८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

झाँगिदै सम्बन्धविच्छेदः स्वतन्त्रताको खोजी कि सामाजिक विचलन ?

झाँगिदै सम्बन्धविच्छेदः स्वतन्त्रताको खोजी कि सामाजिक विचलन ?
अ+ अ-

तानसेन । यहाँको बगनासकाली गाउँपालिकाकी एक युवतीले दुई वर्षअघि २१ वर्षको उमेरमा अन्तरजातीय विवाह गर्नुभयो तर उहाँको दाम्पत्य जीवन तीन वर्ष पनि टिक्न सकेन । एक सन्तानकी उहाँ विवाह भएको दुई वर्ष पुग्दा नपुग्दै खटपट सुरु भयो । उहाँलाई श्रीमान् र घरपरिवारबाट घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शङ्का गर्ने र छोरालाई स्याहार नगरेको आरोप लगाउन थाले ।

आफूमाथिको आरोप मीनालाई सह्य नभएपछि घर झगडा सुरु भयो । श्रीमान्ले दिएको मानसिक तनाव बेहोर्न कठिन भएपछि उहाँले जिल्ला अदालतमा सम्बन्धविच्छेद (पारपाचुके) सम्बन्धी मुद्दा दर्ता गर्नुभयो । त्यसपछि घरमा थप कलह बढ्यो । उहाँ आफ्नो घर त्यागेर माइती घरमा बस्न थाल्नुभयो । उहाँको पति–पत्नीको सम्बन्धविच्छेदको मुद्दा गएको जेठ १९ गते अलग हुने सहमतिमा मिलापत्र भयो । हाल ती युवती श्रीमान्बाट अंशसमेत नलिई सम्बन्धविच्छेद् गरेर माइतमा बस्तै आउनुभएको छ ।

यसैगरी, रम्भा गाउँपालिकाकी अर्की महिलाले पनि सम्बन्धविच्छेद गर्नुभएको छ । विदेशमा रहनुभएका श्रीमान्सँग अविश्वास बढेपछि बिहे गरेको ४ वर्षमा सम्बन्धविच्छेद गर्नु पर्‍यो । तानसेनकी एक महिलाको पनि पीडा उस्तै छ । १३ वर्षको उमेरमा २०५९ सालमा विवाह गर्नुभयो । आमाबुबाको काखमा खेल्ने उमेरमा विवाह गर्नुभएकी उहाँले सोचेअनुसार वैवाहिक जीवन चल्न नसकेपछि जिल्ला अदालत पाल्पाबाट सम्बन्धविच्छेद गर्नुभयो । पतिले मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक तथा शारीरिक यातना दिने, अन्य केटीसँग लागेका कारण उहाँले सम्बन्धविच्छेद गर्नुपरेको बताउनुभयो । “सानैमा परिवारका केही सदस्यको करकापमा लतारेर विवाह गराइदिनुभयो । मैले धेरै दुःख पाएँ, श्रीमान्ले दिएको पीडा सहन नसकेपछि सम्बन्धविच्छेद गरेँ”, उहाँले भन्नुभयो ।

पारिवारिक खटपट भए पनि यसअघि सम्बन्धविच्छेदमा महिलाहरू मात्रै अग्रसर हुने गरेको देखिन्थ्यो । पछिल्लो समयमा पुरुषहरू पनि सम्बन्धविच्छेदका लागि धमाधम उजुरी दिन थालेका छन् । रम्भा गाउँपालिकाका एक युवाका आठ वर्षकी छोरी र डेढ वर्षका छोरा छन् । २८ वर्षको उमेरमै दुई छोराछोरी पाइसक्नुभएका उहाँले २४ वर्षकी श्रीमती सीमासँग २०८२ असार १९ गते सम्बन्धविच्छेद गर्नुभयो । श्रीमतीले टिकटक र फेसबुकमा कुराकानी गरिरहने, आफूसँग निहुँ खोजिरहने र भनेको नमान्ने भएकाले सम्बन्धविच्छेद गर्नु परेको उहाँले बताउनुभयो ।

रामपुरका ३५ वर्षीय अर्का युवाले पनि २७ वर्षीया श्रीमतीसँग सम्बन्धविच्छेद गर्नुभयो । २०७० मा प्रेमविवाह गर्नुभएका उनका पनि सात वर्षका छोरा र दुई वर्षकी छोरी छन् । ती युवाले श्रीमती परपुरुषसँग लागेको थाहा पाएपछि सम्बन्धविच्छेद गर्नुभएको हो । ‘टिकटकमा परपुरुषसँगको भिडियो हाल्ने, परपुरुषलाई कोठामा बोलाउने, घर परिवारका सदस्यले भनेको नमान्ने भएपछि सम्बन्धविच्छेद गरी पाऊँ’, भनी उहाँले जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो ।

यी त केही प्रतिनिधि पात्र मात्र हुन् । अपरिपक्व विवाह, प्रेम विवाह र वैदेशिक रोजगारी जस्ता कारण पाल्पामा सम्बन्धविच्छेद गर्ने दम्पतीको सङ्ख्यामा वृद्धि भएको छ । जिल्ला अदालत पाल्पामा तीन वर्षमा सम्बन्धविच्छेदका मात्र एक हजार ३५६ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । अदालत पाल्पाका स्रेस्तेदार केशव पराजुलीका अनुसार २०७९/८० मा ४४३, २०८०/८१ मा ४२८ र २०८१/८२ मा ४८५ मुद्दा दर्ता भएका थिए ।

अघिल्लो आर्थिक वर्षमा कुल ८१५ मुद्दा दर्ता भएकामा सम्बन्धविच्छेदका मात्र ४८५ रहेका छन् । अधिकांश वैदेशिक रोजगारीमा जाने युवायुवतीको घरायसी सम्बन्ध बिग्रेर सम्बन्धविच्छेदका लागि अदालतसम्म आउने गरेको भेटिने गरेको स्रेस्तेदार पराजुलीले बताउनुभयो । उहाँका अनुसार दर्ता मुद्दामध्ये एक हजार १४२ वटा फछ्र्यौट भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग, कम उमेरमा विवाह, वैदेशिक रोजगारजस्ता कारणले गर्दा पारिवारिक बेमेल भएकाले सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका हुन् । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रबाट बढी सम्बन्धविच्छेदका मुद्दा आउने गरेका उहाँको भनाइ छ ।

अझ रोचक तथ्य के छ भने यहाँ सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्या पनि बढ्दै गएको छ । गत आर्थिक वर्षमा ४८५ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ६६ वटा मुद्दा पुरुषले दर्ता गरेका थिए । पुरुषले दिएका अधिकांश मुद्दा पक्षमा फैसला भएका छैनन् । महिला अर्थात् पत्नीलाई प्रतिवादी बनाएर पुरुष अर्थात् पतिले सम्बन्धविच्छेद गर्न माग गर्दै मुद्दा दिनेका सङ्ख्या बढेको छ । पछिल्लो वर्षमा यस्ता खालका मुद्दा बढेका हुन् । तर, दाबीसहितको प्रमाण अपुग हुने गरेको पाइएको छ । केही पक्षमा फैसला भएको छ । पुरुषले दर्ता गरेका अधिकांश मुद्दामा प्रमाण नपुगेको अदालतका तहसिलदार रामप्रसाद पोखरेलले बताउनुभयो । विपक्षी महिलाले प्रतिउत्तर नलगाएका मुद्दा र दाबी अनुसारका प्रमाण पुगेका केही मुद्दामा मात्रै पुरुषको पक्षमा फैसला भएको पोखरेलको भनाइ छ ।

“पीडा दबाएर बसेका पुरुषहरू पनि नयाँ कानुन आएपछि सम्बन्धविच्छेद गर्न अग्रसर देखिएका हुन्,” स्रेस्तेदार पराजुलीले भन्नुभयो “सम्बन्धविच्छेद अहिले फेसन भएको छ, सम्बन्धविच्छेद गर्न पतिपत्नीबीच प्रतिस्पर्धा हुने गरेको देखिएको छ ।” सम्बन्धविच्छेद गर्न आउँदा उनीहरूले कुटपिट गरेको, खान लाउन नदिएको भन्ने गुनासो गर्ने गरेका छन् । तर, वास्तविकता त्योभन्दा फरक भएको पराजुली बताउनुहुन्छ । “पछिल्लो समयमा सामाजिक सञ्जाल, श्रीमान्हरू वैदेशिक रोजगारीमा रहेका महिलाहरू सम्बन्धविच्छेद गर्ने गरेको देखिएको छ,” उहाँले भन्नुभयो, “बर्सेनि सम्बन्धविच्छेद गराउनेको सङ्ख्या डरलाग्दो रुपले वृद्धि भइरहेको छ । अहिले त पुरुषको सङ्ख्या पनि बढ्दै गयो ।”

