प्रक्रिया अगाडि नबढाउँदा हो । गोदाममा मल छ, तर वितरण स्थानीय तह र सहकारीमार्फत हुने भएकाले ढिलाइ भएको हो ।”

उहाँको अनुसार, दोस्रो चरणको वितरणअन्तर्गत सिराहाको १७ वटै पालिकामा १२५ कृषि सहकारीमार्फत मल वितरण गरिएको छ । डिएपी मल मात्रै १८ हजार छ सय बोरा वितरण गरिएको हो । यसमध्ये लहान नगरपालिकाले दुई हजार ९० बोरा, सिराहा नगरपालिकाले दुई हजार २०० बोरा, धनगढीमाईले एक हजार ५५५ बोरा, गोलबजारले एक हजार ५१० बोरालगायत बाँकी पालिकामा पनि हजारौँ बोराको दरले मल वितरण गरिएको छ ।

हालको वितरण प्रणाली पहुँच र सिफारिसमा आधारित भएकाले कतिपय वास्तविक किसान मलबाट वञ्चित हुनसकेको कम्पनीले स्वीकार गरेको छ । शाखा प्रमुख पौडेल भन्नुहुन्छ, “कतिपय किसानको पालो अझै आएको छैन, किनभने मल किस्तामा आउँछ । सबै किसानलाई पालैपालो दिने व्यवस्था मिलाइएको छ ।”

यता स्थानीय किसानहरू भने सहकारीले राजनीतिक आस्था र चिनजानका आधारमा मल वितरण गरेको गुनासो गरिरहेका छन् । उनीहरूका अनुसार सहकारीहरूले पारदर्शी वितरण प्रक्रिया अपनाएका छैनन्, जसले गर्दा सर्वसाधारण किसानलाई समयमा मल नपाउने अवस्था सिर्जना भएको छ ।

त्यस्तै पालिकामा प्रमुख वा अध्यक्षले आफ्नो लागि कोटा तोक्ने र आफ्ना मान्छेलाई वितरण गर्ने परिपाटीले  मलको वितरण प्रणालीमाथि नै प्रश्न उठेको छ । पालिका तथा वडाको मनोमानी रूपमा सिफारिस गर्दा किसान र वितरकबीच कुटाकुट हुने स्थिति रहेको छ ।

मल तथा खाद्य वितरणमा अनियमितताको गुनासो बढेसँगै आज लहान नगरपालिका र भगवानपुर गाउँपालिकामा रहेका कृषि सहकारीहरूको अनुगमन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानको नेतृत्वमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनको क्रममा सहकारीहरूले बिलबिजक नराख्ने, मूल्य सूची टाँस नगर्ने, रासायनिक मल तथा खाद्यान्न एउटै स्थानमा राख्नेजस्ता गम्भीर त्रुटिहरू फेला परेको इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहकारीहरूले बिलबिजक नदेखाउने, मूल्य सूची नराख्ने, मल र खाद्यान्न एउटै ठाउँमा राख्ने कार्यले वितरण प्रक्रियामा गम्भीर अनियमितता देखाएको छ ।”

त्यस्तै उहाँले अन्य पालिकाहरूमा पनि यस्तै अनियमितता हुनसक्ने भएकाले नियमित अनुगमन आवश्यक रहेको बताउनुभयो । “अन्य पालिकाहरूमा पनि यस्ता गम्भीर त्रुटिहरू दोहोरिन नदिन अब निरन्तर अनुगमन गरिनेछ । आज अनुगमन गरिएका सहकारीहरूलाई हामीले पहिलोपटक भएकाले चेतावनी मात्र दिएको छौँ,” उहाँले भन्नुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेड लहान शाखाका प्रमुख पौडेलले पनि सहकारीहरूको अवस्था सुधार गर्न आवश्यक रहेको बताउँदै नियमित अनुगमनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले वितरण प्रणाली सुधार गर्न सहकार्य गर्दै आएका छौँ । तर सहकारीहरूले नियम विपरीत कार्य गरेकाले थप कडाइका साथ अनुगमन आवश्यक छ ।” यसअघि आइतबार पनि सहायक जिल्ला अधिकारीको नेतृत्वमा सिरहा नगरपालिकाका कृषि सहकारीमा अनुगमन गरिएको थियो ।

प्रमुख पौडेलले यस्ता अनियमितता रोक्नका लागि स्थानीय तहले ‘किसान कार्ड’को व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । यदि किसानको पहिचान सुनिश्चित गर्न किसान कार्ड लागू गरियो भने पहुँच र भनसुनको भरमा वितरण हुने मलखाद रोक्न सहज हुने उहाँको भनाइ छ ।

सरकारका तर्फबाट अनुगमन र सुधारको प्रक्रिया अघि बढाए पनि स्थायित्वका लागि सहकारीहरू स्वयं पनि जिम्मेवार बन्नुपर्ने सरोकारवालाको धारणा छ । कृषि सामग्री कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि मल वितरण गरिरहेको छ ।

कृषि ज्ञान केन्द्रले पालिकालाई आवश्यकताअनुसार कोटा निर्धारण गरिदिने र त्यसपछि पालिकाले सहकारीमार्फत वितरण गर्ने प्रक्रिया अपनाइँदै आइएको छ । यहाँका किसानका अनुसार मलको मौज्दात पर्याप्त भए पनि वितरण प्रणालीमा सुधार नआउँदासम्म किसानको गुनासो कम हुने देखिँदैन । रासस