२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी परेपछि किसानलाई राहत, रोपाइँ सुरु



अ+ अ-

सिरहा । लामो समय पानी नपर्दा चिन्तित किसान गएरातिको वर्षाले राहत महसुस गरेका छन् । पानी नपर्दा झण्डै ५० प्रतिशत धान रोपाइँ बाँकी रहेको अवस्थामा पानी परेपछि राहत मिलेको हो ।

यहाँका किसानका अनुसार पानीको अभावमा खेत सुकेका थिए, बीउ पहेँलिएको थियो र धान रोप्ने अवस्था थिएन । तर गएराति परेको पानीले केही आशा पलाएको छ । लहान– १८ का किसान वीरेन्द्र चौधरीले भन्नुभयो, “पहेँलिएका बीउ रोप्न पाउने आशा पलाएको छ, यद्यपि अझै पर्याप्त पानीको अभाव छ ।”

लहान नगरपालिकाका कृषि संयोजक बद्रीनारायण यादवका अनुसार राति परेको पानी पनि पर्याप्त छैन । “अझ एक दिन निरन्तर पानी परेको भए रोपाइँ सहज हुने थियो,” उहाँले भन्नुभयो, “तर आजको मौसम हेर्दा त्यस्तो सम्भावना देखिँदैन ।”

सिहकाको दक्षिणी भू–भागमा भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि उत्तरी भेगका अधिकांश किसानले रोपाइँ गर्न सकेका थिएनन् । कृषि ज्ञानकेन्द्र सिरहाको अनुसार गत शुक्रबारसम्मको रेकर्ड अनुसार जिल्लामा ५० प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

मधेसमा मनसुन सक्रिय, तर पर्याप्त वर्षा छैन

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सरिरहेको छ । यही कारणले केही स्थानमा हल्कादेखि मध्यम वर्षामापन गरिएको छ । तर यो प्रणाली लामो समय भारततर्फ सक्रिय रहेको हुँदा मधेसमा सुख्खा रहेको विभागले जनाएको छ ।

विभागको विगत २४ घण्टामा मधेसका विभिन्न स्थानमा हल्कादेखि मध्यम मात्राको वर्षा मापन गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सिरहामा ९९.४ मिलिमिटर, सप्तरीको बरमझियामा ९१.८ मिलिमिटर, लहानमा ७७.२ मिलिमिटर, धनुषाको हर्दिनाथमा ४७ मिलिमिटर, चिसापानीमा ६८.२ मिलिमिटर, सिरहाको गोलबजारमा ५२.२ मिलिमिटर, महोत्तरीको गौशालामा ५७.६ मिलिमिटर, धनुषाको तुलसीमा ४७.६ मिलिमिटर तथा सर्लाहीमा ४८ मिलिमिटर वर्षा भएको छ । बारा, पर्सा र रौतहटमा भने केवल हल्का वर्षा मात्र मापन गरिएको छ ।

सिरहा लगायतका तराई जिल्लामा बाँकी खेतमा रोपाइँ सम्पन्न गर्न अझै केही दिन निरन्तर पानी पर्ने आवश्यकता देखिएको छ । किसान, कृषि कार्यालय र मौसम विभाग सबैको नजर अब आसन्न दिनको मौसममा टिकेको छ ।रासस