स्वतन्त्रता र स्वच्छन्दताका नाममा सम्बन्धविच्छेदका घटनाले प्रशय पाएको स्रेस्तेदार पराजुली बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सकेसम्म पुनः घरबार होस् भनेर हामीले मेलमिलाप गराउने प्रयास गरेका छौँ, तर परिस्थिति सोचेअनुरुप नभएपछि एउटा निर्णय गर्न बाध्य छौँ ।” यसलाई न्यूनीकरण गर्न समाज र अभिभावक सतर्क नरहने हो भने अझ भयावह बन्ने उहाँको बुझाइ छ । यसअघि पुरुषले स्थानीय तहमा मिलापत्र हुन नसके स्थानीय तहको सिफारिसमा मात्र अदालतमा मुद्दा दर्ता गर्न पाउने प्रावधान थियो । पत्नीसँग सम्बन्धविच्छेदका लागि पतिले मुद्दा दायर गरे पनि अदालतले मेलमिलापका लागि एक वर्षको समय तोक्ने व्यवस्था थियो । तर, पछिल्लो कानुनले प्रक्रियामा सहज बनाएपछि पत्नीपीडित पुरुषहरू सम्बन्धविच्छेदमा अग्रसर हुने गरेको देखिएको अधिवक्ता शिवप्रसाद देवकोटाले बताउनुभयो ।

सम्बन्धविच्छेद बढ्नुका मुख्य कारण वैदेशिक रोजगार भएको उहाँको बुझाइ छ । अधिवक्ता देवकोटो भन्नुहुन्छ, “कामको खोजीमा श्रीमान् वैदेशिक रोजगारीमा जाने गरेका छन् । लामो समयसम्म श्रीमान् श्रीमती टाढिँदा दूरीका कारण पनि एकापसमा विश्वास घटेर शङ्का–उपशङ्का गर्न थाल्छन् र सम्बन्धविच्छेदको बाटो खुल्छ ।” कम उमेरमा विवाह, प्रेम विवाह, पितृ सतात्मक सामाजिक संरचनाबाट ग्रसित जस्ता कुराले पनि सम्बन्धविच्छेद हुने गरेको उहाँले बताउनुभयो । देवकोटाले भन्नुभयो, “प्रेमी–प्रेमिकाले विवाह हुनुपूर्व एक आपसमा आश्वासन बाँड्ने तर विवाहपछि ती आश्वासन पूरा नगर्ने, अर्कोतर्फ माइतीमा आमा/बुबाले दिने मानसम्मान सासू, ससुराबाट नपाउँदा पनि घरायसी झगडाबाट श्रीमान्, श्रीमतीको सम्बन्ध टुट्न पुग्छ ।” सूचना प्रविधिको प्रयोगबाट हुने विवाहमा पनि सम्बन्धविच्छेद हुने गरेको उहाँको भनाइ छ ।

सम्बन्धविच्छेदलाई आज पनि पारिवारिक रूपमा कठिन परिस्थितिका रूपमा चित्रण गरिन्छ । दम्पतीले वैवाहिक सम्बन्ध तोडेर अलग हुने निर्णय गर्दा यसको असर उनीहरूका सन्तानमा पर्ने गरेको छ । बच्चाहरूमा त्यस्तो प्रभाव लामो समयसम्म रहने महिला अधिकारकर्मी गङ्गा पौडेल बताउनुहुन्छ । सम्बन्धविच्छेदका सकारात्मकभन्दा नकारात्मक असर भेटिने उहाँको भनाइ छ तर सम्बन्धविच्छेदसँग बालबालिकाको उदासीपनसँगै सकारात्मक पक्ष पनि जोडिएको हुन्छ । “दैनिक हुने झै–झगडाबाट मुक्त हुँदा उनीहरूमा सकारात्मक असर पनि देखिएका हुन्छन्” पौडेल भन्नुहुन्छ । रासस