५ श्रावण २०८३, मंगलवार
,
Latest
गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन्ः सभापति देउवा



अ+ अ-

ललितपुर। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक चरित्रसहित नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका बताउनुभएको छ ।

नेपाली कांग्रेसको थारु विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘वर्तमान अवस्थामा थारु समुदायको सामाजिक, आर्थिक, राजनीतिक अवस्थाः अवसर र चुनौती’ विषयक विचार गोष्ठीमा उहाँले नेपाली कांग्रेस थारु समुदायको उत्थान र विकासका लागि सधैँ इमान्दार भएर प्रयासरत रहेको बताउनुभयो ।

“देशमा कुनै पनि एकल जातिको बहुमत छैन, यहाँ सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् । संविधानले पनि आदिवासी, जनजाति सबैलाई समेटेको छ, समावेशी लोकतन्त्रको मूल्यमान्यता अनुसार थारु समुदायले आफ्नो भूमिका निर्वाह गरिरहेको छ”, सभापति देउवाले भन्नुभयो ।

उहाँले नेपालका थारुहरूले जुनसुकै अप्ठ्यारो परिस्थिति आए पनि सधैँ देशप्रतिको इमान्दारिता कायम राख्दै आएका बताउँदै थारु समुदायको चरित्र लोकतान्त्रिक विशेषता, सामाजिक संरचना र परम्पराले स्पष्ट देखाउने धारणा राख्नुभयो ।

“देशका प्रत्येक लोकतान्त्रिक आन्दोलनमा थारु समुदाय दृढतापूर्वक लोकतन्त्रको पक्षमा उभिँदै आएको छ, लोकतान्त्रिक मूल्यमान्यता पालना गर्दै आफ्नै जीवनशैलीमा अपनाउने यो समुदायको विशेषता हो”, सभापति देउवाले भन्नुभयो, “उदाहरणका लागि हरेक वर्ष माघमा आफ्नै नेतृत्व लोकतान्त्रिक प्रक्रियाद्वारा चयन गर्ने परम्परा थारु जातिमा अत्यन्तै सुन्दर र अनुकरणीय अभ्यास हो ।”

उहाँले थारु समुदायको सामूहिक निर्णयमा हुने अभ्यास पारदर्शिता, उत्तरदायित्व र सहभागितामा आधारित रहने भन्दै यो समुन्नत लोकतान्त्रिक संस्कृतिको नमूनाका रूपमा रहेको बताउनुभयो । नेपाली कांग्रेसले थारुलाई उच्च सम्मान गर्दै आएको उहाँको भनाइ छ ।

थारुको विषयमा पार्टीले लिनुपर्ने नीतिमा सहयोग गर्ने, समुदायको विकास र उत्थानमा टेवा पु¥याउने उद्देश्यले केन्द्रीय सदस्य योगेन्द्र चौधरीको संयोजकत्वमा थारु विभाग गठन गरिएको सभापति देउवाले जानकारी दिनुभयो । “कांग्रेसभित्र सङ्गठित भई पार्टीको सङ्गठन निर्माणमा र आफ्नो समुदायमा नेतृत्व विकास गर्ने उद्देश्यले नेपाल थारु सङ्घको गठन भएको छ”, उहाँले भन्नुभयो ।

सभापति देउवाले २०५७ सालमा कमैया मुक्ति आन्दोलनको नेतृत्व डिल्लीबहादुर चौधरीले गर्नुभएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “२०७२ सालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएसँगै संविधानले नेपालका लाखौँ थारुको सम्मान गरी छुट्टै पहिचानसहितको व्यवस्था गरिएको छ ।”

सभापति देउवाले सबैले मिलेर पार्टी सङ्गठनलाई अझ सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “नेपाल सङ्घीय व्यवस्थामा गइसकेपछि पार्टीभित्र पनि समावेशी सिद्धान्त पालना गरेका छौँ । थारु समुदायसहित महिला, मुस्लिम, आदिवासी जनजाति समुदायबाट सहमहामन्त्री अनिवार्य हुने व्यवस्था पार्टीको विधानमा । क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिमा थारु आउने अनिवार्य व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो ।

नेपाल विविधताले भरिएको देश हो भन्दै सभापति देउवाले यहाँका सबै जात, जाति, भाषा र संस्कृतिको उच्च सम्मान गर्नुपर्नेमा सभापति देउवाले जोड दिनुभयो । “यो देश सबैको साझा हो, सबै नागरिकलाई सम्मान प्राप्त हुने व्यवहार गरिनुुपर्छ”, उहाँले भन्नुभयो ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थारु समुदायलाई श्रम, सीप उपयोग गरेर उद्यमशीलता विकास गर्नसक्ने अवसरको सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

विभागका अध्यक्ष योगेन्द्र चौधरीले नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री भएर थारु समुदायमा रहेको कमैया प्रथालाई अन्त्य गरेर मुक्ति दिनुभएको भन्दै उक्त कार्यको प्रशंसा गर्नुभयो । उहाँले थारुको शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरलाई प्रत्याभूत गर्दै समाजको मूलधारमा ल्याउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

संविधानसभा सदस्य एवं प्रतिनिधिसभा सदस्य नमिता चौधरीले नेपालभरका पाँच हजार ५०० थारु नेपाली कांग्रेसमा क्रियाशील सदस्य रहेका जनाउँदै २०६२/६३ को आन्दोलनमा थारु समुदायका कतिपयले बलिदानी दिएका स्मरण गर्नुभयो । समुदायको हितका लागि राज्यको नेतृत्वदायी तहमा थारु समुदायलाई स्थापित गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस